१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दमकल छैन, पदाधिकारीलाई गाडी

दमक - मंसिर ४ गते मोरङ उर्लाबारीको मुख्य बजारमा आगलागी भयो। आगोले जलेर इटहरा रोडमा रहेको भक्तिराम अधिकारीको किराना पसल खरानी भयो। अगलागीबाट झन्डै ३ करोडको क्षति भयो। दिउँसो २ बजेतिर लागेको आगो दुई घन्टापछि मात्रै निभाइएको थियो। आगो निभाउन अन्यत्रबाट ल्याइएका सातवटा दमकल प्रयोग गरिएका थिए। उर्लाबारी नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ।

उर्लाबारीकी सरिता केसीले दमकल नभएर ठूलो क्षति भएको र अब सबैले नगरपालिकासँग दमकलका लागि दबाब दिनुपर्ने बताइन्। ‘नगरपालिकामा नागरिकले कर तिर्छन् तर आगो लागेकै कारण व्यस्त बजारमा यति ठूलो क्षति बेहोर्नुपर्छ,’ उनले भनिन्, ‘यसमा नगरपालिका जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ।’

उर्लाबारीका मेयर खड्ग फागो दमकल खरिदका लागि प्रक्रिया अघि बढाइसकिएको भन्दै पन्छिने गरेका छन्। तर उनले त्यसो भन्न थालेको एक वर्ष बितिसक्दा पनि दमकल खरिद गरिएको छैन।

उर्लाबारीमा आगो लागेको पाँच दिनपछि गत आइतबार झापाको शिवसताक्षीमा आगो लागेर एकै घरका चार जनाले ज्यान गुमाउनुप-यो। लक्ष्मण खनालको घरमा राति १० बजे लागेको आगोले दमकल आइपुग्दानपुग्दै घर सखाप पारिसकेको थियो। उक्त आगलागीमा खनालकी पत्नी राधिकासहित दुई नाबालकले ज्यान गुमाए। खनालका छिमेकी मुक्ति दाहालले सबैभन्दा पहिले आगलागी भएको देखे। ‘उद्धारका लागि मैले लाख कोसिस गरें तर आगो फैलिसकेका कारण भित्र जान सकिएन,’ दाहालले भने, ‘त्यसपछि दमकलमा सम्पर्क गरियो, आफ्नै नगरपालिकामा दमकल भएको भए सायद उनीहरूको ज्यान बचाउन सकिन्थ्यो कि ?’ नगरपालिकाले भर्खरै वडाध्यक्षसहित मेयरउपमेयरलाई गाडी बाँडेपछि स्थानीय आक्रोशित बनेका छन्। आगलागीपीडित खनालका अर्का छिमेकी शेखर अधिकारीले नगरपालिकाको गैरजिम्मेवारीपनका कारण आगलागीका ठूला घटना हुने गरेको दाबी गरे। ‘जनप्रतिनिधिहरू सुविधाभोगी भए, बर्सेनि आगलागीका यत्रा घटना भएको देख्दादेख्दै उनीहरू गाडी किन्न मात्रै तम्सन्छन्,’ उनले दुखेसो पोखे, ‘दमकल अभावकै कारण आगो लाग्दा ज्यान गुमाउनुपर्ने स्थितिप्रति स्थानीय सरकारको ध्यान कहिले जाला ?’ शिवसताक्षीका मेयर–उपमेयर पनि लाखांैका सवारी चढ्छन्। सबै वडाध्यक्षलाई मोटरसाइकल सुविधा छ। एउटा सवारीसाधन हुँदाहुँदै अर्को पनि खरिद गरिएको छ। टाटा सुमो हुँदाहुँदै मेयर चन्द्रकुमार शेर्माले ७२ लाखको जापानी ‘टोयटा हायस’ चढ्ने गरेका छन् भने उपमेयरका लागि ३२ लाखको ‘टाटा सुमो’को व्यवस्था गरिएको छ।

शिवसताक्षी नगरमा १५ वर्षमा यस्तै प्रकृतिका तीनवटा घटना भए। २०६१ सालमा नगरकै चन्द्रडाँगीमा संग्राम खड्काको घरमा आगो लाग्दा पाँच जनाको मृत्यु भएको थियो। २०६९ सालमा दुधेमा मनिका खरेल भट्टराईको घरमा आगो लाग्दा दुई छोरीसहित उनको जलेर मृत्यु भयो।

दमकल नभएको कन्काई नगरपालिकामा पनि दमकल किन्ने कुनै सुर देखिँदैन। मेयर राजेन्द्र पोखरेलले दमकल सञ्चालनका लागि धेरै खर्च हुने भएकाले त्यतापट्टि ध्यानै नदिएको स्पष्ट पारे। ‘हामी नयाँ प्रविधिको विकास गरी खानेपानीकै पाइपबाट अग्नि नियन्त्रणका लागि काम अघि बढाउने सोचमा छौं,’ उनले भने, ‘त्यसकारण तत्काल दमकल खरिद नगर्ने सोच बनाएका हौं।’

मेयर पोखरेलले सुरक्षा निकायलाई जिल्लाका सबै स्थानीय तहसँग भएको दमकल दिएर उनीहरूमार्फत सञ्चालन गर्न सके उपयुक्त हुने धारणा राखे। ‘हामीलाई दमकल दिने दाता पनि छन् तर व्यवस्थापन खर्च अत्यन्तै महँगो हुने भएकाले त्यतापट्टि ध्यान नदिएका हौं,’ उनले भने, ‘सबै स्थानीय तहसँग समन्वय गरेर सुरक्षा निकायलाई त्यो जिम्मेवारी दिने कामको अगुवाइ गर्ने सोचमा छु।’ गौरादह नगरपालिकामा एउटा गाडी हुँदाहुँदै अर्को गाडी थपिएको छ। गौरादहका मेयर रोहितकुमार शाह पछि किनिएको ‘एक्स फोर’ गाडी चढ्छन्। बुद्धशान्ति गाउँपालिकामा त दमकल हुने कुरै भएन्। त्यहाँका मेयर रमेश भुजेल महेन्द्रा कम्पनीको ४० लाख रुपैयाँ पर्ने बोलेरो प्लस चढ्छन्।

‘सबै स्थानीय तहका जनप्रतिनिधि विपद्को व्यवस्थापनका लागि उदासीन देखिए,’ नेपाल रेडक्रस सोसाइटी झापाका उपसभापति मित्रदेव काफ्लेले भने, ‘जिम्मेवार पटक्कै बन्न सकेनन्, सुविधाभोगी मात्रै भए।’ उनका अनुसार झापा हरेक हिसाबले विपद्को जोखिम भएको जिल्ला हो। तर जनप्रतिनिधिहरू गाडी थप्नेतिर मात्र केन्द्रित भएको भन्दै उनले दुखेसो पोखे। उनले दमकल नभएरै कतिपय स्थानमा ज्यान जानेसम्मका घटना हुनु दुःखद भएको प्रतिक्रिया दिए।

झापाको दमक, भद्रपुर मेचीनगर, गौरादह, बिर्तामोड नगरसँग मात्रै दमकल छ। कतिपय गाउँपालिकामा त एम्बुलेन्ससमेत छैन। उपसभापति काफ्लेले एम्बुलेन्स व्यवस्थापन स्थानीय तहले गर्न सक्ने भए पनि त्यतातिर जनप्रतिनिधिले कुनै चासो नदिएको उल्लेख गरे।

प्रकाशित: १३ मंसिर २०७५ ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App