१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्य आरोपीको मुद्दा फिर्ता हुँदैनः निधि

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनका क्रममा भएका गम्भीर घटनाका मुख्य आरोपीको मुद्दा फिर्ता नहुने बताएका छन् ।

टीकापुर र महोत्तरीमा भएको सुरक्षाकर्मीको हत्यामा प्रत्यक्ष संलग्न आरोपीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएको नागरिकलाई बताएका हुन् ।

टीकापुर र महोत्तरीमा प्रहरीको निर्मम हत्याको अनुसन्धान गरी घटनामा प्रत्यक्ष संलग्न आरोपीको पहिचान गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई निर्देशनसमेत दिएको उनले बताए ।

गृहमन्त्री निधिले सोमबार नागरिकलाई भने, ‘तराई मधेस आन्दोलनका क्रममा भएका गम्भीर प्रकृतिका मुद्दा फिर्ता नलिन मोर्चा समेत सहमत भएको अवस्थामा अर्नगल प्रचार भएकोमा दुःख लागेका छ ।’

उनले तराई मधेस आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धानका लागि गठित उच्च आयोगको प्रतिवेदन आएपछि दोषी देखिएका सुरक्षाकर्मी समेत कारबाहीको दायरामा आउने स्पष्ट पारे ।

‘मोर्चाले समेत आन्दोलनमा घुसपैठ भएको दाबी तत्काल गरेको अवस्था छ, आन्दोलनका समय नेता, कार्यकर्तामाथिको मुद्दा फिर्ता हुने राजनीतिक सहमति अनुसार गृह मन्त्रालयले काम थालेको हो,’ निधिले भने ।
प्रहरी महानिरीक्षक अर्यालले राजनीतिक सहमति भएसँगै प्रहरी मनोबल गिर्ने गरी कार्य नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री निधिसमक्ष तत्काल आफ्नो धारणा राखेका थिए ।

निधिले शुक्रबार गरेको प्रहरी प्रधान कार्यालयको भ्रमणका बेला एआइजी केदारप्रकाश साउदले टीकापुर घटनाका आरोपीको मुद्दा फिर्तासम्बन्धी जिज्ञासामा समेत उनले गृह मन्त्रालय आमसर्वसाधारण र सुरक्षा निकाय दुवैको अभिभावक भएकाले दुवै पक्षलाई असर नपर्ने गरी प्रक्रिया अघि बढ्ने बताए । उनले प्रहरी संगठनलाई अन्याय हुने वा मनोबल गिराउने कार्य मन्त्रालयले नगर्ने मुख्यालयको सम्बोधनमा बताएका थिए । प्रहरी संगठनले समेत राजनीतिक लबिङ र प्रचारबाजी नगर्न उनले निर्देशन दिएका थिए ।
‘राजनीतिक रुपमा भएका सहमतिको कार्यन्वयनकर्ता गृहमन्त्रालय हो, सबै प्रकृया कानुन सम्मत हुन्छ, एउटा मैले चाहेर हुने होइन,’ निधिले भने । उनले राजनीतिक मुद्दालाई ब्यक्तीगत रुपमा उठाएर सहमति र सहकार्यको वातावरण बिथोल्ने कार्य भइरहेको बताए ।

निधिले हिन्दीलाई सम्पर्क भाषाका रुपमा विगतदेखि नै प्रयोगमा ल्याईएको र संसदमा समेत हिन्दी भाषाको प्रयोग भएको अवस्थामा आफुले सम्पर्क भाषा बनाउन बोलेको कुरालाई बंग्याएर राष्ट्रिय भाषा बनाउन पहल गरेको गलत आरोप लगाएको बताए । उनले नागरिकताका सवालमा समेत मन्त्रालयमा तेस्रो लिंगी, र महिला समूहले बुझाएको ज्ञापनपत्रपछि प्रमुख जिल्ला अधिकारीसँग सहज वातावरण बनाउन छलफल भइरहेको बताएका हुन् ।

 

प्रकाशित: ११ आश्विन २०७३ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App