१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरी बिट अगाडि छुरा प्रहार गरि पैसा लुटपाट

इटहरी-  इटहरी वडा नं. ९ को भोजपुर प्रहरी बिट अगाडि एक्टिभ मनि ट्रान्सफरमा बुधबार दिउँसो छुरा प्रहार गरि पैसा लुटपाट भएको छ।

इटहरीको विराटनगर लाइनमा रहेको एक्टिभ मनि ट्रान्सफरमा दिउँसो १ बजेतिर त्यहाँ कार्यरत संखुवासभा घर भएका २८ वर्षे सविन दाहालमाथि छुरा प्रहार गरि पैसा लुटपाट भएको हो। दाहालको कुममा छुरा प्रहार गरिएको छ।

बुधबार इटहरीमा साप्ताहिक बजार लाग्ने हुँदा प्रायः भीडभाड हुने गरेको छ। त्यसमा पनि प्रायः साप्ताहिक बजार लाग्ने स्थान जाँदा विराटनगर लाइनबाटै बढी जाने गर्छन्।

इटहरीकै चित्र बस्नेतले सञ्चालन गर्दै आएको मनि ट्रान्सफरमा माक्स लगाएर आएका एक जनाले दाहाललाई छुरा प्रहार गरि पैसा हातैमा बोकेर हटियातिरै लागेको छेउकै हार्डवेयर पसल सञ्चालक विकास अग्रवालले बताए।

 ‘मनी ट्रान्सफरमा भएको घटना तत्काल केही थाहा भएन, तर पसल बाहिर बसीरहेको थिए, एक जना व्यक्ति मुखमा माक्स लगाएका हातमा पैसा बोकेर हटियातिर हिडेरै गए,’ उनले भने। पछि पैसा लुटपाट भएको हल्ला भएपछि माक्स लगाएका व्यक्तिले इटहरीको हटिया लाइनको पुलसम्मै हातमा पैसा बोकेर हिड्दै गरेको थुप्रैले देखेका थिए।

छुरा प्रहार र लुटपाट भएको केही समयपछि मात्र छेउछाउका पसल सञ्चालकले थाहा पाएका थिए। ‘छुरा प्रहार भएर लुटपाट हुँदा पनि छेउछाउकाले तत्काल थाहा नपाउनुले भने अचम्भित बनाएको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्दि चौलागाईले भने।

३६–३७ वर्ष जतिको लाग्ने पुरुषले दाहालमाथि घरमा तरकारी काट्ने प्रयोग गर्ने छुरा प्रहार गरेको प्रहरीले जनायो। प्रहार गरिएको छुरा भने मनि ट्रान्सफरमै फेला परेको छ। घाइते दाहालको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। घाइते दाहाल मनि ट्रान्सफर सञ्चालक बस्नेतका ज्वाई हुन्।

भोजपुरे प्रहरी बीटमा दुई जना प्रहरीलाई डियूटीमा खटाइने गरिन्छ। ‘डियूटीमा खटिएका प्रहरी वडा नं. ८ को गैसारमा झैझगडा भएको खबर आएपछि त्यतातिर लागेछन,’ प्रहरी निरीक्षक चौलागाई नागरिकसँग भने, ‘त्यही बेला मनि ट्रान्सफरमा घटना हुन पुगेछ।’ इटहरी प्रहरीले आइतबार र बुधबार लाग्ने साप्ताहिक बजारमा हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर स्पेशल टोली खटाउने गरेको छ। ‘हाम्रो स्पेशल टोली पनि घटना भएको समयमा गोरखा डिपार्टमेन्ट स्टोर एरिया तिर रहेछ,’ चौलागाईले भने। उनका अनुसार स्पेशल प्रहरी टोलीले सुन पसल, बैक तथा वित्तिय संस्थामा विशेष निगरानी गर्ने गरेको छ। सुन पसल, बैक तथा वित्तिय संस्थालाई प्रहरीले कार्यालयमा सिसि क्यामेरा जडान गर्न आग्रह गदैं आएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

प्रकाशित: १२ मंसिर २०७५ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App