१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सञ्जालले जुटायो एम्बुलेन्स

फेसबुकमार्फत सहयोग रकम उठाएर रेडक्रस सोसाइटी कोटदरबार उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स। तस्बिर : श्रीहरि

तनहुँ- एम्बुलेन्सको अभाव झेल्दै आएको ऋषिङ भेगका स्थानीयले एम्बुलेन्स सेवा पाएपछि बिरामीलाई उपचारको लागि अस्पतालसम्म लैजान सहज भएको छ।

एम्बुलेन्स नहुँदा यस क्षेत्रका स्थानीयहरू सार्वजनिक सवारीसाधनको प्रयोग गरेर उपचारको लागि अस्पतालसम्म जानुपर्ने बाध्यता थियो। सहयोग रकम संकलन गरेर नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि गाउँका बिरामीको उपचार सहज भएको स्थानीय तिलबहादुर थापाले बताए।

‘गाउँमा सडक पुगेपनि एम्बुलेन्स नहुँदा धैरैले अकालमा ज्यान गुमाएकाले चन्दा संकलन गरेर ऋषिङमा एम्बुलेन्स सेवा सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाका सभापति इन्द्रबहादुर आलेले बताए। ‘एम्बुलेन्स सेवा सञ्चालन गर्न अभियान चलायौं,’ उनले भने, ‘अभियानमा २९ लाख दान संकलन भयो।’

अभियानलाई ऋषिङ र देवघाट गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। एम्बुलेन्स खरिदमा बिमासहितको सम्पूर्ण खर्च गरेर साढे १२ लाख रकम खर्च भएको सोसाइटी कोटदरबार उपशाखाले जनाएको छ। ऋषिङ गाउँपालिकाले ६ लाख र देवघाट गाउँपालिकाले तीन लाख रुपैयाँ एम्बुलेन्स खरिदका लागि छुट्ट्याएको छ।

एम्बुलेन्स सेवाका लागि भन्दै गाउँका स्थानीयहरूले स्वेच्छाले रकम दिएको उपशाखाका सभापति आलेले बताए। एम्बुलेन्सले तीन दुई महिना अगाडिबाट सेवा दिँदै आएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत ऋषिङमा एम्बुलेन्स सेवा भन्ने अभियान सञ्चालन गरेपछि सहयोग रकम संकलन गर्न सहज भएको उनको भनाइ छ। ‘एम्बुलेन्स सेवा सञ्चालन गर्न रकम दिएका व्यक्तिका नाम र रकम फेसबुकमा पोस्ट गरेपछि स्वदेश तथा विदेशबाट सहयोग दिने धेरै उत्सुकता देखाए,’ उनले भने। एम्बुलेन्सका लागि व्यक्तिले नै एक लाख रुपैयाँ बढी सहयोग गरेका छन्।

गाउँमा सडक पुगेपनि एम्बुलेन्सको अभाव हुँदा बिरामीलाई सार्वजनिक बसमा राखेर उपचारका लागि भिमाद, दमौली, पोखरा लगायतका स्थानमा लैजाँदा निकै ढिलो हुने गरेको स्थानीय तिलबहादुर थापाले बताए। ‘बसमा बिरामी महिलालाई भिमाद र पोखरा लैजाँदा ढिलो हुन्थ्यो,’ उनले भने, ‘रक्तश्राव हुने र समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु समेत हुने गरेको थियो।’

ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा एम्बुलेन्सले सेवा दिने गरेको छ। आर्थिक अवस्था कमजोर भएकालाई निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको सोसाइटी कोटदरबार उपशाखाले जनाएको छ।

एम्बुलेन्स सेवा सञ्चालनपछि सर्वसाधारणले सरल, सहज र सुलभ शुल्कमा सेवा लिन पाएको स्थानीय नरबहादुर आलेले बताए। ‘फोन गरेको भरमा घरआँगनमा एम्बुलेन्स आइपुग्छ,’ उनले भने, ‘अहिले धेरै सजिलो भएको छ।’ एम्बुलेन्स नहुँदा मुख्य सडकसम्म बिरामीलाई गाउँलेले डोकोमा बोकेर ल्याउन बाध्य थिए। एम्बुलेन्स सेवा सञ्चालन भएपछि गाउँले खुसी भएको उनले बताए।

 

 

 

प्रकाशित: १२ मंसिर २०७५ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App