तीर्थ सर ! त्रिवि सुध्रियो कि सकियो ?

बुधबार, १२ मङि्सर २०७५, ०८ : ३६ डा. कोषप्रसाद न्यौपाने

गत अक्टोबर महिनामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई बेलायत अवस्थित ‘द टाइम्स हाइअर एजुकेसन’ संस्थाले विश्वका उत्कृष्ट विश्वविद्यालयको ८ सयदेखि १ हजारको सूचीभित्र समेटेपछि त्रिवि नेतृत्वले ठूलै हर्षबढाइँ गर्दै विज्ञप्ति निकाल्यो। त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार त्रिविले उक्त प्रतिस्पर्धामा ठूलो शुल्क तिरेर पहिलो पटक भाग लिएको थियो।

आजभन्दा ५ वा १० वर्ष पहिले भाग लिएको भए पनि त्रिविको र्‍याङकिङ त्यति नै हुने थियो होला किनभने त्रिवि र्‍याङकिङ माथि आउने उल्लेखनीय काम भएको देखिँदैन। यदि त्रिविको स्तर राम्रो भएको भए त्रिविप्रति विद्यार्थीको आकर्षण किन घटिरहेको छ  ? २०१७ मा ४ हजारको र्‍याङकिङमा रहेको विश्वविद्यालय एकाएक कसरी १ हजारभित्र पर्न सफल भयो ? उक्त दाबीअनुसार के त्रिविले अनुसन्धानमा धेरै लगानी गर्यो ? के त्रिविले देशविदेशमा ख्याति कमाएका वैज्ञानिक, शिक्षा क्षेत्रमा नाम कमाएका व्यक्तिहरूलाई भित्र्यायो ? के अनुसन्धानमा अन्तर्राष्ट्रिय रूपमा परिचित भयो ? हामीलाई अरूले राम्रो भइस् भन्दा गर्व लाग्ने तर आफू चाहिँ हुनुनपर्ने कस्तो विडम्बना ? टाइम्स हाइअर एजुकेसनले गरेको याङकिङ निर्धारण विद्यार्थी संख्या र त्रिविको आकारको कारणले भएको देखिन्छ। विश्वविद्यालयमा विद्यार्थीको संख्या धेरै हुँदैमा, आङ्गिक क्याम्पसहरू धेरै हुँदैमा राम्रो र उच्चस्तरीय हुने पनि होइन। उक्त र्‍याङकिङ यथार्थ हो कि भ्रम भनेर चिन्न त्रिविभित्रै छिर्नुपर्छ।

अहिले नेपालका विश्वविद्यालय भन्नासाथ २ कुरा मानसपटलमा आउँछन्। पहिलो, त्रिवि र काठमाडौँ विश्वविद्यालय (केयु), र दोस्रो नेपालका अन्य विश्वविद्यालयहरू। त्रिवि भन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा के आउँछ ? एकातिर देशको सबैभन्दा पुरानो, ठूलो इतिहास बोकेको, मुलुकका धेरै प्रशासक, नेता, कर्मचारी, डाक्टर, इन्जिनियरहरू उत्पादन गरेको संस्था भन्ने आउँछ भने अर्कोतिर  पुराना भवन, फुटेका झ्याल–ढोका, भाँचिएका डेस्क–बेन्च, मक्किएका दराज, अभद्र विद्यार्थी सङ्गठनहरू, राजनीतिक नाराहरूले लत्पतिएका भवनका भित्ताहरू, हाटा (हाजिर गरेर टाप कस्ने) प्राध्यापकहरू, कहिले हडताल, कहिले विद्यार्थी र प्राध्यापकको राजनीतिले  बन्द हुने कक्षा–कोठा जसले गर्दा विद्यार्थी नेताहरूले खोलेका कोचिङ सेन्टरहरूमा क्लास लिन विद्यार्थीलाई धाउनुपर्ने बाध्यता, यस्तै यस्तै आउँछ। केही व्यवस्थित र गुणस्तरीय शिक्षा भए पनि महँगो र सर्वसाधारणको आर्थिक हैसियतभन्दा बाहिर रहेको  काठमाडौँ विश्वविद्यालयको अर्को परिचय हो। अरू बाँकी विश्वविद्यालयहरू भनेका उपकुलपतिको कार्यालय स्थापना गरी सम्बन्धन बाँड्ने मात्रै देखिन्छ। त्यसैले यिनीहरूलाई शिक्षाका दोकानभन्दा पनि फरक नपर्ला।

विद्यार्थीको संख्या धेरै हुँदैमा, आङ्गिक क्याम्पसहरू धेरै हुँदैमा राम्रो र उच्चस्तरीय हुने होइन।

६० वटा आङ्गिक क्याम्पस र कीर्तिपुरमा अवस्थित केन्द्रीय क्याम्पस गरी १५ हजारभन्दा बढी प्राध्यापक र कर्मचारी कार्यरत रहेको विश्वविद्यालयको केन्द्रीय क्याम्पस प्राज्ञिक, अनुसन्धान, प्रविधिको अनुसन्धान र विकासको  हिसाबले तुलनात्मक रूपले यसका आङ्गिक क्याम्पसभन्दा सबै हिसाबले बढी सुविधाजनक भएकाले त्यहाँको व्यवस्थापन पनि त्यति नै चुस्त हुनुपर्ने हो तर त्यस्तो देखिँदैन। १५५ हेक्टरमा फैलिएको त्रिवि केन्द्रीय क्याम्पस बल्खु गेटबाट सुरु हुन्छ र त्रिविको यथार्थ पनि यहीँबाट सुरु हुन्छ। बल्खु गेटबाट छिरेको केही बेरमै ८००–१००० को स्थान ओगट्न सफल हाम्रो विश्वविद्यालयको पहिचान जताततै फालिएका प्लास्टिक, कागजबाट सुरु हुन्छ।

बल्खु गेटबाट करिब १ किमिमा त्रिवि सेवा आयोग छ। त्रिवि केन्द्रीय र आङ्गिक क्याम्पसमा चाहिने प्राध्यापक र कर्मचारीको विज्ञापन, परीक्षा, अन्तर्वार्ता, नियुक्ति सेवा आयोगले गर्छ। यति ठूलो जिम्मेवारी लिएको संस्थाको व्यवस्था अस्तव्यस्त देखिन्छ। परीक्षा शाखामा छिर्नेबित्तिकै प्राध्यापकका लागि लिइएका निवेदनका फोल्डर (प्याकेज) हरू भुइँमा यत्रतत्र फालिएका देखिन्छन्। त्यहाँ प्रवेश गर्ने जो कोहीले पनि उक्त निवेदन हेर्न सक्ने अवस्था देखिन्छ, गोपनीयता भन्ने ख्याल गरिएको देखिँदैन। एउटा दराजमा व्यवस्थित गरेर राख्न सकिने निवेदकका फाइलहरूलाई त्यसरी बेवास्ता गरिनु एउटा विश्वविद्यालय जस्तो संस्थालाई सुहाउने कुरा होइन।

त्रिवि सेवा आयोगको केही माथि तीनकुनेको दायाँबाट त्रिविका केन्द्रीय विभागहरू सुरु हुन्छन्। देशको सबैभन्दा ठूलो र इतिहास बोकेको सरकारी विश्वविद्यालयको केन्द्रीय विभागहरूको त झनै दयनीय अवस्था देखिन्छ।  केन्द्रीय विभागमा प्राध्यापन गर्ने उपप्राध्यापकदेखि प्राध्यापकहरू र विभागीय प्रमुख सबै एउटै अफिस (कोठा)मा  बस्नुपर्ने बाध्यता छ। उनीहरूको आफ्नै अफिस, डेस्क, कुर्सी र काम गर्ने कम्प्युटर हुँदैन। चौतारोमा झैँ एउटै कोठामा बसेर प्राध्यापन गर्नु अगाडि कसरी आफ्नो पढाउने पाठको तयारी गर्छन् होला ? कहिलेकाहीँ त्रिविको केन्द्रीय विभागहरूमा विकसित देशका विश्वविद्यालयहरूबाट प्राध्यापकहरू अन्तक्र्रिया, सेमिनार दिन आएको देखिन्छ। यस्तो दुरावस्था देख्दा के सोच्दा हुन् र कस्तो सोच लिएर फर्किंदा हुन ?  देशकै इतिहास बोकेको यति ठूलो विश्वविद्यालयमा कार्यरत प्राध्यापकको आफ्नो एउटा अफिस होस्, उसको अफिसमा एउटा कम्प्युटर र अन्तर्राष्ट्रिय जर्नलहरूको सुविधा होस्, आफ्नो विषय र क्षेत्र सम्बन्धित प्रशस्त पुस्तकहरू हुन्, सम्बन्धित विभागको आफ्नै सानो लाइब्रेरी होस्, विज्ञान र प्रविधि क्षेत्रका विभागहरूमा विभिन्न उपकरणहरूले भरिएको एउटा साझा प्रयोगशाला होस्।

अनुसन्धान गराउने प्राध्यापकले आफ्ना विद्यार्थीलाई आफ्नै अफिसमा बोलाएर अनुसन्धानमा निर्देशन दिन सकोस्, ग्रुप मिटिङ गर्न सकोस्, विभागीय तथा अन्तर्विभागीय सहकार्य होस् जसले गर्दा अनुसन्धानबाट आएको परिणामलाई अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित गर्दै कहिले तिलिचो, कहिले रारा र कहिले फेवातालको नजिकै वैज्ञानिक सम्मेलन गर्दै अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक र पर्यटन भित्र्याउन सकियोस्। यसो गर्न सके आङ्गिक क्याम्पसमा पढ्ने विद्यार्थी र उपप्राध्यापकहरूले पनि अनुसन्धानमा रुचि राख्ने थिए। अनुसन्धान गर्ने, अन्तर्राष्ट्रिय जर्नलहरूमा कृति प्रकाशित गर्ने रहर कसलाई हुने थिएन होला ?  पाल्पाको श्रीनगर डाँडामा रहेको त्रिविको भवनबाट अन्नपूर्ण र धौलागिरी रेन्जका हिमाल हेर्दै, मनमस्तिष्कलाई रिचार्ज गर्दै अनुसन्धान गर्न कति आनन्द आउने थियो होला त्यहाँ कार्यरत प्राध्यापकहरूलाई ? त्यस्तै इलामको चियाबारी नजिकै रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाममा कार्यरत प्राध्यापकले अमेरिकामा रहेका आफ्नो प्रोजेक्टको सहयोगी (कोलाबोरेटर) सँग लोकल ग्रिन टीको चुस्की लिँदै स्काइपमा कुरा गर्ने थिए होला।

पोखराको पृथ्वीनारायण क्याम्पसमा कार्यरत प्राध्यापकले स्विट्जरल्यान्डको जेनेभामा रहेका वैज्ञानिकसँग आफूले पत्ता लगाएको परिणामको बारेमा छलफल गर्दै अन्तमा पोखरा लेकसाइड र अन्नपूर्ण सर्किटको ट्रेकिङ गर्ने निम्तो दिँदै कुराको बिट मारिरहेका हुने थिए होला, तर कहाँ पाउनु ? यस पंक्तिकारको भेटमा त्रिविमा कार्यरत एक प्राध्यापकले आफूलाई अनुसन्धानविनाको प्रोफेसर भन्न पनि लाज भइरहेको भन्नुले प्रध्यापकहरूमा भएको असन्तुष्टि र त्रिविमा अनुसन्धान गर्ने वातावरण नभएको सजिलै बुझ्न सकिन्छ। तैपनि कहिले कोरिया, भारत, चिन, अमेरिकामा भएका आफ्ना सहयोगी र भूतपूर्व विद्यार्थीहरूको सहयोगमा आफ्ना अनुसन्धान प्रकाशित गरिरहेकै हुन्छन्। उनीहरूले यस्तो अभाव र नेतृत्वको लापरबाहीका बाबजुद पनि अनुसन्धान जारी राख्न सफल देख्दा सलाम गर्न मन लाग्छ।   

२०१७ मा ४ हजारको र्यांकिङमा रहेको विश्वविद्यालय एकाएक कसरी १ हजारभित्र पर्न सफल भयो ? के त्रिविले अनुसन्धानमा धेरै लगानी गर्यो ? के त्रिविले देशविदेशमा ख्याति कमाएका वैज्ञानिक, शिक्षा क्षेत्रमा नाम कमाएका व्यक्तिहरूलाई भित्र्यायो ? के अनुसन्धानमा अन्तर्र्राष्ट्रिय रूपमा परिचित भयो ? हामीलाई अरूले राम्रो भइस् भन्दा गर्व लाग्ने तर आफू चाहिँ राम्रो हुनु नपर्ने कस्तो विडम्बना ?

एकातिर सरकारले अनुसन्धानमा आवश्यक लगानी गर्न सकिरहेको छैन भने अर्कोतिर विश्वविद्यालय नेतृत्वमा बस्नेले सरकारलाई विश्वास दिलाउन सकिरहेको देखिँदैन।  त्रिविको केन्द्रीय, उपत्यका वा उपत्यकाभन्दा बाहिर रहेका प्राध्यापकहरू शैक्षिक तथा प्राज्ञिकरूपले क्षमता नभएका पनि होइन तर उनीहरू राजनीतिको झोला र झन्डा नबोकी विश्वविद्यालय र क्याम्पसको त के कुरा गर्ने विभागीय प्रमुखको पनि अवसर पाउँदैनन्। विश्वविद्यालयको मर्म नबुझेको व्यक्ति नेतृत्वमा पुगेपछि के गर्छ हामी सबैले देख्दै आइरहेका छौँ।

विश्वविद्यालयका स्तर निर्धारण गर्ने संस्था क्युएस, ग्लोबल युनिभर्सिटी र्‍याङकिङ, ताइवान इन्डेक्स, संघाई जिआओ टोङ र द टाइम्स हाइअर एजुकेसनहरूले निकाल्ने र्‍याङकिङमा एकरूपता देखिँदैन। यी सबै संस्थाहरूले गरेको स्तर निर्धारण हेर्ने हो भने पनि संसारका उत्कृष्ट विश्वविद्यालयहरूको र्‍याङकिङ केही नम्बरले तल–माथि परेको देखिन्छ तर त्रिविको जस्तो ३ हजारको फरक देखिँदैन। यसबाट पनि के स्पष्ट हुन्छ भने त्रिविको स्तर निर्धारण (र्‍याङकिङ) यथार्थमा आधारित छैन। केही पक्षमा सुधार भए पनि समग्रमा र वास्तविक धरातलमा त्रिवि उपकुलपति तीर्थराज खनियाँले भने जसरी त्रिविको स्तर बढेको हुँदै होइन। 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad