१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

राउटे बस्तीमा खाद्यान्न संकट

सुर्खेत- राउटे समुदायले मंसिर १५ लाई ठूलो पर्वका रुपमा मनाउँछ। दशैं–तिहारपछिको दोस्रो ठूलो पर्वका लागि राउटे समुदायसँग खाद्यान्न छैन्। सरकारले चार महिनादेखिको भत्ता रोक्दा आफूहरुको समुदायमा भोकमरीको अवस्था सृजना भएको मुखिया सूर्यनारायण शाहीले जानकारी दिए। ‘ठूलो पर्व आउँदैछ, त्यसका लागि खाद्यान्न र प्रत्येक घरमा खशी चाहिन्छ’ मुखिया शाहीले भने, ‘अहिलेसम्म भत्ता पाएका छैनौं, जनता पाल्न गाह्रो भइसक्यो।’

एक सय ४९ राउटे समुदायका ४७ वटा घर छन्। सामुदायिक वनले काठ काट्न नदिने भएकाले काठका भाँडाकुँडा बनाउन पनि उनीहरुले छोडेका छन्। सरकारले दिने भत्ता र सहयोगीले दिएको सहयोगमा उनीहरुले छाक टार्ने गरेका छन्। पछिल्लो समय सरकारकातर्फबाट राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा दैलेखको गुँरास गाउँपालिकालाई दिइएको छ। लेकबेशी नगरपालिका प्रमुख सुनारले राउटे समुदायलाई भत्ता दिने विषयमा गाउँपालिकासँग सम्पर्क भइरहेको बताए।

राउटे समुदायलाई कम्मल

जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायलाई कर्णाली प्रदेश प्रहरी श्रीमती संघले कम्मल र खानेकुरा वितरण गरेको छ। लेकवेशी नगरपालिका–७ स्थित थोत्रीखोलामा पुगेर संघले राउटे समुदायलाई ७० वटा कम्मल र खानेकुरा वितरण गरेको हो। राउटे समुदाय एकसरो कपडामा जंगलमा पाल टाँगेर बस्छ। ‘जाडो मौसमलाई ध्यानमा राखेर राउटे समुदायका लागि कम्मल वितरण गरेका हौं’ कर्णाली प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष मैना शाहले भनिन्, ‘आगामी दिनहरुमा पनि यो समुदायलाई सहयोग गर्दै जानेछौं।’

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले दाङदेखि अछामसम्म बस्ती सर्दै हिंड्ने राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आवश्यक रहेको बताए।

 

 

प्रकाशित: १० मंसिर २०७५ ०७:३२ सोमबार

राउटे खाद्यान्न संकट