१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

तमसुक, फालिएको कन्डम र आत्मसम्मान

‘मैले ग’को वर्ष श्रीपञ्चईंको दिन दे’को हुम् त मालिक !’ धैरेनीका खत्री बाले हारेको स्वरमा भने।

‘कहाँ दिस् ? तैँले पैसो दे’को भन्ने कहाँ लेख्या छ ?’ पण्डित बा कड्किए र खोले तमसुकको पोको। सिरकको खोलले बेरेको पोकोभित्र एक खात नेपाली कागजमा कालो मसीले लेखिएका तमसुक थिए। तावाको धैँसो तेलमा मोलेर बनाइएको बुढीऔँलाको ल्याप्चे तमसुकको दायाँ–बाँया लहरै देखिन्थे।

केही वर्षअघि आफ्नै आँगनमा मेरा आफ्नै माइला हजुरबा र खत्री बाबीच भएको संवाद मलाई अझै सम्झना छ। मेरो घरभन्दा केही तल कुमाल गाउँ छ। कुमाल गाउँका हरेक घर दुई पुस्ताअघिसम्म हरेक ज्ञवालीहरूको घरमा हली बसेका थिए। मलाई सम्झना छ, हरेक घरका सन्दुसमा लुकाइएका तमसुक जब भदौ लाग्थ्यो आँगनमा आउँथे। माओवादी जनयुद्धको प्रभावसँगै त्यस्ता तमसुक लगभग देखिनै छाडे। मैले धेरैपछि थाहा पाएँ, भयँरथाने कुमाल र खत्रीबा एक हजार रुपियाँ ऋण लिएका कारण जिन्दगीभर हली बसेका थिए।

तस्बिर नं. ६०-६१ मा बादी बस्तीमा प्रयोगपछि फालिएको कन्डम र नेहा सुपारीको तस्बिरले बादी समुदायलाई कसरी आत्मसम्मान महसुस गराउन सक्छ ? त्यसमाथि ‘...बादी महिलाहरू ऐतिहासिक रूपमा नै देह-व्यापारसँग जोडिएका छन् भन्नुले कुन बादी महिलाले आफूलाई गौरव महसुस गर्छन् होला ?

केही दिनअघि साथी दिवश राजासँग भेट भयो। झोलाबाट रातो अक्षरमा लेखिएको ‘दलितः आत्मसम्मानको खोजी’ किताब दिए। किताब पल्टाउनमात्र के लागेको थिएँ, एउटा ‘तमसुक’ भुइँमा खस्यो। तमसुक पढ्दै जाँदा आँखाभरि खत्री बाको निन्याउरो अनुहार घुमिरह्यो। विसं २०६३ फागुन २ गते महोत्तरी औराहीका एक यादव थरका साहूबाट एक मुसहरले सयकडा १० का दरले असी हजार ऋण लिएको र त्यसको ब्याज २० हजारको फेरी सयकडा चारका दरले लिनेगरी गरिएको कपाली तमसुक।

करिब सात दशकभन्दा लामो नेपाली दलित आन्दोलनका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक जीवनको सदृश्य इतिहासको अभिलेख हो, ‘दलितः आत्मसम्मानको खोजी’। र, त्यो तमसुक हो, दलित समुदायमाथि हालसम्म पनि विद्यमान आर्थिक शोषणको चक्रीय राजनीति। फोटो सर्कल र नेपाल पिक्चर्स लाइब्रेरीले प्रकाशन गरेको करिब २५० तस्बिरहरूको संग्रहमा सन् १९५० देखि २०१७ सम्म नेपाली दलित आन्दोलनलाई प्रतिनिधित्व गर्ने विभिन्न तस्बिरहरू मात्र छैन, तस्बिरसँगै दलित समस्यालाई दलितकै आँखाबाट हेर्ने प्रयास पनि छ। सायद, नेपाली दलितबारे लेखिएको यो प्रामाणिक अभिलेखहरूमध्ये पहिलो हो।     

‘द पावर एलिट’ सन् १९५६ मा प्रकाशित सी. डब्लू मिल्सको किताबको नाम हो। उनी भन्छन्, पावर एलिट एक अनौपचारिक, अघोषित तर निकटस्थ शक्ति सम्बन्धको गाँठो हो। उनीहरू एकअर्कालाई राम्ररी बुझ्छन्। एकअर्कासँग व्यवहार गर्न सजिलो मान्छन्। सर्वसाधारणका लागि कानुन भनिने बाध्यकारी प्रावधान निष्क्रिय राख्न एकअर्काको सहजताका लागि आँखा चिम्लिन वा सम्झौता गर्न अभ्यस्त हुन्छन्। अप्ठ्यारामा एकअर्कालाई जोगाउन प्रतिबद्ध हुन्छन्। यसको प्रतिविम्ब नेपाली राज्य, त्यसको संरचनामा एकल जातीय प्रभुत्वमा दखिन्छ, जसको छायाँ ज्ञान उत्पादनमा नपर्ने कुरै भएन।

समकालीन ज्ञानको समाजशास्त्र गहिरोसँग शक्ति संरचनासँग जोडिएको छ (लामोन्ट सन् १९९०) विशेष गरी मिसेल फुकोका काम। मिसेल फुकोको योगदान विशेषतः शक्ति (पावर) को व्याख्यामा घुमेको छ। उनले सामान्य जीवनमा शक्तिले कसरी काम गर्छ, त्यसले ज्ञान (नलेज) र संकथन (डिस्कोर्स) लाई कसरी प्रभाव पारिरहेको हुन्छ, त्यसले सत्य कसरी निर्माण गर्छ र सामाजिक नियन्त्रण कसरी स्थापित हुन्छ भन्ने व्याख्या गरेका छन्।

नेपालमा ज्ञान उत्पादन, राज्य संरचना र त्यसका अवयवहरूमा कुनै ‘एक खास’ समुदायको वर्चस्व कायम छ। र, त्यो पृथ्वीनारायण शाहको पालादेखि हालसम्म २५० परिवार र उनीहरूको घेराभन्दा बाहिर पुग्न सकेको छैन।  उनीहरूको लेखनको मुख्य धार पितृसत्ता र जात व्यवस्थाको पुनरुत्पादन हो। यस्तो धार दलित सवालमा ज्ञान उत्पादन र दलित पक्षीय लेखनको मुख्य बाधक बन्दै आएको छ। वषौँदेखिको जातव्यवस्थाले सिर्जना गरेका सामाजिक तथा सांस्कृतिक मूल्यहरूमाथि जब प्रश्न उठ्न थाल्छन् ज्ञान उत्पादनमा निश्चित समुदायको एकाधिकार तोडिन्छ। ‘दलित : आत्मसम्मानको खोजी’ त्यहीँ एकाधिकार तोड्ने एउटा अर्को प्रयास मान्न सकिन्छ।

राजनीतिक र सांस्कृतिक रूपमा बहिष्कृतहरूलाई बौद्धिक बहसको घेराबाट बहिष्कार गर्ने नेपाली समाजमा ज्ञान उत्पादनको ‘इको सिस्टम’का लागि यो अभिलेख तथ्यमा आधारित ‘प्रहार’ हो। यसले दलितमाथि प्राज्ञिक अनुसन्धान र लेखनमा यो अभिलेखनले उत्साह थप्न सक्ने अपेक्षा गर्न सकिन्छ।

नेपालमा दलित समुदायसम्बन्धी औपचारिक लेखन सुरु भएको ६ दशक हुन लाग्यो, तर दलितमाथि प्राज्ञिक लेखन तथा अनुसन्धान कमजोर रहँदै आएको विभिन्न अनुसन्धानहरूले देखाएकै छन्। तर, मलाई के विश्वास छ भने ती अनुसन्धानले परिभाषित गरेका ज्ञानका क्षेत्रहरूले दलित समुदायसँग जन्मजात भएका ज्ञानहरूलाई मापन गर्न सक्दैनन्। परिभाषित ज्ञानका क्षेत्रहरूले दलितको सवाल राष्ट्रिय राजनीतिका मुद्दाका तुलनामा गौण रहेको, दलित समुदायको शैक्षिक स्तर न्यून रहेको र दलित सवालमा मूलधारको विचारविरुद्ध वैकल्पिक विचार निर्माणको संगठित प्रयास नहुनुलाई दलितमाथि प्राज्ञिक लेखन तथा अनुसन्धानको कारकका रूपमा लिएका छन्। अध्येता इरिशा सुवालले सन् २०१२ मा गरेको अध्ययनमा दलितबारे अध्ययन कमै भएको उल्लेख गरेका छन्। अध्ययनअनुसार दलित समुदायबारे लेखनमा शोध, कार्यपत्र र प्रतिवेदनको भाग बेसी छ भने किताब र लेखको अंश त्यसपछि मात्रै आउँछ। यस्तो अवस्थामा तस्बिर र शब्द दुवै प्रयोग गरिएको यो अभिलेख नितान्त नयाँ र महत्वपूर्ण प्रयोग पनि हो। र, दलित सवालमा ज्ञान उत्पादनका नयाँ क्षेत्रहरूको पहिचान पनि हो।

धेरै सबल पक्षहरूबीच मुख्य पक्ष ‘दलित : आत्मसम्मानको खोजी’ पढेर के साँच्चै दलितहरूले आफूलाई गौरवको महसुस गर्छन् त ? भन्ने महत्वपूर्ण प्रश्न हो। यो सवालमा सम्पादक दिवश राजा केशीले परिचय खण्डमा ‘विशेषगरी दलित उत्पीडनबारे अहिलेको प्रमुख दायित्व अन्यायका घटनाहरू प्रकाशन गर्नु’लाई कमजोर तर्क मानेका छन्। त्यस्तै ‘अभिलेखीकरणका प्रक्रिया दलित मुक्तिको उपाय हुनुको सट्टा उल्टै दलितहरूलाई नै दण्ड दिने बहिष्करणमा पार्ने र उनीहरूलाई अधिकार र सम्पत्तिबाट वञ्चित पार्न सघाउने साधन पनि बनेका छन्’ भन्दै सकेसम्म प्रकाशित तस्बिर र लेखन दलित पक्षीय रहेको दाबी गर्न खोजेका छन्। तर, ‘दलित आन्दोलन हाम्रो रहर होइन बाध्यता हो’ लेखिएका तस्बिरहरूले दलित समुदायलाई अन्यायविरुद्ध लड्न उत्पे्ररित कसरी गर्न सक्छ ? त्यस्तै तस्बिर नं. ६०-६१ मा बादी बस्तीमा प्रयोगपछि फालिएको कन्डम र नेहा सुपारीको तस्बिरले बादी समुदायलाई कसरी आत्मसम्मान महसुस गराउन सक्छ ? त्यसमाथि ‘...बादी महिलाहरू ऐतिहासिक रूपमा नै देह-व्यापारसँग जोडिएका छन् (पृ. ६२) भन्नुले कुन बादी महिलाले आफूलाई गौरव महसुस गर्छिन् होला ? अध्ययनहरूले नै जम्मा ६ प्रतिशतभन्दा कम महिलाहरू नै बाध्यात्मक यौन पेसामा संलग्न भएको देखाउँछ। यो पनि राज्यले नै यौन पेसामा संलग्न हुन बाध्य बनाएको हो।

तस्बिर नं. ६५-७१ सम्मका तस्बिरहरूले दलित समुदायलाई फोहोरी र सिनो खाने समुदायका रूपमा स्थापित गर्न खोजेको छ। खगेन्द्र संग्रौलाको बहुचर्चित उपन्यास ‘जूनकिरीको संगीत’मा जसरी शब्दमार्फत दलित समुदायलाई सिनो खाने, फोहोरी र नर्कबासीका रूपमा चित्रित गरिएको छ, यो अभिलेखमा त्यसलाई तस्बिरमार्फत अझ गहिरोसँग देखाउने प्रयास गरेको छ। हिन्दू वर्णव्यवस्थामा आधारित जात व्यवस्थाले वर्ण, जात, पेसाका आधारमा मात्रै विभाजित गरेन, सोहीअनुसार खानामा पनि श्रेणीगत विभाजन गरेको तथ्यलाई यी तस्बिर र शब्दहरूले समेटेका छैनन्। कोरा गैरदलित दृष्टिले दलित सवाललाई हेर्दा उल्टो दलित समुदायको आत्मसम्मानमा ठेस लाग्नसक्ने जोखिमबाट यो अभिलेख खास टाढा छैन।

आफूमाथि भएको हस्तक्षेपको विरोध साहित्यमा कसरी गर्नुपर्छ भन्ने बलियो उदाहरण हुन् नाइजेरियन उपन्यायकार चिनुवा अचिबे। उनले बाहिरी दुनियाँको अफ्रिकीमाथि रहेको पूर्वनिर्धारित दृष्टिकोणलाई आफ्नो प्राज्ञिक कर्ममार्फत चुनौतीमात्र दिएनन् प्रतिकारसमेत गरे। ब्रिटिस लेखक जोसेफ कर्नोडले सन् १८९९ लेखेको उपन्यास ‘हार्ट अफ डार्कनेस’मा साम्राज्यवाद र रंगभेदबारे प्रश्न उठाएका थिए। तर, अफ्रिकी इतिहास, कला र संस्कृतिबारे कम अध्ययन गरेका कर्नेडले उपन्यासमा अफ्रिकीहरूलाई साम्राज्यवादी बेलायती आँखाले भन्दा भिन्न तरिकाले हेर्न सकेनन्। उनको उपन्यासबारे अचिबेले ‘कंगो नदी तटमा बस्ने फाङ जातिहरूको कला, कौशललाई उपन्यासमा बेवास्ता गरेको, उपन्यासमा अफ्रिकनहरूलाई अपमानित र अमानवीयकरण गरेको हुँदा कर्नेडको उपन्यासलाई साहित्यका रूपमा स्वीकार्न नसकिने तथ्य अघि सारे, जुन पोस्ट कोलोनियल साहित्य समीक्षामा निकै महत्वपूर्ण समीक्षाका रूपमा अध्ययन गर्ने गरिन्छ। कुनै पनि समुदायका विषयमा लेखिएका गलत तथ्य र न्यारेटिभहरूले कालान्तरमा ‘शक्ति–सम्भ्रान्त’ र ‘सर्वसाधारण’बीचको तीव्रत्तर आर्थिक, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक वर्ग विभाजनमा मद्दत पु-याउँछ। आर्थिक दुश्चक्रमा जसरी गरिब सधैँ गरिब रहन बाध्य हुन्छ, शक्ति सम्भ्रान्तको घेराले ‘कमन’लाई सधैँ शक्ति संरचनाको पहुँचभन्दा बाहिर धकेलिरहेको हुन्छ। त्यो ‘दलितः आत्मसम्मानको खोजी’का हकमा समेत लागू हुन्छ।

प्रकाशित: १० मंसिर २०७५ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App