१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मदिरा बिक्रीमा नयाँ नियम ल्याउँदै सरकार

काठमाडौं - सरकारले मदिरा उत्पादन र बिक्रीको व्यवस्थापन गर्ने भन्दै नयाँ कानुन ल्याउने भएको छ। सरकारले मदिराको बिक्री, वितरण विज्ञापन र उत्पादनमा कडाइ गर्दै नयाँ कानुन बनाउन लागेको हो।

गृह मन्त्रालयले ऐनको मस्यौदा तयार गरिसकेको छ। मन्त्रालयका एक अधिकारीका अनुसार यो ऐन लागू भए अबका दिनमा मदिरा  बिक्री, वितरण, विज्ञापन, उपभोक्ताको उमेर, बिक्रीको परिमाण र उत्पादनमा थप कडाइ हुनेछ।

तयार भएको मस्यौदा अनुसार कुनै पत्रपत्रिकामा मदिराको विज्ञापन छाप्न पाइने छैन। यसअघि टेलिभिजन र रेडियोमा विज्ञापन प्रसारणमा गर्न रोकिएकोमा अब पत्रपत्रिका, अनलाइन र अन्य कुनै पनि सञ्चारमाध्यममा विज्ञापन छाप्न र प्रवद्र्धन गर्न पाइने छैन। हाल टेलिभिजन, होर्डिङ बोर्ड, डिजिटल बोर्डमा समेत मदिराको विज्ञापन गर्न पाइँदैन।

सरकारले १८ वर्षमुनिका बालबालिकालाई मदिरा खानबाट रोक्ने र समाजमा हुने अपराध कम गर्ने उद्देश्यले यो नियम ल्याउन लागेको बताएको छ। निजी क्षेत्रका प्रतिनिधि भने सरकारको यो नियमले उसको उद्देश्य पूरा नहुने दाबी गर्छन्।  

सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रक्सी खानबाट रोक्ने उद्देश्यले नयाँ नियम ल्याउन लागेको भने पनि नेपालीमा मिडियाको विज्ञापन र बालबालिकामा रक्सीको प्रभाव विषयमा कुनै पनि अध्ययन भएको देखिँदैन।

यस्तो नियमले सरकारको उद्देश्य पूरा नगर्ने नेपाल विज्ञपान संघका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठले बताए। ‘यो नियम लागू गरियो भने नेपाली विज्ञापन बजार खस्किने छ। सरकारले १८ वर्षमुनिका बालबालिकालाई रक्सी खानबाट रोक्न खोजेको हो भने पत्रपत्रिकामा विज्ञापन रोक्दैमा उद्देश्य पूरा हुने देखिँदैन,’ श्रेष्ठले भने।  

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार ऐनको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्को विधेयक समितिमा पेस भइसकेको छ। उनका अनुसार सम्भवतः अबको मन्त्रिपरिषद् बैठकमा उक्त मस्यौदा पेस गरिनेछ।

सुवेदीका अनुसार मस्यौदामा रक्सी उत्पादनमा नयाँ स्वीकृति रोक्ने, रक्सीको कुनै पनि विज्ञापन, प्रवद्र्धन र कुनै पनि तरिकाबाट स्पोनसरसिपमा समेत रोक लाग्नेछ।

‘नयाँ नीतिको मुख्य उद्देश्य खुलमखुला बिक्रीले समाजमा परेको नकारात्मक असर कम गर्नु र बजारमा सहज रुपमा पाइने स्थितिलाई नियन्त्रण गर्नु हो,’ सुवेदीले नागरिकसँग भने, ‘समाजमा अपराध बढाउने एक मुख्य तत्वमा रक्सी पनि हो।’

उनका अनुसार एक अध्ययनले नेपालमा हुन अपराधमध्ये झण्डै १० प्रतिशत रक्सीकै कारणले भएको देखाएको छ। यसै कारणले पनि नयाँ नियम ल्याउन लागिएको उनको भनाइ छ।

उनका अनुसार उक्त नियमले रक्सीको बिक्री गर्ने समय, बिक्री गरिने मात्रा, उपभोक्ताको उमेर र बिक्री–वितरणको परिधि र सीमा निश्चित गर्नेछ।

प्रकाशित: १० मंसिर २०७५ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App