१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘सेटिङ’मा तेल चोरी

काठमाडौं - नेपाल आयल निगमका कर्मचारी र ट्यांकर चालकको ‘सेटिङ’मा पेट्रोलियम पदार्थको चोरी भएको पाइएको छ। पेट्रोलियम पदार्थको चुहावट रोक्न नेपाल आयल निगमले सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि ट्यांकर चालक र कर्मचारीको मिलेमतोमा तेल चोरी भएको निगमका अधिकारीले बताएका छन्।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बरौनीबाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर २० हजार लिटर डिजेल लिएर आएको १ख ४९६५ नम्बरको ट्यांकर निगमको विराटनगर डिपोमा अनलोड गर्दा दुई हजार पाँच सय लिटर डिजेल कम भेटिएपछि यस्तो तथ्य बाहिर आएको हो।

ट्यांकर चालक र डिपोका कर्मचारीको सेटिङमा तेल चोरी भएको आयल निगमका एक उच्च अधिकारीले बताए। ‘सेटिङ बिनाबीच बाटोबाट तेल झिक्ने सम्भावना नै हुँदैन,’ ती अधिकारीले भने, सेटिङ गरेकैले सो ट्यांकरको वेट (तौल) पनि भएको थिएन।’ आइओसीबाट तेल लिएर आएको गाडी तौल गरेरमात्र इन्धनको परिमाण नापचाँज गरिन्छ।

उक्त ट्यांकर तौल नगरी तेल खन्याउने लागेको सूचना निगमको केन्द्रीय कार्यालयमा आएको थियो। त्यही सूचनाका आधारमा निगमले विराटनगरका प्रमुख दिनेश यादवलाई तेलको नापचाँज गर्न निर्देशन दिएको थियो।

उक्त ट्यांकरका चालक धर्मेन्द्र शाह र सञ्चालक सुखदेवसिंह सरदार हुन्। ‘ट्यांकरलाई तौल गरेको भए तौलबाटै तेल कम भएको थाहा हुन्थ्यो,’ ती अधिकारीले भने, ‘सेटिङ गरेकाले ट्यांकरको तौल गरिएन।’

आइओसीले चालकलाई नै साक्षी राखेर लोड दिन्छ। लोड लिएपछि आइओसीका कर्मचारीले ट्यांकरमा ताला लगाएर पठाउँछन्। ‘ट्यांकरको साँचो आइओसी र निगमका कर्मचारीसँग मात्र हुन्छ,’ ती अधिकारीले भने, ‘ट्यांकरको लकिङ पनि दुरुस्तै रहेकाले बीचमा ताला खोलेरै तेल झिकेको हो।’

निगमका विराटनगर डिपो प्रमुख दिनेश यादव विवादास्पद छवि भएका कर्मचारी हुन्। भारतको नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ बिक्री वितरणमा पनि अनियमितता भएको आरोपमा उनी विवादमा तानिएका थिए। ऊबेला अनियमितताको आरोपमा निलम्बनमा परेका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको दबाबमा केही महिनाअघि उनलाई निगम व्यवस्थापनले विराटनगर पठाएको थियो।

विराटनगरमा डिजेल चोरी घटनाको छानबिन गर्न टोली पठाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। ‘कम तेल आएको सूचनाका आधारमा उक्त ट्यांकरमा नापजाँच भएको थियो,’ उनले भने, ‘कम तेल भेटिएपछि छानबिन सुरु भएको छ।’

चालक र डिपो कर्मचारीको मिलेमतो भए पनि कारबाही गर्ने भट्टराईले बताए। ‘तेल चोरी गरेर गम्भीर अपराध भएको छ,’ उनले भने, ‘निगमकै कर्मचारीको संलग्नता भए पनि कारबाही हुन्छ।’

निगमले डेपुटी डाइरेक्टर अञ्जना पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। टोलीमा पोखरेलसहित इन्जिनियर प्रमेश पुडासैनी र सहायक प्रबन्धक राजकुमार रेग्मी छन्। निगमले खटाएको छानबिन टोलीप्रति पनि सरोकारवालाले शंका गरेका छन्।

पोखरेलभन्दा डिपो प्रमुख उपल्लो तहका हुने भएकाले प्रमुखको संलग्नता भए कारबाहीका लागि सिफारिस गर्न नसक्ने निगमकै अधिकारी बताउँछन्। छानबिन टोली अधिकारसम्पन्न भएकाले जसको संलग्नता भए पनि कारबाही हुने निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए। ‘केन्द्रीय कार्यालयले टोली खटाएकाले वास्तविक प्रतिवेदन आउँछ,’ उनले भने।

सेक्युरिटी लकिङ सिस्टम जडान भएकै ट्यांकरबाट तेल चोरी भएपछि यसको विश्वसनीयतामा पनि प्रश्न उठेको छ। यो सिस्टम जडान गरेपछि निगमले तेल चुहावट रोकिएको दाबी गरेको थियो।

पछिल्लो समय तेल चोरीका एकपछि अर्को घटना सार्वजनिक भएका छन्। केही दिनअघि काठमाडौंमा पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्तालाई कम परिमाण तेल बिक्री गरेर ठगी गरेको भेटिएको थियो। काठमाडौं सानो भ-याङमा रहेको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही अघि बढाएको छ। उक्त पम्पले डिजिटल पम्पको मदरबोर्डकै सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर तेल बिक्री गरेको भेटिएको थियो।

उपभोक्ता ठगेको भेटिएपछि पर्साका विभिन्न पम्प कारबाहीमा परेका छन्।  कलैया उपमहानगरपालिका वडा नं १ को अमित आयल स्टोर र वडा नं १३ को विजय आयल स्टोर, वडा नं १४ को महम्मद आयल स्टोर र शिवशंकर ट्रेडर्समा यसै साता गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगन्जले सिल गरेको छ।

निगमले उपभोक्ता ठगी गरेको भेटेपछि गत महिना काठमाडौं गोठाटारको भद्रकाली आयल स्टोर्सलाई कारबाही स्वरुप दुई लाख जरिवाना सहित पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाएको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगनमा मापदण्ड मिचेको भेटेपछि कारबाही गरेको थियो।

प्रकाशित: १० मंसिर २०७५ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App