१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विन्टर एक्सेसरिज

चिसो हावा र मौसमले छालालाई फुस्रो र बेजान बनाउँछ। त्यसकारण चिसो मौसममा छालालाई जोगाउनु निकै जरुरी हुन्छ।

बजारमा पाइने विभिन्न प्रकारको एक्सेसरिजबाट शरीरका अंगहरूलाई चिसोबाट जोगाउन सकिन्छ। यो मौसममा शरीरलाई न्यानो मात्र नभएर मुलायम र मोइस्चरयुक्त बनाउनुपर्ने ब्युटिसियन बताउँछन्।

शरीरलाई चिसो मौसमबाट जोगाउन थरिथरिका विन्टर एक्सेसरिज प्रयोग गर्न सकिन्छ।

चिसो मौसममा शरीरसँगै छालाको पनि हेरचाह गर्नुपर्ने ब्युटिसियन बन्दना राई बताउँछिन्। ‘छाला संवेदनशील हुने भएकाले विशेष स्याहार गर्नु जरुरी हुन्छ,’ उनी भन्छिन्, ‘यसको लागि मौसम अनुसारको क्रिम, लोसनको प्रयोग गर्न सकिन्छ।’ अन्य सिजनभन्दा चिसो मौसममा छालालाई बढी स्याहार गर्न आवश्यक रहेको उनले बताइन्।

छालालाई चिसोबाट जोगाउन बजारमा विभिन्न ब्रान्डका विन्टर एक्सेसरिज (मोस्चराइजर, क्रिम, लुगा) उपलब्ध छन्।

समाजमा महिलाले मात्रै छालाको स्याहार गर्नुपर्ने बुझाइ छ। यो बुझाइ गलत भएको ब्युटिसियन राई बताउँछिन्। ‘महिला–पुरुष दुवैले छालाको स्याहार गर्नुपर्छ। छालालाई रुखोपनबाट जोगाउन दुवैलाई उत्तिकै जरुरी हुन्छ,’ उनले भनिन्।

चिसोमा गाला, ओठ, हात–खुट्टा फुट्ने समस्या देखिने भएकाले विशेष सुरक्षा अपनाउनुपर्ने उनको भनाई छ। ‘अनुहारमा मात्र क्रिम दलेर छालालाई सुरक्षा दिएको हुँदैन। छालालाई चिसोबाट बचाउनु भनेको सम्पूर्ण शरीर सुरक्षा गर्नु हो,’ उनले भनिन्।  

केही आवश्यक एक्सेसरिजहरू

क्रिम, बडी लोसन, मोस्चराइजर
छालाको सुरक्षाको लागि बजारमा विभिन्न ब्रान्डका क्रिम, बडी लोसन, मोस्चराइजर पाइन्छन्। चिसो मौसममा छालाको स्याहारका लागि विशेष कोल्ड सनब्लक क्रिम र मोस्चराइजरको प्रयोग गर्नु उत्तम मानिन्छ। छालाको प्रकार अनुसार क्रिम र मोस्चराइजर प्रयोग गर्नुपर्ने उनी बताउँछिन्। ‘जाडो मौसममा तातो पानीको प्रयोग गर्नेको छाला रुखो र फुस्रो देखिन्छ। चिसो हावाका कारण छाला फुट्ने गर्छ। तसर्थ छालाको सुरक्षा गर्नुपर्छ,’ उनी भन्छिन्, ‘बाहिर घाममा पनि हिँड्नुपर्ने हुनाले छालालाई समय अनुसारको क्रिमको प्रयोग गर्नु पर्छ।’

हृदयरोग निवारण प्रतिष्ठानमा कार्यरत सोनी मालाकारलाई चिसो मौसम मनपर्छ। उनी चिसोबाट छालालाई जोगाउन मोस्चराइजर प्रयोग गर्छिन्।

‘मेरो छाला ड्राइ छ। त्यसैले म प्रायः धेरै मोस्चर भएको लोसन लगाउँछु,’ उनी भन्छिन्, ‘चिसोमा छाला फुट्न नदिन म निकै सचेत छु।’

घाम लागेको समयमा भने कोल्ड सन ब्लक क्रिमको प्रयोग गर्ने उनले बताइन्।  

गल्बन्धी (स्कार्फ)/टोपी
चिसो मौसममा शरीरलाई न्यानो बनाइराख्न थरिथरिका डिजाइन र रंगका गल्बन्धी (स्कार्पm)का कलेक्सनहरू देख्न सकिन्छ। चिसो मौसममा घाँटी न्यानो बनाउन गल्बन्धी (स्कार्पm)को प्रयोग गरिन्छ। गल्बन्धी (स्कार्पm)ले कान, गाला, छाती र घाँटीलाई चिसो स्याँठबाट बचाउँछ। कस्मिरी, पश्मिना, उलन, कटन, सिल्क, लिलेन लगायतका गल्बन्धी (स्कार्पm) चल्तीमा रहेको व्यापारी बताउँछन्।

बजारमा थरिथरि डिजाइनका टोपीहरू उपलब्ध छन्। टोपीले तालुलाई चिसोबाट जोगाउन मद्दत गर्छ। व्यापारी रिता कार्की एक सय ५० रूपैयाँसम्म पर्ने छिर्केमिर्के रङका टोपीको माग भएको बताउँछिन्। उनी सात वर्षदेखि न्यूरोडमा मौसम अनुसारको लुगाको व्यापार गरिररहेकी छन्। उनी भन्छिन्, ‘प्रायः टोपीको माग फेसन अनुसार हुन्छ, यसपाली बुट्टा भएको, छिर्केमिर्के टोपी निकै चलेको छ।’ टोपी लिन आउने ग्राहकको रुचि पनि निकै फरक भएको उनले सुनाइन्।

‘बाइकमा चढ्नेहरूले पातलो तर न्यानो, हेल्मेटमा लगाउन मिल्ने टोपी खोज्छन् भने अरुले बाक्लो उलनको,’ उनले भनिन्। मौसम अनुसार फेसनेबल सामानको प्रयोगकर्ताहरूको संख्या बढेको देख्न सकिन्छ। अचेल युवापुस्ताहरूको रोजाइमा फेसनेवल र स्टाइलिस गल्बन्धी (स्कार्फ), टोपी पर्ने गरेको व्यापारी कार्कीले बताउँछिन्।

उनी भन्छिन्, ‘उमेर अनुसार ग्राहकको रोजाई हुन्छ, युवापुस्ताले विशेष न्यानो मात्र नभएर डिजाइन र रङमा निकै ध्यान दिन्छन्।’

लेग वामर्र, मोजा, पञ्जा
चिसोबाट शरीरका विभिन्न अंगहरूलाई बचाउन बजारमा डिजाइनका वार्मरहरू पाइन्छन्। एउटा लुगाले मात्र शरीरलाई न्यानो दिन नसकिने भएकाले अंग अनुसारका लुगाहरूको प्रयोग गर्ने फेसन निकै फस्टाएको छ। खुट्टामा मोजा मात्र लगाएर नभएर लेग वार्मरको पनि निकै प्रयोग गर्ने चल्ती बढेको व्यापारी कार्की बताउँछिन्।

हातबाट बुनिएका न्याना उलनका लेगवार्मर विशेष युवतीहरूको रोजाइमा पर्ने उनी बताउँछिन्। पाटनकी एलिजा मगरलाई चिसो मौसम निकै मनपर्छ। उनी चिसो मौसममा थरिथरि फेसन गर्छिन्।

कक्षा १२ मा अध्ययनरत उनी लेगिन्ज र ड्रेस लगाउन मन पराउँछिन्। चिसो मौसममा लेगिन्जसँगै लेगवार्मर लगाउँदा चिसो महसुस नहुने उनको अनुभव छ।

‘लेग वार्मर लगाउँदा न्यानो मात्र होइन, फेसनेबल पनि देखिन्छ। आफूलाई अरुभन्दा युनिक भएको महसुस हुन्छ,’ उनले भनिन्।

चिसोबाट बच्न साना नानीदेखि पाका उमेरका सम्मले न्यानो मोजा, पञ्जा अनिवार्य रूपमै लगाउने गर्छन्। घर बस्दा होस् वा बाहिर हिँड्दा चिसोमा मोजा र पञ्जा महत्वपूर्ण विन्टर एक्सेसरिज मानिन्छ।

पञ्चु
त्रिकोणात्मक डिजाइनको पञ्चुलाई मजेत्रोको सट्टामा ओढ्ने गरिन्छ। पाका उमेरका महिलाले मात्र ओढ्ने मजेत्रोको विकल्पको रूपमा पञ्चु प्रयोग गरेको पाइन्छ। मजेत्रो ओढ्न झन्झटिलो मान्नेहरूका लागि पञ्चु सजिलो हुने व्यापारी बताउँछन्। मखमल, उलन, पस्मिना, कास्मिरे लगायतका पञ्चुहरू निकै चल्तीमा रहेको पाइन्छ।

पञ्चु लगाउन निकै सजिलो हुने बताउँछिन्, पुल्चोककी निशा श्रेष्ठ। निशा एक प्राइबेट अस्पतालमा नर्सकारूपमा कार्यरत छिन्।

चिसो मौसममा शरीरलाई न्यानो बनाउन निकै सचेत हुने गरेको उनी बताउँछिन्। ‘पञ्चु लगाउन निकै सजिलो छ, शरीर न्यानो पनि हुने र लगाउन झन्झट पनि नहुने,’ उनले हास्दै भनिन्।

खैरो रङको उलनको पञ्चु उनलाई निकै सुहाएको थियो। उनी प्रायः पञ्चु लगाउने गरेकी छन्।

जुत्ता (बुट)
चिसो मौसममा खुट्टा ठिहि-याउँछ। त्यसकारण खुट्टा न्यानो बनाउन न्यानो जुत्ता लगाउने गरिन्छ। बुट जुत्ता मोजा लगाउन नपर्ने तरिकाले भुवा राखिएर तयार गरिएको हुन्छ। यो जुत्ताको माग निकै रहेको असनस्थित मिस न्यु सु सपका सञ्चालक दीपेन्द्ररत्न ताम्राकार बताउँछन्। ‘वर्षेनी फरक–फरक डिजाइनमा जुत्ताहरू बजारमा आउँछन्,’ उनले भने। चिसोबाट जोगिन मात्र होइन, फेसनका लागि पनि बुटहरू किन्न ग्राहक आउने गरेको उनी बताउँछिन्।
ताम्राकारले मिस न्यु सु सप सञ्चालन गरेको २० वर्ष भन्दा बढी भइसकेको छ।

युवाहरू जुत्ताको फेसन र रङ अनुसार माग गर्ने उनको अनुभव छ। ‘हेर्दा आर्कषक र फेसनेबल जुत्ताको माग छ,’ उनी भन्छन्, ‘विशेष गरी भेलभेट, लेदर, कपडाको जुत्ता जाडोमा लगाइन्छ।’

प्रकाशित: १० मंसिर २०७५ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App