पानीको संकटमा प्रदेश राजधानी

सोमबार, १० मङि्सर २०७५, ०७ : ५७ नगेन्द्र उपाध्याय

47


सुर्खेत - कर्णाली प्रदेशकोे राजधानी वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक १ करोड ५४ लाख २७ हजार ५ सय लिटर खानेपानी आवश्यक पर्छ। यहाँको जनसंख्या अहिले १ लाख ८१ हजार ५ सय छ। प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा जनसंख्या दिनप्रतिदिन बढ्दो क्रममा छ। उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थानले आवश्यकताअनुसार पानी आपूर्ति गर्न सकेको छैन।

‘झुप्रा, खरीबोरी, इत्राम र खोर्के खोलाका स्रोतबाट सुक्खा याममा मुस्किलले ९९ लिटर पानी मात्रै उपत्यकामा भित्रिन्छ,’ संस्थानका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘दिनदिनै बढ्दो उपत्यकामा सहज खानेपानी आपूर्तिका लागि वैकल्पिक स्रोतको खोजी आवश्यक छ।’

प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरको जनसंख्या दिनप्रतिदिन बढ्दो क्रममा छ। तर सुर्खेत उपत्यका खानेपानी संस्थानले आवश्यकताअनुसार खानेपानी आपूर्ति गर्न सकेको छैन।

४८ घण्टामा एक पटक पानी पाउने उपत्यकाबासीलाई खरीबोरी खोलाको ३० लिटर प्रतिसेकेन्ड पानीले धेरै राहत भएको थियो। वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै यहाँको जनसंख्या ह्वात्तै बढेको छ। ‘बढ्दो जनसंख्याका कारण सुक्खा याममा उपत्यकामा खानेपानीको चरम संकट हुने देखिन्छ,’ अध्यक्ष देवकोटाले भने, ‘हामी नयाँ स्रोत पत्ता लगाउने प्रयासमा छौं।’ अहिले पनि उपत्यकामा १ सय ७६ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्छ। संस्थानले पनि प्रतिसेकेन्ड १ सय ४९ लिटर पानी मात्रै आपूर्ति गर्न सकेको छ।

यहाँ खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भेरी नदीको पानी ल्याउने तयारी भइरहेको छ। दुई अर्ब ९१ करोड रुपैयाँको आयोजना निर्माण हुन कम्तिमा पाँच वर्ष कुर्नुपर्ने हुन्छ। सुक्खा क्षेत्र खानेपानी आयोजनाअन्र्तगत खानेपानी तथा ढल निकास विभागले भेरीको पानी उपत्यकामा ल्याउन टेन्डर प्रक्रिया सुरु गर्दैछ। ‘भेरीको पानी उपत्यकामा नआउँदासम्म साना स्रोतको पहिचान गरेर निर्माण प्रक्रिया सुरु गर्नुपर्ने देखिन्छ,’ अध्यक्ष देवकोटाले भने, ‘खानेपानी आपूर्तिको दायित्व संस्थानको मात्रै होइन, स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ।’

नयाँ स्रोत पहिचान
उपत्यकामा खानेपानी समस्याको अल्पकालीन समाधानका लागि सुर्खेत उपत्यका खानेपानी संस्थानले नयाँ स्रोत फेला पारेको छ। खानेपानीको मुख्य स्रोत झुप्रा खोलानजिकैको रतु खोलाबाट तत्कालका लागि पानी ल्याउन सकेमा खानेपानीको समस्या केही हदसम्म समाधान हुने संस्थानका अध्यक्ष देवकोटाको भनाइ छ।

‘सुक्खायाममा पनि रतु खोलामा प्रतिसेकेन्ड १५ लिटर पानी हुन्छ, त्यसलाई उपत्यकामा ल्याउन सके चार/पाँच वर्षसम्म खानेपानीको संकट केही हदसम्म समाधान हुन्छ,’ उनले भने, ‘स्रोत पहिचान गरेका छौं, पानी ल्याउन स्थानीय र प्रदेश सरकारको सहयोग आवश्यक छ।’

संस्थानले रतु खोलाबाट वीरेन्द्रनगर–१३ स्थित इन्टेकसम्म साढे ६ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी उपत्यकामा ल्याउने योजना बनाएको छ। ‘यो पानी ल्याउन सके थप साढे सात हजारसम्म नयाँ धारा बनाएर पानी वितरण गर्न सकिन्छ,’ उनले भने, ‘भेरीको पानी नआउँदा सम्मका लागि हामीसँग अर्को विकल्प पनि छैन।’

वीरेन्द्रनगर उपत्यकामा अहिले १५ हजार ५३१ निजी, ११८ सामूहिक र कार्यालयका ३०९ गरी जम्मा १५ हजार ९५८ धाराबाट पानी वितरण भइरहेका छन्। यस्तै प्रक्रिया पूरा भएका ३ हजार ८८३ धारा जडान गर्न बाँकी रहेको अध्यक्ष देवकोटाले जानकारी दिए। अहिले उपत्यकामा झुप्रा खोलाबाट प्रतिसेकेन्ड ६५ लिटर, खरीबोरी खोलाबाट ३० लिटर, इत्राम खोलाबाट १५ र खोर्के खोलाबाट ५ लिटर पानी जम्मा गरेर संस्थानले वितरण गरिरहेको छ।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad