१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश राजधानीमा खानेपानी संकट, माग धेरै आपूर्ति कम

सुर्खेत - कर्णाली प्रदेशकोे राजधानी वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक एक करोड ५४ लाख २७ हजार पाँच सय लिटर खानेपानी आवश्यक पर्छ। वीरेन्द्रनगर उपत्यकाको हालको जनसंख्या १ लाख ८१ हजार पाँच सयको हाराहारीमा छ।

राजधानी भएसँगै जनसंख्या दिनदिनै बढ्दो क्रममा छ। उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले भने आवश्यकता अनुसार पानी वितरण गर्न सकेको छैन्। 'झुप्रा खोला, खरी–बोरी खोला, इत्राम र खोर्के खोलाका स्रोतबाट सुख्खायाममा मुस्किलले ९९ लिटर पानीमात्रै उपत्यकामा भित्रिन्छ’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘दिनदिनै बढ्दो उपत्यकाको जनसंख्यालाई सहज खानेपानी आपूर्तिका लागि बैकल्पिक स्रोतको खोजी गर्नु आवश्यक छ।’ 

४८ घण्टामा एक पटक पानी पाउने उपत्यकाबासीलाई खरी–बोरी खोलाको ३० लिटर प्रतिसेकेण्ड पानीले धेरै राहत प्रदान गरेको थियो। वीरेन्द्रनगर प्रदेश राजधानी भएसँगै यहाँको जनसंख्या ह्वात्तै बढेको छ। ‘बढ्दो जनसंख्याका कारण सुख्खायाममा उपत्यकामा खानेपानीको चरम संकट हुने देखिन्छ’ अध्यक्ष देवकोटाले भने, ‘हामी नयाँ स्रोतको पहिचानमा लागिरहेका छौं।’ अहिले पनि उपत्यकामा एक सय ७६ लिटर प्रतिसेकेण्ड खानेपानीको आवश्यकता छ। संस्थाले पनि प्रतिसेकेण्ड एक सय ४९ लिटर पानी मात्रै आफूर्ति गर्न सकेको छ।

उपत्यकाको खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि भेरीको पानी ल्याउने तयारी भइरहेको छ। २ अर्ब ९१ करोडको आयोजना निर्माण हुन कम्तिमा पाँच वर्ष कुर्नुपर्ने हुन्छ। सुख्खा क्षेत्र खानेपानी आयोजना अन्तर्गत खानेपानी तथा ढल निकास विभागले भेरीको पानी उपत्यकामा ल्याउनका लागि टेन्डर प्रक्रिया सुरु गर्दैछ। ‘भेरीको पानी उपत्यकामा नआउँदासम्म साना स्रोतको पहिचान गरेर निर्माण प्रक्रिया सुरु गर्नुपर्ने देखिन्छ’ उनले भने, ‘उपत्यकाको खानेपानी आपूर्तिको दायित्व संस्थाको मात्रै होइन्, स्थानीय र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ।’

नयाँ स्रोत पहिचान
उपत्यकाको अल्पकालिन खानेपानीको समस्या समाधानका लागि सुर्खेत उपत्यका खानेपानी संस्थाले नयाँ स्रोतको पहिचान गरेको छ। उपत्यकाको खानेपानीको मुख्यस्रोत झुप्रा खोला नजिकैको रतु खोलाबाट तत्कालका लागि पानी भित्र्याउन सकेमा उपत्यकाको खानेपानीको समस्या केही हदसम्म समाधान हुने अध्यक्ष देवकोटाले जानकारी दिए।

‘सुख्खायाममा पनि रतु खोलामा प्रतिसेकेण्ड १५ लिटर पानी हुन्छ, त्यसलाई उपत्यकामा ल्याउन सकेको खण्डमा चार–पाँच वर्षसम्म खानेपानीको संकट केही हदसम्म समाधान हुन्छ’ उनले भने, ‘स्रोतको पहिचान गरेका छौं, ल्याउनका लागि स्थानीय र प्रदेश सरकारको सहयाेगकाे आवश्यकता छ।’

संस्थाले रतु खोलाबाट वीरेन्द्रनगर–१३ स्थित इन्टेकसम्म साढे छ किलोमिटर पाइपलाइन विछ्याएर पानी उपत्यकामा प्रवेश गराउने योजना बनाएको छ। ‘यो पानी ल्याउन सकेको खण्डमा थप साढे सात हजारसम्म नयाँ धारा पनि वितरण गर्न सकिन्छ’ उनले भने, ‘भेरीको पानी नआउँदासम्मका लागि हामीसँग अर्को विकल्प पनि छैन्।’

वीरेन्द्रनगर उपत्यकामा १५ हजार ५३१ निजी, ११८ सामुहिक र कार्यालयका ३०९ गरी जम्मा १५ हजार ९५८ धारा वितरण गरिएको छ। यस्तै प्रक्रिया पूरा भएका तीन हजार ८८३ धारा जडान गर्न बाँकी रहेको उनले जानकारी दिए। अहिले उपत्यकामा झुप्रा खोलाबाट प्रतिसेकेण्ड ६५ लिटर, खरी–बोरी खोलाबाट ३० लिटर, इत्राम खोलाबाट १५ र खोर्केखोलाबाट ५ पानी जम्मा गरेर संस्थाले वितरण गर्ने गरेको छ।

 

प्रकाशित: ९ मंसिर २०७५ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App