१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अदालतको आदेश अवज्ञा गर्दै संरचना भत्काइयो

लहान- उच्च अदालत जनकपुर राजविराज ईजलासले भौतिक संरचना नभत्काउन दिएको आदेशको अवज्ञा गर्दै धनगढीमाई नगरपालिकाले शनिबार एक व्यवसायीको घरगोदामको मुल गेट र पर्खाल भत्काएको छ।

धनगढीमाई नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको घर गोदामलगतका भौतिक संरचना र जग्गामा आघात पुर्याउन खोजेको भन्दै व्यवसायी अशोक कुमार अग्रवालले उच्च अदालत जनकपुर, राजबिराज ईजलासमा उत्प्रेषण मिश्रित परमादेश माग गरेका थिए।

अग्रवालको निवेदनउपर उच्च अदालत जनकपुर राजबिराज ईजलासले धनगढीमाई नगरपालिकाको नाममा १० असार २०७५ मा सुनुवाई गर्दै प्रचलित नेपालको कानूनी प्रक्रिया नअपनाई गैरकानूनी ढंगबाट कसैको निजि सम्पतिमा आघात पार्ने, क्षति पुर्‍याउने लगायत कुनै कानून विपरित कार्य गर्न अधिकार नभएकोले निवेदक अशोक कुमार अग्रवालको स्वामित्वमा रहेको भौतिक संरचना लगायत जग्गामा समेत आघात पुर्याउने, क्षती पुर्याउने लगात कुनै कानून विपरित कार्य गर्ने अधिकार नरहेको उल्लेखखित जग्गामा तोडफोड गर्ने कुनै कार्य नगर्नु नगराउनु भनी परमादेश जारी गरेको थियो।

धनगढीमाई नगरपालिकाले अदालतको आदेश विपरित कुनै कानूनी प्रक्रिया नअपनाई एक्कासी शनिवार विहान ८:४० बजेतिर आफ्नो स्वामित्वमा पर्ने गोदामघरको मुलगेट, पर्खाल र पर्खालसँग जोडिएको मन्दिर भत्काएर अदालतको अवहेलना गरेको अग्रवालले सञ्चारकर्मीहरुसँग गुनासो पोखेका छन्। ‘मेरो स्वामित्वको सम्पतिमा रहेको मुलगेट, पर्खाल र मन्दिर समेत भत्काउन थालेको खबर पाएर त्यहाँ पुगेका मेरा छोराहरु आदित्य र सिद्धिराज अग्रवाललाई समेत नगर प्रमुख हरिनारायण चौधरी र वडा नम्बर १० का वडा अध्यक्ष विन्देश्वर यादवको उपस्थितिमा कुटपिट भएको छ, अग्रवालले सञ्चारकर्मीहरुसँग भने।

‘अदालतमा चल्दै गरेको मुद्दामा फैसला नआउँदै संरचना तोडफोड नगरिदिनुस भनेर आग्रह गर्दा तोडफोड गर्न आएका हुलले ममाथि आक्रमण गर्न थाले, आदित्यले सञ्चारकर्मीसँग भने,‘विकासको अगाडि अदालतको आदेश मान्दैनौ भन्दै मलाई कुटपिट गरे।’

अग्रवालले अदालतको आदेशको अवज्ञा गर्दै नगर प्रमुख चौधरीको निर्देशनमा वडा अध्यक्ष विन्देश्वर यादव र धनगढीमाई नगरपालिकाले सम्पत्ति तोडफोड गरेकोले आफू पुनः निसाफका लागि अदालत जाने बताए।

धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले अदालती प्रक्रिया निकै लम्बिने र फैसला हुन समय लाग्ने भएकोले विकासलाई अघि बढाएको बताए। उनले भने,‘हामी अदालतको आदेश अवज्ञा, अवहेलना केहिपनि गरेका छैनौ।’ विकास निर्माणमा अवरोधक बनेको संरचना मात्र भत्काएका हौं, कसैको नीजि सम्पती क्षती नगरेको उनले जिकिर गरे। ‘मुलगेटभित्र अझै १५ फिटजती जग्गा ऐलानी पर्र्छ’,उनले भने,‘ ऐलानी जग्गामा भएको संरचना भत्काउँदा अदालतको अवज्ञा कसरी हुन्छ ? हामीले भत्काएको संरचना निजि नभएर ऐलानी जग्गामा बनेको थियो, नगर प्रमुख चौधरीको जिकिर छ।

प्रकाशित: ९ मंसिर २०७५ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App