१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फ्रान्समा मूल्य वृद्धिविरुद्धको प्रदर्शन

फ्रान्सको राजधानी पेरिसको च्याम्पस्–एलिसी सडकमा प्रहरीले प्रहार गरेको अश्रुग्यास झेल्दै प्रदर्शनकारी। तस्बिर : एजेन्सी

पेरिस (बिबिसी) – पेट्रोलियम पदार्थमा बढ्दो मूल्य वृद्धिविरुद्ध फ्रान्सको राजधानी पेरिसको सडकमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

देशमो पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिविरुद्ध गरिएको प्रदर्शनको दोस्रो साता शनिबार राजधानी पेरिसमा उत्रिएका प्रदर्शनकारीलाई तितरबितर पार्नका लागि प्रहरीले ठूलो मात्रामा अश्रुग्यास र  पानीको फोहोरा प्रहार गरेको बिबिसीले उल्लेख गरेको छ।

पहेंलो भेस्ट लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच पेरिसको च्याम्पस्–एलिसीमा झडप भएको बताइएको छ। प्रदर्शनकारी सहरको अति नै संवेदनशील क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोक्ने खोज्दा झडप भएको बिबिसीले उल्लेख गरेको छ।

प्रदर्शनमा हजारौं प्रदर्शनकारीको सहभागिता रहेको अनुमान गरिएको छ। प्रदर्शनकारीलाई रोक्नका लागि तीन हजार प्रहरी अधिकारी खटाइएको फ्रान्स प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध निरन्तर भइरहेको अन्तर्गतको पछिल्लो चरणलाई आयोजकले ‘एक्ट टू’ नाम दिएका छन्।

पहेंलो ज्याकेट भनेर चिनिने प्रदर्शनकारीहरु परैबाट देखिने पहेंलो रंगको पहिरनमा प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले डिजेलको मूल्यमा वृद्धि भएको भन्दै सरकारविरुद्धमा प्रदर्शन गरिरहेको छन्। च्याम्पस्–एलिसीमा प्रहरीले लगाएको फलामको बारमाथि प्रदर्शनकारी चढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको सरकारी अधिकारीहरुले बताएका छन्। प्रहरीले प्रदर्शनकारीलाई सिमित क्षेत्र तोकेर सो क्षेत्रमा प्रवेश नगर्न सुरुमा चेतावनी दिएको बताइएको छ। सो क्षेत्रमा प्रधानमन्त्रीको आधिकारिक निवास भएकाले पनि प्रहरीले प्रदर्शनकारीबाट हुन सक्ने सम्भावित घटना रोक्ने बल प्रयोग गरेको बताएको छ। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि निषेधित क्षेत्रमा कोही पनि प्रदर्शकारी छिर्न नसकेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेपछि केही प्रदर्शनकारीले भने सडक पेटीमा बिछ्याइएको ढुंगा टिपेर प्रहरीलाई हानेको बताइएको छ। ती प्रदर्शनकारीहरुले राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामा माग गर्दै ढुंगा प्रहार गरेको प्रदर्शनकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रदर्शनकारीलाई वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोंसँग राष्ट्रपतीय निर्वाचनमा पराजित मरिन ल पेन नेतृत्वको अति दक्षिणपन्थी राष्ट्रवादीवादी पार्टीले उचालेको फ्रान्सका आन्तरिक मन्त्री क्रिस्टोफर कास्टनरले आरोप लगाएका छन्। मन्त्री कास्टनरको आरोपलाई भने पेनले विरोध गरेकी छन्। सामाजिक सञ्जाल ट्विटरमा एउटा ट्विट गर्दै नेत्री पेनले मन्त्री कास्टनरले झुट बोलेको आरोप लगाएकी छन्। पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएको विरोधमा राजधानी पेरिसमा भएको प्रदर्शनमा करिब ३० हजार प्रदर्शनकारी भेला भएको केहीले आंकलन गरेका छन्।

प्रदर्शनको कारण के हो ?
फ्रान्सको यातायातका साधनमा बढि प्रयोग हुने डिजेलको मूल्य पछिल्लो १२ महिनामा मात्रै करिब २३ प्रतिशत अर्थात् औषत प्रतिलिटर एक दशमलव ७१ डलरले वृद्धि भएको छ। यो मूल्य सन् २००० पछिकै सबैभन्दा उच्च मूल्य भएको बिबिसीले जनाएको छ। विश्व तेल बजारमा तेलको मूल्यमा गिरावट हुँदै गर्दा पनि म्याक्रों सरकारले भने हाइड्रोकाबर्न करमा यस वर्ष वृद्धि गरेको छ। जसअनुसार डिजेलमा प्रतिलिटर ७ दशमलव ६ सेन्ट र पेट्रोलमा प्रतिलिटर ३ दशमलव ९ सेन्टले वृद्धि गरेको छ। सरकारले कार र इन्धन मुक्त गर्ने अभियानअन्तर्गत कर वृद्धि गरेको बताउने गरेको छ। यसैबीच फ्रान्स सरकारले आउँदो जनवरी १ देखि लागू हुने गरी डिजेलमा थप ६ दशमलव ५ सेन्ट र पेट्रोलमा २ दशमलव ९ सेन्ट कर वृद्धि गर्ने तयारी गरिरहेको छ।

प्रदर्शनकारीले तेलको मूल्य वृद्धिमा राष्ट्रपति इमानुएल म्याक्रोंको राजीनामा मागिरहे पनि उनले भने विश्व तेल मूल्यका कारण देशमा मूल्य वृद्धि भएको बताउने  गरेका छन्। यद्यपि उनले पेट्रोलियम पदार्थमा थप कर वृद्धि गर्न आवश्यक रहेको पनि बताउने गरेका छन्। उनले नवीकरणीय ऊर्जामा लगानी गर्नका लागि पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि आवश्यक रहेको राष्ट्रपति म्याक्रोंको दाबी रहँदै आएको छ। यसैबीच पश्चिमी फ्रान्समा एक मानिस अश्रुग्यास ग्रिनेडसहित शुक्रबार पक्राउ परेपछि प्रदर्शकारी थप आक्रोशित भएका छन्। पक्राउ परेका ती व्यक्तिले राष्ट्रपति म्याक्रोंसँग प्रदर्शनकारीले भेट्न पाउनुपर्ने माग गरेको बिबिसीले उल्लेख गरेको छ। पहेंलो ज्याकेट लगाएका ४५ वर्षीय ती मानिस टाउन अफ यांगर्समा अश्रुग्यासको ग्रिनेडसहित फेला परेका थिए। सुरुमा प्रहरीसमक्ष जान इन्कार गरेका उनले कैयौं घण्टाको छलफलपछि मात्रै प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार भएका थिए। फ्रान्समा गाडी चलाउने सबैले सुरक्षा उपकरणका रूपमा आफ्नो सवारी साधनमा पहेंलो ज्याकेट राख्नै पर्ने व्यवस्था रहेको छ।

प्रकाशित: ९ मंसिर २०७५ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App