१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अब दुर्गम रहेन डोल्पा

डोल्पा - डोल्पा जिल्ला मंगलबारदेखि औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। सडक उद्घाटनका लागि काठमाडौंबाट डोल्पाको त्रिपुरासुन्दरी नगरमा आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रधानसेनापति पूर्णचन्द्र थापा, योजना आयोगका उपाध्यक्ष पुष्प कँडेललगायत उच्चपदस्थ अधिकारीलाई स्वागत गर्न स्थानीय बाजागाजासहित उपस्थित थिए। सडक सञ्जालको पहुँच नहुँदा औषधिमूलो समेत नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्थामा रहेका डोल्पालीलाई सडक बनेका कारण प्रशन्न देखिन्थे। राष्ट्रिय सडक सञ्जालमा जोडिन पाएको खुसियालीमा जिल्लावासी रमाइरहेका थिए।

त्यही खुसीयालीमा सहभागी थिइन्, त्रिपुरासुन्दरी नगरपालिका–६ कि विष्णुमती बोहोरा। ६३ वर्षीया उनले यत्ति चाँडै डोल्पा मोटर चल्ने सडक सञ्जालमा जोडिएला भनेर सोचेकी पनि थिइनन्। ‘यहाँ यसरी बाटो आउला, गाडी आउला भन्ने मैले सोचेकी पनि थिइनँ,’ बोहोराले भनिन्। सडक बनेसँगै गाडी चल्न थालेपछि निकै खुसी लागेको उनले बताइन्। ‘हामीले यस्तो विकास नदेखे पनि हाम्रा नातिपनातिले देख्लान्, गाडी चढेर हिँड्लान भन्ने लागेको थियो तर हाम्रै पालामा यस्तो देख्न पाउँदा मनमा हर्ष लागेको छ,’ उनले भनिन्। बोहोरा आफ्नै ठाउँमा गाडी चढेर हिँड्न पाइने भएपछि निकै उत्साहित देखिन्थिन्। ‘अब त मरे पनि खुट्टा पसारेर मर्न पाइने भयो,’ उनले ले भनिन्। उनले पहिला सडक नहुँदा धेरैको रगत बगेको बताइन्। ‘अब सेनाले बाटो बनाइदिएको छ, कुदिन गए सुदिन आए, यो खुसीले पुराना दुःख पनि बिर्साइदिएको छ,’ उनले भनिन्। बाटो बनाइदिएकोमा सरकार र सेनालाई धन्यवाद पनि दिइन् उनले।

‘सडक बनेसँगै सामानको मूल्य सस्तिएको मात्र नभई जीवनशैली समेत सहज बनेको र डोल्पा अब दुर्गमबाट सुगममा परिणत भएको छ।’

त्रिपुरसुन्दरीस्थित पृथ्वीनारायण आदरपुर विद्यालयका प्राचार्य कर्णवीर बोहोरा डोल्पा सडक सञ्जालसँग जोडिएसँगै बारिहबाट आउने सामान सस्तो र यातायात पनि सहज हुने बताउँछन्। ‘सडकको पहुँच नहुँदा बिरामी भए हवाईजहाजको भर पर्नुपथ्र्याे, त्यो पनि पहुँच हुनेले मात्र टिकट पाउँथे, अब त्यो युगको अन्त्य भयो’, उनले भने। उनका अनुसार अब आर्थिक अवस्था कमजोर हुनेहरु औषधिउपचार नपाएर मर्न पर्ने छैन। सडक सञ्जाल जोडिएसँगै ीन दिनमा काठमाडौ पुग्न सकिने उनले बताए।

त्रिपुरासुन्दरी नगरपालिका वडा ४ का सदस्य लक्ष्मीकान्त न्यौपाने सडक अभावमा दुःख भोग्दै आएका डोल्पालीलाई जाजरकोट–डोल्पा सडकले निकै ठूलो राहत दिएको बताउँछन्। उनका अनुसार ०६२/०६३ सालभन्दा पछि समान ढुवानीमा खच्चड प्रयोग हुने गरे पनि यातायातका साधन सञ्चालन हुन नसक्दा जनताले धेरै ठूलो कष्ट सहनुपरेको थियो। उनी यो सड्क जतिसक्दो छिटो कालोपत्रे हुनुपर्ने र आवश्यक पुल पनि तत्काल बनाउनुपर्ने बताउँछन्।

नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगरपालिका संयोजक मोती उपाध्याय सेनाले सडक निर्माणको जिम्मा पाएपछि छोटो समयमै स्तरीय काम गरेको बताउँछन्। उनी जिल्लाका अन्य विकास निर्माणका काम पनि ठेकेदारलाई जिम्मा दिनुभन्दा सेनालाई दिने हो भने गुणस्तरीय र तोकिएको समयमा सम्पन्न हुने दाबी गर्छन्। सडकमा विभिन्न स्थानमा आवश्यक पुल बनाए यातायात थप सहज हुने उनी बताउँछन्। उपाध्यायले सडक सञ्जाल जोडिनुभन्दा पहिले डोल्पामा एक क्विन्टल चामललाई १० हजार रुपैयाँसम्म तिर्नुपरेको स्मरण गर्दै अहिले मूल्य घटेर तीन हजार पाँच सयदेखि चार हजार रुपैयाँमा पाइन थालेको बताए। सडक जोडिएसँगै अन्य सामानको मूल्य पनि सस्तो भएको उनको भनाइ छ।। ‘सडक बनेसँगै सामानको मूल्य सस्तिएको मात्र नभई जीवनशैली समेत सहज बनेको र डोल्पा अब दुर्गमबाट सुगममा परिणत भएको छ,’ उनले भने।

नेपाली सेनाले २०६५ वैशाख २० गते जाजरकोट–डोल्पा (दुनै) सडक निर्माण थालेको थियो। सडकको पहुँच नपुगेका सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सरकारको नीतिअनुरुप सेनाले ०६४ असोजमा छिन्चु–जाजरकोट सडक निर्माण गरी जाजरकोट सदरमुकामसम्म सडक पु¥याएको थियो। त्यसपछि यसैको निरन्तरताअन्तर्गत जाजरकोटको पासागार्डलाई शून्यविन्दु मानेर भेरी नदीको किनारैकिनार रुकुम हुँदै डोल्पा त्रिपुराकोटसम्म सडक विस्तार सुरु भएको थियो। यो काम पूरा भएको छ। सुँपानीदेखि सदरमुकाम दुनैसम्मको करिब १५ किलोमिटर सडकको ट्रयाका यसअघि नै खुलाइसकिएको छ।

प्रकाशित: ८ मंसिर २०७५ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App