१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पाल्पामा धान उत्पादन वृद्धि

बेझाड – पाल्पामा धान उत्पादनमा वृद्धि भएको छ। जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो। जिल्लामा ८ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ।

गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिए। गत वर्ष जिल्लामा सोही क्षेत्रफलमा ३५ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो। आव ०७३–०७४ मा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएको थियो।

यस वर्ष समयमा नै धान रोपाइँ, पर्याप्त वर्षा, उन्नत जातको धानको बीउ प्रयोग, रोग किराले आक्रमण कम गर्नुजस्ता कारणले धान उत्पादन बढेको यादवले बताए। जिल्लामा कृषकले सावित्री, रामधान, सावा मन्सुली, सुक्खा, खुमल चार, उन्नततर्फ यएस ३१२, युएस ३८२ जातको धान लगाउँदै आएका छन्।

जिल्लाको रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, दोभानलगायतका क्षेत्रमा धान उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छ। जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकाले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ।

जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाँडा भू–भाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ। यस जिल्लामा उत्पादन भएको धानले खान नपुगे पनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा कृषक आत्मनिर्भर बनेका छन्।   (रासस)

प्रकाशित: ७ मंसिर २०७५ १०:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App