१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

शनिबारबाट जामनः गुभाजु प्रदर्शनीमा

नेपालभाषाको ऐतिहासिक फिल्म जामनः गुभाजुको पहिलो सो शनिबार हुने भएको छ। यो फिल्म १७ औं शताब्दिका कान्तिपुरका सिद्धहस्त तान्त्रिक जामनः गुभाजुको जीवनीमा आधारित छ। 

शनिबार बागबजारस्थित सिनेम्याक्स हलमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्देशक रवि साय्मिले तीन वर्षदेखि प्रतीक्षारत फिल्म दर्शकसामु ल्याउन पाउँदा खुसी लागेको बताए। नेपाली फिल्मका चर्चित सिनेमाटोग्राफर साय्मि पहिलो पल्ट नेपालभाषाका फिल्म मार्फत निर्देशकका रूपमा आएका हुन्।

फिल्ममा कलाकार सुशील राजोपाध्याय जामनः गुभाजुको प्रमुख भूमिकामा देखिँदैछन्। फिल्मको कथा पटकथा उनैले लेखेका हुन्। उनले भने, ‘चार सय वर्ष पुरानो पात्रलाई अहिलेको समयमा जीवन्तता दिन धेरै गाह्रो भयो। तर, हामीले यो पात्रलाई जीवन्त तुल्याउन धेरै मेहेनत गरेका छौं। दर्शकले पनि माया गर्नुहुनेछ भन्ने लागेको छ। हामी अहिले दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छौं।’

तत्कालिन समयलाई झल्काउन फिल्ममा ४० प्रतिशत भन्दा बढी भिएफएक्स प्रविधि अपनाइएको छ। फिल्ममा २०७२ सालको महाभूकम्पले ढलेको काष्ठमण्डपलाई पनि भिएफएक्स प्रविधिमार्फत् देखाइएको निर्देशक साय्मिले बताए।
जामनः गुभाजु १७ औं शताब्दीका कान्तिपुरका राजा प्रताप मल्लका एकदमै विश्वासपात्र सिद्धहस्त तान्त्रिक थिए। उनी काठमाडांैको १८ बहाबहीमध्ये मुसुम्बहालमा बस्थे। देशमा आएको समस्या समाधान गर्न उनले प्रताप मल्ललाई सल्लाह दिने गर्थे। इतिहास अनुसार प्रताप मल्लको पालामा एक समय कान्तिपुरमा पानी नपरी हाहाकार भएछ। स्वयम्भूस्थित शान्तिपुरभित्र रहेको नवनागको रगतले लेखेको शास्त्र बाहिर ल्याउन सकेमात्र पानी पर्ने भएछ। शान्तिपुरभित्र जान कसैले आँट नगरेको बेला तान्त्रिक गुभाजुले आफ्नो तन्त्र विद्याबा अनुष्ठान गरी राजा प्रताप मल्ललाई शान्तिपुरभित्र पुर्याउन मद्दत गर्छन्। त्यहाँबाट शास्त्र बाहिर ल्याउपछि कान्तिपुरमा पानी परेछ।

२०७२ को भूकम्पले क्षति पुगी हाल पुनर्निर्माण गरिरहेको स्वयम्भूको शान्तिपुर विहार अहिले पनि तन्त्र सिद्धिको लागि प्रख्यात ठाउँ हो। अहिले पुनर्निर्माण गर्दा पनि गर्भगृहमा बनाउन दीक्षा लिएका डकर्मी–सिकर्मीहरूलाई पठाई निर्माण गरिरहेको छ। शान्तिपुरभित्र पसी काठमाडौं ब्रह्मटोलको बाह्रवर्षे इनार (जाप तुं)बाट निस्कन मिल्छ भन्ने जनविश्वास छ।

धर्मोदय सभाका अध्यक्ष बौद्ध विद्धान यज्ञमानपति बज्राचार्यले पहिलो पटक निर्देशक साय्मिले जामनः गुभाजुबारे फिल्म बनाउन आफूसँग सल्लाह लिन आउँदा फिल्म बनाउला भन्ने पनि नपत्याएको बताए। ‘तर, अहिले तपाईंहरूको अगाडि फिल्म छ। यसको लागि निर्माण टिमले धेरै मेहनत गरेको छ,’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने।

जामनः गुभाजु फिल्म नेपालभाषाको अहिलेसम्मकै सबैभन्दा बढी लगानी गरी निर्माण प्रदर्शन ल्याइएको फिल्म पनि हो। फिल्मका निर्माता राजेन्द्रभक्त श्रेष्ठले फिल्मको लागि ४० लाखभन्दा बढी खर्च भएको बताएका छन्। ‘ऐतिहासिक विषयवस्तुको फिल्म भएकाले प्राविधिक कार्यमा धेरै खर्च भएको छ,’ उनले भने।

जेस्सी पेन्नी इन्टरटेन्मेन्ट र वाइल्ड बुल्स प्रोडक्सनको संयुक्त लगानीमा बनाइएको फिल्ममा सुशील राजोपाध्यका साथ सरस्वती मानन्धर, साकार पन्त, उदेन न्हूसाय्मि, पुष्करभक्त माथेमा, संघरत्न शाक्य, लक्ष्मीनाथ तिमिल्सिना, सुलोचना मानन्धर श्रेष्ठ, सुरज व्यञ्जनकार, अन्नपूर्णेश्वरी श्रेष्ठ, अमिता जोशी आदिको अभिनय छ। फिल्ममा छांयाकन भवानी शिलाकार, सम्पादन दिपान शाक्य, संगीत बालकृष्ण वंशी, भिएफएक्स सचिन जोशीको छ।

प्रकाशित: ७ मंसिर २०७५ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App