१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दोहोरो करको मारमा विदेशी पर्यटक

पर्यटकीय नगरी नगरकोट जाने विदेशी पर्यटक दोहोरो करको मारमा परेका छन्। चाँगुनारायण नगरपालिका र मन्डनदेउपुर नगरपालिकाले छुट्टाछुटै ढंगले नगरकोट भित्रिने विदेशी पर्यटकसँग दोहोरो कर असुलेर पर्यटकमाथि आंतक मच्चाएका छन्। चाँगुनारायण नगरपालिकाले गत आर्थिक वर्षदेखि नगरकोट प्रवेश गर्ने पर्यटकसँग पर्यटक प्रवेश शुल्क उठाउन थालेको हो। त्यस्तै गरी मन्डन देउपुर नगरपालिकाले यसै आर्थिक वर्षदेखि विदेशी पर्यटकसँग कर असुल्न थालेको हो।

चाँगुनारायणले सार्क मुलुकका पर्यटकसँग दुई सय र अन्यसँग तीन सय रूपैयाँ शुल्क लिइरहेको छ। त्यस्तै गरी मण्डनपुर देउपुरले सार्क मुलुकका पर्यटकसँग दुई सय २९ र अन्यसँग तीन सय ३९ रूपैयाँ शुल्क असुल्दै आइरहेका छन्।

पर्यटकीय क्षेत्र नगरकोट प्रवेश गर्ने पर्यटकले पाइला सा¥यो कि दोहोरो कर तिर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। नगरकोट भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र काभ्रेपाल्चोक जिल्लाको मन्डनदेउपुर नगपालिकामा पर्छ। नगरकोटका पर्यटन व्यवसायीले दुई वटा स्थानीय तहले दोहोरो कर असुलेर नगरकोटको पर्यटन क्षेत्र नै धरासायी पर्ने षडयन्त्रमा अग्रसर भएको बताएका छन्।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले  स्थानीय तहले एउटै गन्तव्यमा दोहोरो कर थुपाएर पर्यटकमाथि कर आंतक मच्चाएको बताए। ‘एउटै गन्तव्यमा दुई वटा नगरपालिकाले एउटै शीर्षकमा विदेशी पर्यटकसँग दोहोरो कर असुलेका छन्,’ उनले भने, ‘दुवै नगरपालिकाले कानुनविपरित कर थुपारेर विदेशी पर्यटकमाथि  भार थुपारिरहेका छन्।’ उनका अनुसार दुवै स्थानीय तहले तत्कालै अव्यवहारिक कर हटाउनुपर्ने बताउँछन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ को उपदफा १ मा पदयात्रा तथा पर्यटन शुल्कको दर प्रदेश सरकारले निर्धारण र संकलन गर्ने भन्ने उल्लेख गरिएको छ। उक्त ऐनमा प्रदेश ऐन नबसेसम्म पर्यटक कर उठाउन नपाइने व्यवस्थाको बेवास्ता गर्दै दुवै निकायले कर असुलेको पर्यटक व्यवसायीको भनाइ छ।

चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सन्तेबहादुर वाइवाले चाँगुनारायण नगरपालिका र मन्डनदेउपुर नगरपालिकाले अस्भाविक ढंगले कर असुलेर पर्यटक क्षेत्रमा असर पारेको बताउँछन्। ‘दुवै नगरपालिकाले पर्यटकसँग दोहोरो कर असुल्दा पर्यटन क्षेत्रमा असर पारेको छ,’ उनले भने, ‘दुवै नगरपालिका नगरप्रमुखसँग दोहोरो कर  हटाउनको लागि अनुरोध गरेका छौं।

सचिव लामाले दोहोरो करको विषयमा चाँगुनारायण नगरपालिका मन्डनदेउपुर नगरपलिका, नेपाल पर्यटन बोर्ड, प्रदेश ३ का मुख्यमन्त्रीको कार्यालय, हेटौडा, संघीय ममिला तथा स्थानीय विकास मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पाटा, टान, नाटा, हान लगायतका निकायसँग पत्राचार गरिसकेको बताए।

प्रकाशित: ७ मंसिर २०७५ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App