१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

राजा महेन्द्रको सपना

हाम्रा पूर्वीय शास्त्र र पश्चिमी राष्ट्रका विद्वान्हरूले समेत सक्षम राष्ट्रनायकको कल्पना गरेका छन्। त्यस्तो असल काम गर्ने मानिसलाई सभ्य समाजले सदैव सम्झना गर्छ। जर्मनीका एकीकरणकर्ता बिस्मार्क, केन्याका राजनेता जोमो केन्याता, चीन एकीकरण गर्ने सम्राट् ह्वाङ्ती, अमेरिकी राजनेता जर्ज वासिङ्टन र अब्राहम लिंकन, दक्षिण अफ्रिकाका नेल्सन मन्डेला र नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह आदि झैँ राजा महेन्द्रका बारेमा नेपालका वर्तमान युवापुस्ताले चासो लिइरहेको पाइन्छ। त्यसैले, महेन्द्रको दर्शन, सिद्धान्त, आदर्श र बाटो कस्तो थियो भन्ने बारेमा यस लेखमा संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ।

विदेशीको हस्तक्षेप रोक्न राजा महेन्द्र सक्षम भए। उनले त्यसका लागि नेपाली नागरिकताको व्यवस्था गरे। के त्यो गलत थियो ? नेपाल–भारत सिमानामा भारतबाट आएर चोरी–डकैतीलगायतका दुष्कर्म गर्ने क्रम बढेपछि उनले हजारौँ भूतपूर्व सैनिकहरूलाई जमिन दिएर मेचीदेखि महाकालीसम्मका विभिन्न भागमा बसोबास गराए। के त्यसो गर्नु राष्ट्रहित विपरीत थियो ? मेची–महाकाली जोड्ने १०२७.६७ किलोमिटर लामो महेन्द्र राजमार्ग बनाउने निर्णय गरे उनले। के त्यो अपराध गरे ?

यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, राष्ट्रिय सुुरक्षालगायतका हरेक क्षेत्रमा महेन्द्रका काम प्रशंसनीय छन्।

भारतलाई आग्रह गरेर महेन्द्रले वीरगञ्ज नजिक सिर्सियाबाट हेटौँडा–सिमभन्ज्याङ–थानकोटसम्म १५९.६६ किलोमिटर त्रिभुवन राजपथ बनाए। ‘बाइरोड’ भनियो यो बाटोलाई। विदेशीहरू पहिले दिल्लीबाट विमानमा आउँथे र पछि कहाँबाट आयौ भन्दा बाइरोड भन्न थाले। २०२४ सालमा अरनिको राजमार्ग बन्यो। नेपाल र चीन सडकले जोडियो। ११२.८३ किलोमिटरको सो सडकबाट चीनका फौज आउँछन्, साम्यवाद आउँछ भनेर भारतीय पत्रपत्रिकाले दुष्प्रचार गरे। भारतीय पत्रकारले यसबारेमा  राजा महेन्द्रलाई प्रश्न गर्दा उनले ठट्टा गर्दै भनेका थिए, “साम्यवाद ट्याक्सी चढेर आउँदैन।” यो भनाइ सञ्चारमाध्यम र कूटनीतिज्ञहरूबीच निक्कै चर्चित भयो।

महेन्द्रकै पालामा सुरु भयो, काठमाडौँ–पोखरा जोड्ने सडक। चीनले बनाइदियो त्यो पृथ्वीराजमार्ग। सातदोबाटोबाट हेटौँडा पुग्ने ९० किलोमिटर लामो कन्तिराजपथ महेन्द्रकै परिकल्पना थियो। २०११ साल चैतमा राजा त्रिभुवनको देहान्तपछि गद्दीमा बसेका राजा महेन्द्रले आजीवन अहोरात्र राष्ट्र र जनताका लागि सक्रिय योगदान गरे। मुटुको व्यथाले छटपटाइरहको बेला पनि उनले तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टसँग भनेका थिए–“म मरे पनि मेरो देश बाँचिरहोस्।”

यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, राष्ट्रिय सुुरक्षालगायतका हरेक क्षेत्रमा महेन्द्रका काम प्रशंसनीय छन्। अमेरिका र सोभियतसँग तथा चीन र भारतजस्ता एकअर्काका ‘शत्रु’ बनेका राष्ट्रलाई पनि नेपालमा लगानी गर्न उत्प्रेरित गर्नु महेन्द्रको चातुर्य, कूटनीतिक र राजनेताका रूपमा सफलता थियो। नेपाललाई उनैले संयुक्त राष्ट्रसंघको सदस्य बनाए। ५३ राष्ट्रसँग उनले नेपालको कूटनीतिक सम्बन्ध स्थापना गरे।

महेन्द्रले गरेका काम छोपिदिने हो भने धेरै कुरा छोपिन्छ। काठमाडौँमा सबैले देखिरहेको सहिद गेट राजा महेन्द्रको निजी (सवा दुई लाख रुपियाँ) खर्चमा बनाइएको हो, २०१८ सालमा। राजा त्रिभुवनका नाममा स्थापित त्रिभुवन विश्वविद्यालय भवन निर्माणका लागि खर्च पुगेन भन्ने विषयमा दरबारमा चर्चा चल्दा महेन्द्रका मुमाहरू कान्ति र ईश्वरीले आफ्ना गहना बेचेर सोह्र लाख रुपियाँ जुटाइदिएका थिए। छोराले राम्रो काम गर्न लागेकामा खुसी व्यक्त गर्दै गहना बेचेर पैसा दिएको कुरा राजा त्रिभुवनका ड्राइभर मरिचमान नकर्मी (ठँहिटी, काठमाडाँै) बाट पैँतीस वर्षअघि यो पंक्तिकारले सुनेको हो।

पहिलो पल्ट झापाका नौजना भूमिहीन किसानले २०२१ सालमा मोहियानी हक पाएका थिए। त्यसरी जग्गाको धनीपुर्जा पाउनेमध्येका एक हुन्, राधाप्रसाद धिमाल। “मलाई त सपना जस्तो लागेको छ, मालिकको जग्गा राजा महेन्द्रले मलाई दिलाए। त्यस्तो राजा कहाँ पाउनु ?” धिमाल भन्छन्।

सनातन धर्म र बौद्धधर्मजस्ता प्राचीन धर्म÷संस्कृतिको संरक्षणमा होस् वा कला, साहित्य, संगीतको उत्थानमा, राजा महेन्द्रले अतुल्य योगदान गरेको पाइन्छ। उनी आफँै साहित्यकार भएकाले साहित्यकारको सम्मान गर्थे। राजा प्रतापसिंह शाहले पहिलो बुद्धिजीवी सम्मेलन गरेझैँ महेन्द्रले चितवनमा साहित्यिक सम्मेलन आयोजना गरे। साँझपख ढुंगामा पेट्रोम्याक्स (ग्यासबत्ती) बालेर कविगोष्ठी गरिएको वृद्ध साहित्यकारहरू सुनाउँछन्। यसैगरी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान स्थापना गरेर राजा महेन्द्रले विद्वान् विदूषीलाई सक्रिय गराए। त्यसबेला प्राज्ञ बन्न कुनै राजनीतिको बिल्ला आवश्यक थिएन, योग्य भए पुग्थ्यो। त्यसैले मुर्धन्य स्रष्टाहरू त्यसमा समेटिए।

इतिहास हत्केलाले छेकिँदैन। विक्रम सम्वत् ५२१ देखि ५६२ सम्म ४१ वर्ष शासन गर्ने लिच्छवी राजा मानदेवले नेपालमा पहिलो मुद्रा (मानाङ्क) चलाए। निजी खर्चमा कान्तिपुर सहर (काठमाडौँ) बसाउने गुणकामदेव हुन् वा कर्णाली क्षेत्रमा शासन गरेर प्रसिद्धि कमाएका नागराज मल्ल (ठकुरी) आदि सबै इतिहासमा स्मरणीय छन्। सिँजालाई राजधानी बनाएर सोह्र पुस्ता शासन गरे मल्लहरूले। राजा बत्सराजले त आफू हिन्दु भए पनि बौद्ध धर्मको उत्थानमा ठूलो योगदान गरे भने अरिमल्लले लुम्बिनीमा राखेको शिलालेखमा उनी बौद्धधर्मका उपासक भएको उल्लेख छ। राजा महेन्द्रले पनि नेपालमा विश्व बौद्ध सम्मेलनको आयोजना गरेका थिए। संयुक्त राष्ट्रसंघका बौद्धधर्मावलम्बी महासचिव ऊ थान्टसँग राजा महेन्द्रको घनिष्ट सम्बन्ध भएकाले राष्ट्रसंघले लुम्बिनीको विकासमा ठूलो मद्दत गरेको पाइन्छ।

शाहवंशका पाँच जना राजालाई राजबन्दी सरह बनाएर जंगबहादुरदेखि मोहन शमशेरसम्मका राणा प्रधानमन्त्रीले १०४ वर्ष आफ्नै खुसीले शासन गरे। कतिपयले २४० वर्षको शासन भनेर पृथ्वीनारायण शाहदेखि पछिल्लो कालखण्डसम्मका सबै राजा ‘अपराधी’ हुन् भन्ने आरोप लगाएका छन्। यथार्थ फरक छ। पृथ्वीनारायण शाहले नेपालमा इसाई धर्म प्रचार गर्नेहरूलाई देशनिकाला गरेकाले पश्चिमाहरू शाहवंशका राजासँग क्रुद्ध भएका हुन्।

२००७ सालमा मात्र १०४ वर्षको राणाशासन समाप्त भयो। जनताले नागरिक हकको अनुभूति गर्न थाले तर दलहरूबीचको कचिंगलले अपेक्षाकृत प्रगति हुन सकेन। सो क्रान्तिको चार वर्षपछि नै राजा त्रिभवनको देहान्त भयो। त्यसपछि महेन्द्रले दिनको सत्र÷अठार घन्टासम्म काम गरेर नेपालको शान्ति, स्थायित्व र प्रगतिका लागि जुन योगदान गरे, ती सबै काम र उनका विचारहरू केलाउँदा महेन्द्रका हजारौँ सपना सिनेमाको रिलझैँ हाम्रा आँखामा आउँछन्।

वि.सं. १९७७ जेठ ३० गते नारायणहिटी राजदरबारमा जन्मेका राजा महेन्द्रले कुनै स्कुल–कलेज पढेनन् तर संसारका प्रसिद्ध राजनेताहरूसँग कुराकानी गर्दा महेन्द्रको प्रतिभा देखेर विदेशीहरू चकित हुन्थे। राजा महेन्द्रका बारेमा पुस्तक लेखेका भारतीय लेखक जे.कृष्णमूर्तिले महेन्द्रको प्रतिभा कूटनीति, राजनीति, साहित्य सबैमा प्रतिविम्बित भएको पाइन्छ भनेका छन्।

२०१५ सालमा संविधान बनाएर पहिलो आमनिर्वाचन गराए राजा महेन्द्रले। भूमिसुधार, नयाँ मुलुकी ऐन, विकेन्द्रीकरण लगायतका काममा सफलता पाए। जमिनदारका लाखौँ बिगाह अनुत्पादक जमिन खोसेर हजारौँ भूमिहीन किसानलाई वितरण गरे। पहिलो पल्ट झापाका नौजना भूमिहीन किसानले २०२१ सालमा मोहियानी हक पाएका थिए। त्यसरी जग्गाको धनीपुर्जा पाउनेमध्येका एक हुन्, राधाप्रसाद धिमाल। “मलाई त सपना जस्तो लागेको छ, मालिकको जग्गा राजा महेन्द्रले मलाई दिलाए। त्यस्तो राजा कहाँ पाउनु ?” धिमाल भन्छन्।

“नेपालको इतिहास तथा दिग्दर्शन” पुस्तकका लेखक तथा इतिहासकार रामजीप्रसाद उपाध्यायले पाँच हजार वर्षभन्दा लामो इतिहास भएको नेपालमा १९२ जना राजाले राज्य गरेको उल्लेख गरेका छन्। राजसंस्था स्थायी शक्ति भएकाले राष्ट्रको सुदूर भविष्यको चिन्ता हुन्छ। चुनाव जिते पुगिहाल्छ भन्नेहरूलाई विदेशी शक्तिले लगानी गरेर पनि आफ्नो बनाउन  सक्छन्। राजा महेन्द्रले देशवासीलाई गीतमार्फत “स्वदेशी बन, स्वदेश भन, सम्हाल नेपाल” भनेका छन्। मन, वचन र कर्मले राष्ट्रवादी बन्न सक्नेहरूको खडेरी परिरहेका बेला राजा महेन्द्रका वचन झन् अर्थपूर्ण ठहरिएका छन्।

राष्ट्रियता, परम्परा, धर्म, संस्कृति, सामाजिक मूल्यमान्यता र संस्कारलाई अस्वीकार गर्ने पश्चिमी राष्ट्रको छुट्टै युवा जमात सन् १९६० को दशकमा ‘हिप्पी’ भनेर चिनियो तर कुनै पनि राष्ट्रमा उनीहरूले प्रोत्साहन पाएनन्। नेपाली राजनीति पनि आज हिप्पीपथमा हिँडेको देखिन्छ। पुराना पद्धति, रीतिस्थिति सबै खराब थिए भन्दै राजा महेन्द्रलाई गाली गर्नेहरू पनि भेटिन्छन् तर महेन्द्रले गरेका काम गलत थिए त भनेर प्रश्न गर्दा उनीहरू अनुत्तरित हुने गर्छन्।

राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, विकास, शान्ति, एकता र राष्ट्रको अस्तित्व रक्षाका लागि महेन्द्रले जे जति गरे, त्यसबाट आजका राजनीतिज्ञहरूले अलिकति पे्रेरणा लिन सके भने इतिहास र भावी सन्ततिको दृष्टिमा पनि उनीहरू हुतिहारा, पराधीन र अयोग्य सिद्ध हुने थिएनन्। महेन्द्रबाट सिक्नुपर्ने कुरा धेरै छन्। सबैभन्दा ठूलो कुरा हो उनको राष्ट्रप्रेम।

विश्वका पचासौँ राष्ट्र भ्रमण गर्दै नेपालसँग सम्बन्ध स्थापना गर्नेदेखि लिएर मेची–महाकाली पैदल भ्रमण गरेर महेन्द्रले झुप्रा–झुप्रामा बस्ने लाखौँ नेपालीको सुखदुःख बुझ्ने प्रयास गरे। उनी जे बोल्थे, त्यो काम पूर्ण गरेर देखाउँथे। गलत काम गर्ने आफ्नै सचिवलाई पनि थुनेका छन् उनले। तत्काल दण्ड र पुरस्कार दिने क्षमताले वास्तवमै उनी योग्य राष्ट्रनायक थिए भन्ने बुझिन्छ। योग्यता, सीप र राष्ट्रप्रेम भएका मानिसलाई खोजीखोजी उनी काममा लगाउँथे। राष्ट्र सबल, सक्षम र सफल बनोस् भन्ने बाहेक उनको अर्को कुनै स्वार्थ थिएन। भनिन्छ, अयोग्य बहुनायक भन्दा एउटै योग्य राष्ट्रनायक उत्तम हुन्छ। महाभारतमा पनि भनिएको छ, “नश्यन्ति बहुनायक।” (धेरै नायकले नाश गर्छन्) नेपालमा आज त्यस्तै भइरहेको छ। होइन त ?

प्रकाशित: ७ मंसिर २०७५ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App