१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

होलसेलमा तरकारी किनेर अर्गानिक भन्दै बिक्री

काठमाडौं - कृषि फ्रेसले बल्खुको होलसेलमा खरिद गरेको तरकारी उपभोक्तालाई अर्गानिक भनी बिक्री गर्दै आएको पाइएको छ। उसले आफ्नै फार्ममा अर्गानिक तरकारी उत्पादन गरेको दाबी गर्दै उपभोक्तालाई बिक्री गर्दै आएको छ।

कृषि फ्रेसले आफ्नो फार्ममा उत्पादन गरेका तरकारी काठमाडौंका विभिन्न १४ पसल (आउटलेट) बाट बिक्री गर्दै आइरहेको छ। कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रूपमा विगत ९ वर्षदेखि परिचित छ।

नागरिक दैनिकका संवाददाताले कृषि फ्रेसले बल्खुको तरकारी होलसेलमा खरिद गरेको सागपात उसको (कृषि फ्रेसको) टीकाथलीमा रहेको फार्ममा पु-याएर प्याकेजिङ गरी बजारमा अर्गानिकका नाममा पठाउने गरेको तथ्य फेला पारेका हुन्।

सहकारी संस्थामार्फत सञ्चालन भइरहेको कृषि फ्रेस काठमाडौंमा अर्गानिक तरकारी उपलब्ध गराउने पसलका रूपमा विगत ९ वर्षदेखि परिचित छ।

कृषि फ्रेसको तरकारी बोक्ने गाडीलाई संवाददाताले पछ्याउँदा आउलटेमा तरकारी छाड्दै बल्खुको होलसेलमा छिरेको थियो। बल्खुमा तरकारी लोड गरी प्याकेजिङका लागि टीकाथली फर्केको र साँझ गाडीमा सबै तरकारी प्याकेजिङ गरी आउटलेटमा पुगेको थियो।

‘कृषि फ्रेसले पहिलेदेखि नै बल्खु क्षेत्रबाट तरकारी संकलन गरी विभिन्न आउटलेटमा आपूर्ति गर्दै आइरहेको हो,’ स्रोतले भन्यो, ‘बल्खु क्षेत्रबाट खरिद गरिएका तरकारी टीकाथली पु¥याइन्छ, वितरण गर्नुअघि सोही ठाउँमा सफा गरी लेबल टाँसिन्छ।’

उक्त संस्थाले विषादी नमिसाएको कृषिजन्य पदार्थ उत्पादन गरी बजारमा पु¥याउनुपर्नेमा उपभोक्तालाई ठग्ने गरी गलत अभ्यास गरेको स्रोतको भनाइ छ। ‘उक्त संस्था (कृषि फ्रेस) ले बेलाबेलामा विषादी नमिसाएका तरकारीको प्रयोग गर्नुपर्ने अभियान चलाइरहेको छ,’ स्रोतले भन्यो, ‘कृषि संस्थाले सोझै किसानबाट तरकारी खरिद गरी उपभोक्तासमक्ष पु-याउँछ भन्ने भनाइ सत्य होइन।’

कृषि फ्रेसको गाडी आफ्ना आउलेटबाट बिहान साढे ६ देखि ७ बजेसम्म दूध पु-याउँछ र बल्खुमा तरकारी र फलफूल खरिद गर्न ८ बजेतिर पुग्छ। बल्खुबाट तरकारी र फलफूल बोकेको गाडी प्याकेजिङका लागि १–२ बजेसम्म टीकाथली पुग्छ। जहाँ तरकारी र फलफूलको प्याकेजिङ र लेबलिङको काम हुन्छ।

लामो समयसम्म कृषि फ्रेसबाट तरकारी खरिद गरिरहेका एक ग्राहकले नाम उल्लेख नगर्ने सर्तमा उसको (कृषि फ्रेसको) बदमासी थाहा पाएपछि खरिद गर्न छोडेको बताए। कृषि फ्रेसको त्यस्तो बदमासी थाहा पाएपछि केही कर्मचारीले काम छाडेका थिए। पछि कृषि फ्रेसले आर्थिक अनियमितताको आरोप लगाउँदै जागिर छाडेका कर्मचारीलाई कामबाट हटाएको बताएको थियो।

कृषि फ्रेसका सञ्चालक पुष्करराज आचार्यले टीकाथलीमा दुई सय रोपनीको फार्म रहेको उल्लेख गर्दै सोही फार्ममा तरकारी र फलफूल उत्पादन भइरहेको बताए। ‘हामीले बल्खु र अन्य कुनै पनि व्यक्तिसँग तरकारी खरिद गरिरहेका छैनौं,’ उनले भने, ‘विभिन्न जिल्लामा हाम्रो साना किसानको सञ्जाल छ। होलसेल र अन्य व्यापारिक केन्द्रबाट खरिद गर्न आवश्यक छैन।’

पूर्व कर्मचारीले लगाइरहेको आरोपमा कुनै सत्यता नभएको उनको भनाइ छ। नाम बताउन नचाहने कर्मचारीले भने कृषि फ्रेसले जहिलै पनि सहकारीबाट तरकारी खरिद नगरी बल्खुको होलसेलबाट खरिद गरिरहेको दाबी दो-याए।

प्रकाशित: ७ मंसिर २०७५ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App