१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दाहालकाे अभिव्यक्तिबारे सांसदद्वारा जानकारी माग

काठमाडौं– माओवादी लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको सांसदहरूले आलोचना गरेका छन् ।
व्यवस्थापिका संसद्को शून्य र विशेष समयमा आइतबार बोल्दै सांसदहरूले दाहालको अभियव्यक्तिका विषयमा सदनलाई जानकारी गराउनसमेत माग गरे । नेपाली कांग्रेस र एमालेका  सांसदले अनुसन्धान चरणमा रहेको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेकाले तत्काल सदनलाई जानकारी गराउन माग गरेका हुन् । नेपाली कांग्रेसका रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबीच ‘मिलेको भनिएको विषय’ बारे संसद्लाई जानकारी दिन माग गरे ।

‘अनुसन्धानमा रहेको मुद्दा अदालत र अख्तियारसँग व्यक्तिगत रूपमा मिलाउने अधिकार कुन कानुनले प्रधानमन्त्रीलाई दिएको हो, त्यसको जानकारी सदनमा गराउनुपर्छ’


अख्तियार प्रमुख कार्कीको नियुक्तिको विषयमा सर्वोच्च अदालतले आफ्नै पुरानो निर्णय उल्ट्याउँदै मुद्दा पुनरवलोकन हुने आदेश गरेकै दिन अख्तियारले पत्रकार सम्मेलन गरेर लडाकुका लागि वितरण गरिएको रकमको भ्रष्टाचारसम्बन्धी उजुरीमा अनुसन्धान अघि बढेको बताएको थियो । तत्कालीन समय भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नेपाल फर्केपछि पार्टीको बैठकमा लोकमान र आफूबीच कुरा मिलिसकेको अभिव्यक्ति दिएका थिए ।
‘के–के मिलेको हो, सदनलाई जानकारी होस्’ शून्य समयमा बोल्दै खतिवडाले भने, ‘अनुसन्धानमा रहेको मुद्दा अदालत र अख्तियारसँग व्यक्तिगत रूपमा मिलाउने अधिकार कुन कानुनले प्रधानमन्त्रीलाई दिएको हो, त्यसको जानकारी सदनमा गराउनुपर्छ ।’
उनले सानालाई ऐन र ठूलालाई चैन हुने गरेको आरोप प्रधानमन्त्रीले पुष्टि गर्न लागेको आरोप लगाए । ‘५८ करोड भ्रष्टाचारको एन्फा प्रकरणबारे अख्तियारले के गर्दैछ,’ उनले प्रश्न गरे, ‘लेखा समिति र अन्तर्राष्ट्रिय फुटबल महासंघले प्रतिबन्ध लगाउँदा पनि किन अनुसन्धान हुँदैन ?’
खतिवडासँगै नेकपा एमालेका संसद रेवतीरमण भण्डारीले पनि अख्तियारको फाइल हराएको र भेट्टाएको भनिएको विषयमा सदनमा सरकारले जवाफ दिनुपर्ने बताए । किन फाइल सुरक्षित रूपमा राख्न सकिएन र फेरि किन भेटियो भन्ने विषयमा जनताले जानकारी पाउनुपर्ने उनले बताए । ‘कार्कीसँग अनुसन्धान विषयमा प्रधानमन्त्री र उनीनिकट दलको विवाद आउँदैमा मुद्दा मिलाउने भए अन्यले किन भ्रष्टाचार मुद्दा खेप्नुपर्ने हो, त्यसको जवाफ सरकारले दिनुपर्छ,’ उनले भने ।
एमालेका अर्का सांसद पशुपति चौलागाईंले सरकार र संवैधानिक निकायबीच वाकयुद्ध चलेको तर्क गरे । ‘अख्तियार प्रमुखको फाइल सर्वोच्चले पठाइदिनु भन्दा हरायो भन्ने जवाफ आयो र केही दिनमै भेटिएको पनि सुन्न पाइयो,’ उनले भने, ‘अख्तियारले अनुसन्धानको फाइल खोल्छु भन्यो, प्रधानमन्त्रीले पार्टी बैठकमा कार्कीसँग कुरा मिलाएँ भन्नुभयो रे !’
अख्तियार दुरुपयोग गर्नेलाई कारबाही गर्न गठन भएको आयोगले पनि व्यक्ति हेरेर अनुसन्धान गर्ने वा कुरा मिलाउने खेल गर्ने हो भने भ्रष्टाचारी सधैं कानुनी शासनभन्दा माथि हुने तर्क सांसदहरुले गरेका थिए ।
सर्वोच्च अदालतले कार्कीको नियुक्ति विवादसम्बन्धी मुद्दा ब्युँताएपछि नयाँ प्रकरण सुरु भएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको योग्यता र उच्च नैतिक चरित्र नभएकाले अख्तियारमा गरिएको नियुक्ति खारेज हुनुपर्ने दाबी गर्दै दायर गरेको रिटमा सर्वोच्चले फैसला उल्टाएकै दिन अख्तियारले शिविर भ्रष्टाचारबारे अनुसन्धान अगाडि बढाएको जनाएको थियो ।  उक्त प्रकरणमा प्रधानमन्त्रीलगायत उच्च तहका नेता तानिने संकेत पाएपछि दाहालले पार्टी बैठकमा कार्कीसँग कुरा मिलिसकेको जानकारी गराएका थिए ।

प्रकाशित: १० आश्विन २०७३ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App