१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी प्रतिद्वन्दीलाई हराउँदै किम बने इन्टरपोल अध्यक्ष

नवनिर्वाचित इन्टरपोल प्रमुख किम जोङ–याङ। तस्बिर : एजेन्सी

पेरिस (बिबिसी) – रुसी प्रतिद्वन्दीलाई पराजित गर्दै दक्षिण कोरियाका किम जोङ–याङ अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को अध्यक्षमा निर्वाचित भएका छन्।

एक सय ९४ सदस्य राष्ट्र भएको इन्टरपोलको दुबईमा आयोजित वार्षिक सम्मेलनमा अध्यक्षका लागि भएको मतदानमा पहिलो नम्बरमा रहेका रुसी उम्मेदवारलाई आश्चर्यजनक रूपमा पराजित गर्दै किमले जित हासिल गरेका हुन्। रुसी संस्थापन पक्ष वा सरकारका आलोचकहरुलाई पक्राउ वारेन्ट जारी गर्न इन्टरपोल प्रयोग गर्ने गरेको भनी आलोचित भएका रुसी नागरिक एलेक्जेन्डर प्रोकोपचुकलाई दक्षिण कोरियाली नागरिक किमले पराजित गरेको बिबिसीले उल्लेख गरेको छ।

अध्यक्षका लागि भएको मतदानको नतिजालाई रुसका आलोचकले स्वागत गरेका छन्। आफ्ना उम्मेदवारले पराजय भोगेपछि मस्कोले भने आश्यर्च खालको प्रतिक्रिया दिएको बिबिसीले उल्लेख गरेको छ। उसले नचाहिँदो दबाब र हस्तक्षेपका कारण आफ्ना नागरिकले इन्टरपोल अध्यक्षमा पराजय भोग्नुपरेको जिकिर गरेको छ। सेप्टेम्बर महिनामा चीन भ्रमणमा गएका बेला चिनियाँ नागरिकसमेत रहेका तत्कालीन इन्टरपोल अध्यक्ष मेङ हङवेई बेपत्ता भएपछि नयाँ अध्यक्षका लागि निर्वाचन भएको थियो। बेइजिङले भने मेङले घुस लिएको अभियोगमा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको बताएको छ।

किम जोङ–याङ को हुन् ?
दक्षिण कोरिायका पूर्वप्रहरी अधिकारी ७५ वर्षीय किमले कुनैबेला देशको सबैभन्दा बढी जनसंख्या रहेको गेओङगी प्रान्तको प्रहरी प्रमुखका रूपमा समेत काम गरेका थिए। उनी पहिले नै इन्टरपोलको वरिष्ठ उपाध्यक्ष रहिसकेका छन् र तत्कालीन इन्टरपोल अध्यक्ष मेङ बेपत्ता भएदेखि इन्टरपोलको कार्यवहाक अध्यक्षका रूपमा काम गरिरहेका छन्। उनले मेङको बाँकी रहेको कार्यकालको दुई वर्ष इन्टरपोलको अध्यक्षका रूपमा काम गर्नेछन्। इन्टरपोलको अध्यक्षका रूपमा उनको पद धेरै नै आलंकारिक हुने छ। इन्टरपोलको संगठनात्मक ढाँचाअनुसार महासचिव शक्तिशाली हुन्छन् र दैनिक काम कारबाही पनि महासचिवले नै गर्ने गरेका छन्। हाल इन्टरपोलको महासचिवमा जर्गेन स्टक रहेका छन्।

‘हाम्रो विश्वले अहिले नचाहिँदो परिवर्तन र सार्वजनिक सुरक्षामा चुनौती खेपिरहेको छ,’ निर्वाचनमा जित हासिल गरेपछि किमले प्रतिक्रिया दिएका छन्। ‘यी समस्यालाई हल गर्न हामीलाई प्रष्ट योजना चाहिन्छ। हामीले भविष्यका लागि पुल बनाउन जरुरी रहेको छ,’ उनले बताए।

एलेक्जेन्डर प्रोकोपचुक को हुन्?
रुसी आन्तरिक मन्त्रालयमा कैयौं वर्ष काम गरेका एलेक्जेन्डर प्रोकोपचुक रुसी जनरल हुन्।

इन्टरपोलको मस्को ब्युरो प्रमुख हुँदा प्रोकोपचुकले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचकविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ वारेन्ट जारी गरेको आरोप लाग्ने गरेको छ। यद्यपि इन्टरपोलको चारजना उपाध्यक्षमध्ये एक रहेका बेला भने उनीविरुद्ध त्यस्तो खालको कुनै आरोप नलागेको बिबिसीले उल्लेख गरेको छ। अध्यक्षमा पराजित भए पनि प्रोकोपचुक इन्टरपोलको उपाध्यक्षमा भने कायम नै रहने मस्कोले जनाएको छ। उसले अन्तर्राष्ट्रिय प्रहरी समुदायमा इन्टरपोलको अवस्थ मजबुत बनाउन र संगठनको कामलाई थप प्रभावकारी बनाउनका लागि प्रोकोपचुकलाई उपाध्यक्षमा कायम नै राखिने बताएको छ।

प्रकाशित: ६ मंसिर २०७५ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App