१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

खराब मौसमले उडान प्रभावित

काठमाडौं - चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। 

मौसममा आएको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान र अवतरण प्रभावित भएको हो । विशेष गरी आन्तरिक उडान प्रभावित भएपछि यात्रु अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ। 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार जाडो मौसममा भिजिबिलिटी कम भएकाले उडान प्रभावित भएका हुन्। उनका अनुसार यान्त्रिक उडानसँगै भिजिबिलिटी कमजोर देखिएपछि मंगलबार दिउसो १२ बजेसम्म उडान भर्न समस्या भएको थियो। 

‘मंगलबार विहानैदेखि मौसम खराब थियो । आन्तरिक उडानमा स्वाभाविक रुपमा समस्या हुने भयो । फ्लाइट गर्न सकिने अवस्था थिएन,’ विमानस्थलका महाप्रबन्धक श्रेत्रीले भने, ‘देशभरका आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भयो। यसमा अन्य कारणभन्दा पनि मौसमकै समस्या हो।’ 

उनका अनुसार आन्तरिक उडानका लागि दुई बजेपछि मात्रै सहज भएको थियो । मौसम फेरबदल भएपछि मंगलबारका उडानहरु फेरबदल भएका थिए । विहान ८ बजे अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रु उडान नभएपछि करिब ६ घन्टा विमानस्थलमै पर्खिएको उनले बताए । माउन्टेन्ड फ्लाइट पूर्ण रुपमा बन्द जस्तै भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ। 

लुक्लामा काठमाडौंबाट फ्लाइट उडान गर्न सकिने अवस्था नरहेको क्षेत्रीले बताए । महाप्रबन्धक क्षेत्रीले लुक्ला जाने यात्रुलाई रामेछाप विमानस्थलबाट यात्रा गर्न सुझाव दिए । अहिले रामेछाप विमानस्थलबाट लुक्ला उडान भइरहेको छ। काठमाडौंबाट मन्थलीसम्म गाडीमा गएर सहजै लुक्ला जान सक्ने उनको भनाइ थियो। 

‘मौसम खराब भइरहे आन्तरिक उडानमा केही हप्ता समस्या हुन सक्छ,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘यसमा कुनै विकल्प छैन । केही ठाउँमा मौसम सफा भए नाइट फ्लाइट गर्छौं।’  

विशेष गरी चन्द्रगढी, पोखरा, जनकपुर, भैरहवा, नेपालगन्ज, विराटनगर र सिमरा लगायतको आन्तरिक उडान प्रभावित भएको छ । समयमा उडान हुन नसकेपछि यात्रु अलपत्रमा परेका थिए । विमानस्थलका अनुसार भैरहवा, नेपालगन्ज, विराटनर र सिमरामा विभिन्न वायुसेवाले रात्रिकालीन उडान सुरु गरेका छन्।  

काठमाडौंको मौसम सफा हुन नसक्दा नेपालगन्जबाट विहान ८ बजे उड्नु पर्ने जहाजले तीन घन्टापछि मात्रै उडान गरेको नेपालगन्ज विमानस्थलले जनाएको छ। 

‘मौसमको समस्या अन्य ठाउँको जस्तो नभए पनि देशभरि नै समस्या भएपछि नेपालगन्जको उडान तालिकामा पनि फेरबदल आएको छ,’ नागरिकसँग कुरा गर्दै नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले भने, ‘यात्रुहरुमा उडान हुँदैन कि भन्ने त्रास थियो, ढिला भए पनि उडान भएको छ।’

 

प्रकाशित: ५ मंसिर २०७५ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App