१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार पाँच बर्षका लागि हो, हामी छिट्टै परिणाम दिन्छौंः उर्जामन्त्री पुन

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि भएको बताएका छन्। स्क्यापको २८ औं वार्षिक उत्सव कार्यक्रममा मंगलवार बोल्दै मन्त्री पुनले अबको गन्तव्य नै विकास भएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै उनले त्यसलाई सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए।

‘प्रधानमन्त्रीले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होइन, हामीले यो बीचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौं, छिट्टै देखिने गरी अरु काम हुन्छ’, कार्यक्रममा बोल्दै मन्त्री पुनले भने।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरिका नै बदल्ने गरी काम गरिरहेको दावी गरे।

विगतमा सरकार अस्थिर हुँदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पूर्ण ध्यान देशको विकास र समृद्धिका लागि जाने बताए। उनले वर्तमान सरकार पाँच वर्षका लागि चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा समेत उनले राखे।  

‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न, तर हामी सबैले विगतजस्तो अस्थिर सरकार हो काम नगरे पनि हुन्छ भन्ने नसोचौं, यो सरकार स्थायी सरकार हो। हामीले मुलुकका लागि आ–आफ्नो ठाउंबाट योगदान दिनैपर्छ’, मन्त्री पुनले भने।

उनले धेरैले अरुलाई आरोपित मात्र गर्ने तर, आफूलाई प्राप्त जिम्मेवारी पुरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको बताए।

मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग बसाल्न नसकेको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दावी गरे।

कार्यक्रममा उनले उर्जा मन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले देश विकासको चालक शक्ति उर्जा र सिंचाई भएको भन्दै त्यसमा आफूले परिणाम दिने गरी काम गरिरहेको दावी गरे।

मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने विजुली भारत र वङगलादेशलाई बेच्ने जानकारी समेत दिए।

प्रकाशित: ४ मंसिर २०७५ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App