१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बोटले थेग्नै नसक्ने गरी फल्यो सुन्तला

सिन्धुलीको तिनकन्यामा सुन्तला बोटले थेग्नै नसक्ने गरी फलेपछि किसानले लगाएको टेको । तस्बिर: अनिल/नागरिक

सिन्धुली – यसवर्ष सिन्धुलीमा सुन्तलाको उत्पादन राम्रो भएको छ। सुन्तलाको दाना लाग्ने सिजनमा सुन्तलालाई आवश्यक पर्ने अनुकूल मौसम भएका कारण यसवर्ष बोटले थेग्नै नसक्ने गरी सुन्तला फलेको हो। यहाँको तिनकन्या रतनचुरा बाशेश्वर लगायतका साविकका दर्जनौ गाविसमा सुन्तला राम्रो फलेको किसानले बताएका छन्।

गोलञ्जोर गाउँपालिका ४ तिनकन्याका किसान लोकबहादुर आलेले बगैचामा रहेका बोटमा सुन्तलाले थेग्नै नसक्ने गरी फलेपछि बगैचाभरी टेको लगाएर राखेका छन्। अत्याधिक सुन्तला फलेपछि सुन्तलाले हागानै भाच्ने डरले सुन्तलाको बोटमा टेको लगाएका हुन्। मैले बगैचाका धेरै बोटमा टेको लगाएर राखेको छु, उनले नागरिकसँग भने,‘टेको नलगाए बोटले सुन्तला थेग्न सक्दैन। उनका अनुसार एउटै बोटमा १२ देखि १५ सय दानासम्म सुन्तला फलेको छ।

जुनारमा किराको प्रकोप देखिएपनि हालसम्म सुन्तलामा किराको समस्या नभएकाले राम्रो रहेको उनले बताए। जुनारमा किराको समस्या देखिएको छ, मैले त बगैचाको हेरचाह राम्रोसँग गरेकाले धेरै छैन। यहाँ केही किसानको जुनार खाननै अयोग्य जत्तीकै किरा देखियो, उनले भने,‘तर सुन्तलामा भने केही पनि किराको समस्या देखिएको छैन। बजारमुल्य अनुसार जुनारभन्दा सिन्धुलीका बजारमा सुन्तलाको भाउँ राम्रो छ।

प्रतिकिलो ८० देखि १२० रुपैयाँसम्ममा जुनारको कारोबार भइरहँदा सुन्तला भने १ सय ५० रुपैयाँ प्रतिकिलो बजारमा उपभोक्ताले लिने गरेका छन्। किसानबाट जुनार र सुन्तलाको भाउँ उस्तै रुपमा लिएपनि बजारमा व्यापारीले भने सुन्तला धेरै महंगोसँग उपभोक्तालाई बेच्ने गरेका छन्। जुनारमा किराको समस्या देखिएसँगै सुन्तलाको माग बढेको भन्दै व्यापारीले सुन्तलाको भाउँ बढाएका हुन्। बजारमुल्य राम्रो भएसँगै किसानको खेतबारीमा रहेको सुन्तलाले बजार पाएको हो।

विगतको वर्षभन्दा यसवर्ष सुन्तला धेरै फलेकाले टेको लगाउनुपर्ने अवस्था रहेको किसान बताउँछन्। विगतमा धेरै सुन्तला फल्दैन थियो, यसवर्ष झुत्तै सुन्तला फलेको छ, त्यसैले मैले पनि टेको लगाएर राखेको छु, रतनचुराका एक किसानले भने,‘बगैचामै सुन्तला १५ रुपैयाँ दानासम्म पर्छ।’ तिनकन्याकै प्रेम ठकुरीले पनि सुन्तलाको बोटमा टेको लगाएका छन्।’ यसवर्ष सुन्तला धेरै फलेको छ, त्यसैले टेकोनै लगाएर राख्नुपरेको हो। अझै एक महिना जति सुन्तलामा टेको नलगाए बेच्नु अगावै सुन्तलाका रुखको हाँगा भाचिन सक्छ, उनले भने,‘एक महिनापछि सुन्तला टिप्ने समय हुन्छ अनि टिप्न थालेपछि बोटले भार थेग्छ।’

हाल सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्था रहेकाले टेको लगाउनुपर्ने अवस्था आएको उनले जनाए। सिन्धुलीको प्रख्यात जुनार हो, तर जुनार धेरै फल्ने क्षेत्र भएकाले सुन्तला धेरै स्थानमा फल्दैन, त्यसैले सुन्तलाको माग उच्च छ, मुल्य पनि राम्रै आउँछ, राम्रै फलेको छ, उनले भने।

प्रकाशित: ४ मंसिर २०७५ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App