१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकमा जोडिदै जुनीचाँदेका गाउँहरू

जाजरकोट – एक वर्ष अघिसम्म सदरमुकाम खलंगा या सुर्खेत नेपालगन्ज जानुपर्ने भए जुनीचाँदे ४ लुवादहका सिंहबहादुर खड्कालाइ चिन्ताले सताउने गथ्र्याे। गाउँबाट २ दिन पैदल हिँडेर खलंगा पुग्नुपर्ने र सुर्खेत नेपालगन्ज जानका लागि पनि त्यतिकै मात्रामा पैदल हिँडेर सडक भेटाउनुपर्ने बाध्यता भएका कारण खड्कालाई गाउँ छोड्ने काम आइपरे निकै दिक्क लाग्थ्यो। तर अहिले आफ्नै घरको आगनबाट गाडी चढेर सदरमुकाम खलंगा र  सुर्खेत नेपालगन्ज जाने दिन आउँदा मन रमाउने गरेको खड्का बताउछन्।

गाउँमा सडक पुगेपछि गाडी चढेर यात्रा गर्न पाएपछि उनको खुसीको सिमा छैन्। सिंहबहादुर मात्र होइनन्  सोही गाउँकी जयन्ता खड्का पनि एक–दुई वर्षअघि लामो पैदल हिँडेर सहरतिर जानु पर्दाको सास्ती सम्झन्छन्। कति दुःख हुन्थ्यो यत्रा डाँडाकाँडा र अप्ठेरो बाटोको यात्रा गर्नुपर्ने तर अहिले त घरैबाट गाडी चढेर सरर गइन्छ,उनले भनिन्। सिंहबहादुर र जयन्ता मात्र होइन जिल्लाको सबैभन्दा विकट जुनीचाँदे गाउँपालिकाका स्थानीयहरू गाउँ गाउँमा सडक सञ्जाल पुग्न थालेपछि यात्रामा ठूलो राहत महसुस गर्न थालेका छन्।  दुर्गम एवं  विकट गाउँहरू सडकले जोडिन थालेपछि स्थानीयमा सहज यात्राको सुविधा मात्र होइन व्यापार व्यवसायमा समेत उत्साह थपिन थालेको स्थानीय गणेशबहादुर खड्काले बताए।

दुई–तीन दिनको पैदल हिँडेर सदरमुकाम खलंगा र नेपालगन्ज सुर्खेत जाने सडकसम्म पुग्न बाध्य जुनीचाँदे गाउपालिकाका सर्वसाधाणहरू अहिले भने गाडी चढेर घर आँगनमै पुग्न सक्ने भएको उनले बताए। भौगोलिक विकटता र आर्थिक विपन्नता धेरै भएको  जुनीचाँदेका बस्तीहरु क्रमश सडकले जोडिदै गएपछि स्थानीय सर्वसाधारणले पनि परिवर्तनको अनुभूति गर्न थालेको उनले बताए।  विकासमा विकटता मात्र होइन स्थानीय कृषी उत्पादनमा राम्रो सम्भावना बोकेको जुनीचाँदे गाउँपालिकाका स्थानीयहरू सडकबाट आशावादी हुँदै गएका छन्।

टिमुर, ओखर, कोदो र अलैचीको उर्वरभूमि रहेको जुनीचाँदेका बस्तीहरूमा सडकको पहुँच पुगेपछि स्थानीय उत्पादनतर्फ आकर्षण बढ्न थालेको स्थानीय बताउँछन्। करोडौं मूल्यको टिमुर,ओखर र अलैची फल्ने जुनीचाँदेका ग्रामीण बस्ती र खेतबारीमा सडक सञ्जालले ठूलो सहयोग गर्ने सम्भावना बढेको उनीहरूको आशा छ।  जिल्लाको सबैभन्दा दूर्गम र विकट गाउँपालिकाको रुपमा रहेको जुनीचाँदेका विकट र ग्रामीण बस्तीमा सडक पहुँच पुगेपछि सर्वसाधारणहरू कृषि उत्पादन र व्यवसायतर्फ उन्मुख भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले बताए। विकट बस्तीहरू सदरमुकाम खलंगासँग मात्र नभएर जुम्ला र सुर्खेत नेपालगन्जसंग समेत जोडिदै गएका छन्, अध्यक्ष केसीले  भने। 

जुनीचाँदे गाउँपालिकामा मात्र ठूलो महत्वका तीनवटा मुल सडकहरू निर्माण भइरहेको गाउँपालिकाका अध्यक्ष केसीले जानकारी दिए। उनले नरमरा लुवादह कोर्तांग सडक, पन्चला दह हुँदै जुनी सडक, लामतरा गर्खाकोट हुँदै बदी सडक नामका ति सडकहरू निर्माणको तिव्र चरणमा रहेको र सडक पहुँचपछि गाउँहरूमा  टिमुर,अलैची,ओखर र कोदोको व्यावसायिक खेतीतर्फ सर्वसाधारण आकर्षीत भएको बताए।

गाउँपालिका भित्रका सडक निर्माणको लागि केन्द्रिय सडक आयोजनाबाट कुनै सहयोग नभएको र स्थानीय सरकारको बजेटबाटै गाउँ बस्तीहरूमा सडक बिस्तारको काम भइरहेको अध्यक्ष केसीले बताए। उनले गाउँपालिकाका विभिन्न स्थानमा रहेका खोलाहरूमा मोटरेवल पुल बनाउन आफूले  विभिन्न निकायमा  पहल गरिरहेको बताए। 

प्रकाशित: ४ मंसिर २०७५ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App