१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जिपमा सवार तीनको मृत्यु, पूर्वगृहमन्त्री घिमिरेसहित तीन बेपत्ता

चितवन– पूर्वगृहमन्त्री माधव घिमिरेसहित सात जना चढेको जिप आइतबार त्रिशूलीमा खस्दा तीन जनाको निधन भएको छ । घटनामा पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार चालकको  जीवितै उद्धार गरिएको छ ।

पोखराबाट काठमाडौं जाँदै गरेको बा९च १५३१ नम्बरको उक्त जिप पृथ्वीराजमार्गको मुग्लिननजिक दारेचोक–३ मा सडकबाट त्रिशूलीमा खसेको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार परिवारका सदस्यसहित मुक्तिनाथ दर्शनबाट फर्केका घिमिरे पोखरा हुँदै काठमाडौं फर्कंदै थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वसन्त कुँवरका अनुसार दुर्घटनामा घिमिरेकी आमा चैतन्यकुमारी घिमिरे, घिमिरेका अंगरक्षक सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) रामचन्द्र कार्की र नातेदार नारायणप्रसाद काफ्लेको निधन भएको छ ।

गम्भीर अवस्थामा रहेका चालक सशस्त्र प्रहरी हवल्दार विष्णु राईको भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार जारी छ ।

इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार सडकबाट सय मिटर तल नदीमा खसेको जिप पनि भेटिएको छैन ।

हराइरहेका घिमिरेद्वय मोहन र प्रकाश पूर्वगृहमन्त्रीकै भाइ रहेको आफन्तलाई उद्धृत गर्दै प्रहरी निरीक्षक हमालले जनाए ।

घिमिरे तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारका गृहमन्त्री हुन् । यसअघि भदौ १० मा चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको चण्डीभञ्ज्याङ गाविसको कालिखोलामा यात्रुबस सडकबाट लगभग २ सय मिटर तल त्रिशूली नदीमा खस्दा २२ को निधन भएको थियो । आइतबार घिमिरेको गाडी खसेको ठाउँबाटै तीन साताअघि एउटा मालबाहक ट्रक पनि खसेको थियो ।

उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमाल दुर्घटनाको कारणबारे अहिल्यै केही भन्न नसकिने बताउँछन् ।

दिनहुँ १० हजारभन्दा धेरै गाडी राजधानी काठमाडौं ओहरदोहर गर्ने उक्त सडक दुर्घटनाका दृष्टिले जोखिममा छ ।


 

प्रकाशित: १० आश्विन २०७३ ००:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App