१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चाँगुनारायण कलेज विवाद संसद्मा

काठमाडौं - भक्तपुरस्थित चाँगुनारायण इन्जिनियरिङ कलेज सञ्चालनसम्बन्धी विवाद संसद्मा पुगेको छ । २२ सय विद्यार्थी रहेको कलेजमा विवादका कारण पठनपाठन प्रभावित भएपछि संसदीय समितिले यसबारे सोमबार छलफल गरेको हो । सातजना संस्थापक रहेको कलेजमा संस्थापक विभाजित भएपछि अहिले दुईवटा सञ्चालक समिति बनेका छन् ।दुई वर्षदेखि दुईजना संस्थापक एउटा समूह र ५ जना अर्को समूहमा विभाजित भएका छन् । दुवै सञ्चालक समितिलाई सोमबार शिक्षा समितिले छलफलका लागि बोलाएको थियो।

एउटा समूहले कलेज सामाजिक शैक्षिक संस्था रहेको बताएको छन भने अर्को समूहले कलेज निजी भएको दाबी गर्दै आएको छ । दुवैको दाबी सुनेपछि समितिले थप अध्ययन गर्ने भएको छ । तत्कालका लागि विद्यार्थीको भविष्य बिग्रन नदिन शिक्षा मन्त्रालयलाई ‘एक्सन’ लिन समितिले निर्देशन गरेको समिति सभापति जयपुरी घर्तीले बताइन् । उनले भनिन्, ‘तत्काल विद्यार्थीको भविष्यप्रति ध्यान दिन निर्देशन गरे पनि यस कलेजको विवादबारे समितिले थप अध्ययन गर्नेछ।’

लम्बोदर न्यौपाने कार्यकारी अध्यक्ष भएको समूहले कलेज निजी भएको दाबी गरेको छ भने डा. दीपक भट्टराई कार्यवाहक अध्यक्ष भएको समूहले सामाजिक शैक्षिक संस्था भएको दाबी गरेको छ । न्यौपानेलाई २० करोड हिनामिना गरेको विषयमा स्पष्ट नगरेपछि कार्यकारी अध्यक्षबाट हटाइएको सञ्चालक समितिका सदस्य सोमप्रसाद मिश्रले जानकारी दिए । उनको ठाउँमा कार्यवाहक अध्यक्ष डा. भट्टराईलाई राखिएको छ । अहिले कलेजमा भट्टराई समूहको उपस्थिति भई पठनपाठन गराए पनि विवादबाट बैंक खाता रोक्का भएका कारण तलब खुवाउन समस्या परेको छ । सञ्चालक समितिका सदस्य हरिप्रसाद पाण्डेले भने, ‘५ जना संस्थापक कलेजमा आउँदैनन्, खाता बन्द छन्, खातामा ३२ करोड रुपैयाँ छ । तर तलब खुवाउन समस्या परेको छ ।’ कलेजको झन्डै डेढ अर्बको सम्पत्ति रहेको पनि उनले बताए।

प्रकाशित: ४ मंसिर २०७५ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App