१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निकुञ्जमा भटाभट छावा जन्मिए

तस्बिर : एजेन्सी

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ। साेमबार बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ। यस आर्थिक वर्ष सुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन्। पाँच ढोई गर्भिणी रहेका छन्। तिनीहरूले पनि यसै आर्थिक वर्षमा बच्चा जन्माउने अनुमान गरिएको छ।

हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका प्रमुख बुधन चौधरीका अनुसार आज बिहान ४ः३२ मिनेट जाँदा कसरा हात्तीसारमा रहेको तमरकलीले भाले छावा जन्माएको हो। गर्भिणी भएको जस्तो नदेखिएको भए पनि अकस्मात् बच्चा जन्माएको तमरकलीका दरोगा (स्याहारकर्ता) राजेन्द्र पनवाले बताए।

यसै वर्षको असोज २३ गते पुजाकलीले पोथी र कात्तिक १६ गते गणेशकलीले भाले छावा खोरसोरमा जन्माएका छन्। प्रमुख चौधरीका अनुसार निकुञ्जको सुखीभार पोष्टमा रहेको तीर्थमानकली र टाइगरटप्स पोष्टमा रहेको गण्डकीकली गर्भिणी छन्। प्रजनन केन्द्रमा रहेका लोकतन्त्रकली, कर्णालीकली र चितवनकली पनि गर्भिणी रहेको चौधरीले बताए। 

गत आवमा चितवनकलीले सिमसिमकली, कर्णालीकलीले अम्बेकली, पुजाकलीले खोरसोरगञ्ज र गणेशकलीले कृष्णचन्द्रगञ्ज गरी चार बच्चा जन्माएका थिए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले पछिल्ला वर्षमा प्रजनन राम्रो रहेको बताए। व्यवस्थापनमा सुधार, आहारमा सुधार, जङ्गली भालेको आगमन, स्वास्थ्योपचारको सुविधा, प्रजनन स्वास्थ्यमा सुधार लगायतका कारण प्रजनन राम्रो भएको उनले बताए।

साेमबार जन्मिएको सहित निकुञ्जको दरबन्दीमा हात्तीको सङ्ख्या ५६ पुगेको छ। गर्भिणी भएपछि २२ देखि २४ महीनामा हात्तीले बच्चा जन्माउँछ। कोशीटप्पु राष्ट्रिय निकुञ्जबाट ल्याइएका पाँच हात्ती पनि चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्। निकुञ्जको हात्ती प्रजनन एवं तालीम केन्द्र, सौराहा र कसराको हात्तीसार एवं पोष्टमा हात्ती रहेका छन्। विसं २०४२ मा भारत सरकारले दिएको १६ वटा हात्ती ल्याएर सुरु गरिएको प्रजनन केन्द्रमा हालसम्म २७ वटा हात्तीका बच्चा जन्मिएका छन्। रासस

प्रकाशित: ३ मंसिर २०७५ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App