१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

धान खरिद गर्न संस्थानमा सधैं झमेला

नेपालगन्जस्थित नेपाल खाद्य संस्थान। तस्बिर : नागरिक

नेपालगन्ज - किसानलाई यतिबेला धान बिक्री गर्ने चटारो छ । यही मौका छोपेर व्यापारीले सस्तो मूल्यमा धान खरिद गरिरहेका छन्। व्यापारीको भन्दा खाद्य संस्थानले किसानलाई केही महंगो मूल्य दिन्छ । तर, संस्थानले धान खरिद गर्न अहिलेसम्म कुनै सुरसार गरेको छैन । किसानहरु दिनहुँ संस्थानको कार्यालयमा आएर फर्किने क्रम चलिरहेको छ।

‘धान स्याहार गरेर तयार भइसकेको छ, बजारमा राम्रो मूल्य नपाउँदा बिक्री गर्न सकिएको छैन,’ गनापुरका किसान राम नारायण कुर्मीले नागरिकसँग भने, ‘खाद्य संस्थानले अलिकति महंगोमा खरिद गथ्र्यो, अहिलेसम्म कुनै सुरसार छैन ।’ चाडपर्व मनाउन गरेको ऋण सापटी तिर्न चाडै धान बिक्री गर्नुपर्ने बाध्यता भएको उनले सुनाए।

खाद्य संस्थानले हरेक वर्ष ढिलो गरी खरिद गर्दा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्ने गरेका छन् । संस्थानले विगतका वर्षझै यस वर्ष पनि धान खरिदको प्रक्रिया ढिलो गर्ने संकेत देखिएको छ । संस्थान नेपालगन्जका प्रमुख हरिप्रसाद जोशीले किसानहरु दिनहुँ सोधपुछ गर्न कार्यालयमा आउने गरेको बताए । संस्थानको केन्द्रीय कार्यालयबाट अहिलेसम्म धान खरिदका लागि कुनै आदेश नआएको उनले जनाए । ‘आदेश आएपछि मात्र जिल्लामा धानको मूल्य निर्धारण गरिन्छ, त्यसपछि खरिदको प्रक्रिया सुरु हुन्छ,’ जोशीले भने।

कात्तिकको अन्तिमसम्म संस्थानले धान खरिद गर्ने निर्णय गरे पनि मूल्य निर्धारण लगायत प्रक्रिया अपनाउँदासम्म मंसिरको दोस्रो साता नाघ्ने कर्मचारीको अनुमान छ । धान खरिद गर्ने विषयमा केन्द्रमै झमेला रहेको कर्मचारी स्रोतले जनाएको छ । संस्थानका केन्द्रीय प्रवक्ता शंकर सापकोटाले अबको केही दिनमै धान खरिद गर्नेबारे निर्णय गरिने बताए । ‘विगतका वर्षझै यस वर्ष पनि धान खरिदको काम हुन्छ,’ उनले भने, ‘संस्थानले यस विषयमा चाडै नै निर्णय गर्नेछ।’

निर्णय लगत्तै जिल्ला–जिल्लाबाट धान खरिदको काम सुरु हुने प्रवक्ता सापकोटाले जनाए । गत वर्ष मंसिर ११ गतेको बैठकले मूल्य निर्धारण गरेपछि धान खरिदको काम सुरु गरिएको थियो । संस्थानले धान खरिद गर्न सुरु गर्दा अधिकांश किसानले व्यापारीलाई धान बिक्री गरिसकेका थिए । संस्थानले २० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएकामा १३ हजार एक सय ८.३४ क्विन्टल मात्र धान खरिद गरेको थियो । अघिल्ला वर्ष पनि संस्थानले धान खरिदमा ढिलाइ गरेको थियो । संस्थानले यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ।

किसानका अनुसार अहिले व्यापारीले प्रतिक्विन्टल १७ सयदेखि १९ सय रूपैयाँसम्म धान खरिद गरिरहेका छन् । खरिद प्रक्रिया ढिलो सुरु हुँदा यस वर्ष पनि लक्ष्यअनुसार धान खरिद गर्न कठिन हुने देखिएको छ । गत वर्ष संस्थानले प्रतिक्विन्टल दुई हजार ३० रूपैयाँका दरले मोटा धान मात्र खरिद गरेको थियो । अघिल्लो वर्ष २०७३÷७४ मा मोटा धान प्रतिक्विन्टल दुई हजार ५० र मध्यम धान दुई हजार एक सय ५० रुपैयाँमा खरिद गरेको थियो । यस वर्ष संस्थानले मूल्य बढाएर समयमै धान खरिद गर्नुपर्ने किसानको माग छ।

प्रकाशित: ३ मंसिर २०७५ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App