१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरा विमानस्थलमा ३ बजेपछि उडान बन्द

पोखरा- पोखरा विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ। मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछिका सबै उडान र अवतरण पूर्ण रुपमा बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ। यस अवधिमा दिउँसो ३ बजे बन्द हुने विमानस्थल भोलिपल्ट बिहान ६ बजे मात्र संचालनमा आउनेछ। मौसम सामान्य रहेको अवस्थामा अहिले पोखरा विमानस्थलबाट बिहान साढे ६ बजेदेखि बेलुकी पाँचबजेसम्म उडान हुँदै आएकोछ।

विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाँइका अनुसार धानवमार्ग, ट्याक्सी–वे, एप्रोन सहित धावनमार्ग वरिपरि रहेको कालोपत्रे सडकको पनि मर्मतसम्भार गर्न थालिएको छ। गुरागाँइका अनुसार धावनमार्ग सहित विमानस्थलभित्रको सबै कालोपत्रे खण्ड मर्मत हुनेछ। त्यसका लागि अलकत्रा जस्तै पदार्थले कालोपत्रेको सबै खण्ड पोतिनेछ। यो प्रविधिलाई स्लरी सिल भनिन्छ। यो प्रविधिबाट धावनमार्ग मर्मत गर्दा उप्किएको साना आकारको गिट्टि पूर्ण रुपमा टाँसिनेछन्।

दिउँसो ३ बजेपछि उडान र अवतरण रोकिने भएकोले विमानस्थलले सबै हवाई कम्पनिका लागि ‘नोटाम’ जारी गरेको छ। नोटाम जारी गरेपछि रोकिएको समयमा कुनैपनि जहाज पोखरा आउन पाउने छैनन्। पर्यटकीय सिजन भएकोले अहिले पोखराबाट दैनिक ४० हाराहारीमा ठूला आकारका जहाजको उडान हुँदै आएको छ। यहाँबाट तारा, समिट, यती, बुद्ध, नेपाल एयरलाइन्स र सिम्रिकका जहाजको नियमित उडान हुन्छ। ती हवाई कम्पनिका जहाजले पोखराबाट जोमसोम, काठमाडौं, भरतपुर, भैरहवा र पर्वतीय उडान गर्दै आएका छन्। ती बाहेक पोखराको आकाशमा पर्यटकलाई सयर गराउने हेलिकोप्टर, अल्ट्रालाईट र ग्योरोकोप्टर (हेलिकोप्टर जस्तै) को पनि उडान हुन्छ। धावनमार्ग मर्मत गर्दा ती उडान पनि रोकिनेछन्। हेलिकोप्टरको उडानमा भने खासै समस्या नहुने गुरागाँइले बताए।

प्रकाशित: २ मंसिर २०७५ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App