१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘जनताले सुशासन र भ्रष्टाचारीलाई कारबाही खोजे, सरकारले काम गर्न सकेन’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नी प्रसाद सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन्। उनले भने, ‘यो सरकार निरन्तरताको लागिमात्रै होइन। प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो। तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट देखिएन।’

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सापकोटाले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरी काम गर्न नसकेको स्वीकार गरे। उनले भने, ‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ। काममा ब्रेक–थु हुनुपर्छ।’

सापकोटाले पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको सुनाए। उनले थपे, ‘अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समिक्षा हुन्छ। पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ। लगभग ८० प्रतिशत काम सकिएको छ।’

वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको पनि सापकोटाले सुनाए। ‘तर पनि यो सरकार विगतकै जस्तो निरन्तरताको लागि भयो’, उनले भने, ‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए। तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन्।’

यद्यपी सरकार रणनीतिक महत्वका काममा पूर्ण सफल भएको उनको दाबी छ। उनले सिण्डिकेट अन्त्य भए पनि मन्त्रालयहरुबीच समन्वय नहुँदा व्यवहारमा जनताले अनुभूति गर्न नपाएको स्पष्ट पारे। उनले भने, ‘मन्त्रीहरुबीच टिम–स्पिरिट देखिएन। प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएन। अब समिक्षा गर्ने बेला भएको छ।’

उनले जनताले सरकारबाट भाषण नभएर ‘एक्शन’ खोजेको पनि बताए । उनले भने, ‘जनतालाई सपना देखाउने काम पूरा भैसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ। अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समिक्षा हुन्छ।’

सरकारले रणनीतिक महत्वको काम गरेपनि जनतालाई सेवा दिने काममा ढिलाई भएको उनको गुनासो छ। उनले भने, ‘अब सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरुको ‘सेरिज’ बनाउनुपर्छ।’ 

सरकारका काम कारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनालाई सुझावका रुपमा लिनुपर्ने उनले सुझाए। उनले थपे, ‘जनताका सकारात्मक आलोचना र गुनासाहरुलाई सरकारले एक/एक रुपमा सम्बोधन गर्नुपर्छ।’

जनताले यही सरकारबाट ठूलो आशा गरेकाले कम्युनिष्ट सरकारको विकल्प नभएको उनको भनाई छ। 

प्रकाशित: २ मंसिर २०७५ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App