१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

मूल्य विघटन र विदेश मोह

बन्द हुन्छ भन्दाभन्दै अमरिकी डिभी फेरि खुल्यो । उसो त हरेक साल यो साल नै अन्तिम हो, अर्को साल  खुल्दैन भन्ने हल्ला पनि चल्ने गर्छ । आप्रवासीप्रति निकै अनुदार मानिएका ट्रम्प राष्ट्रपतीय चुनावमा उठेदेखि नै डिभी बन्द हुने भन्ने कुराहरू आएको थियो।

अघिल्लो साल राष्ट्रपति ट्रम्पले ‘डिभी परेर अमेरिका आउनेहरू खराब–काम नलाग्नेहरू हुन्’ भन्ने टिप्पणी गरेका थिए । त्यसले डिभीबाट विभिन्न देशबाट अमेरिका गएकाहरूमा आक्रोश, हीनताबोध र डर पैदा गर्यो । डिभीको प्रभाव कति छ भन्ने ठ्याक्कै यकिनका साथ भन्न नसके पनि तलका घटनाक्रमले भने डिभीको प्रभाव बलियो रहेको देखाउँछ।

घटना १
एक मध्यम स्तरीय जोडी बिहे गरेको चार सालपछि अब व्यवस्थित हुनुपर्यो भन्दै बच्चा पाउने प्लान गर्छन् । ख्याल ख्यालमै श्रीमान्ले डिभी भर्छन्  । पर्यो भने पनि नजाने भन्ने अग्रिम समझदारी हुन्छ दुवैबीच । पेटमा बच्चा हुर्किंदै गर्दा अचानक डिभीको रिजल्ट आउँछ । श्रीमान्लाइ डिभी लट्री पर्छ । अब भने श्रीमतीले जसरी पनि जानैपर्ने ढिपी गर्छिन् । श्रीमान्ले फिटिक्कै मान्दैनन् । अमेरिका गयो भने तुरुन्तै दुवै जना स्थापित हुन समय लाग्ने र एउटाको कमाइले दुवै जना बाँच्न गाह्रो पनि हुने अनि आमा एक्लैलाई बच्चा हुर्काउन गाह्रो हुने कुराहरू हुन्छन् । बरु यहीँ भयो भने बच्चा हेरिदिने मान्छे हुन्छन् भन्ने कुरा हुन्छ।

यस्तै अनेकानेक उपाय र तर्क गर्दागर्दै डिभीको अन्तर्वार्ता पनि फिक्स हुन्छ, र गर्भपतन गर्न मिल्ने हप्ता पनि नजिक नजिक आउँछ । अन्ततः त्यो जोडी बच्चा त फेरि अर्को पटक पाउन सकिन्छ, डिभी त भाग्यले पाएको हो पटक पटक पर्दैन, अमेरिकामै बच्चा पायो भने उतैको बर्थ सटिर्फिकेट पाउँछ भन्ने सम्भावनाको समेत ख्याल गर्दै पेटमा भएको बच्चा फालेर डिभीमा अमेरिका पुग्छन् । जब मैले यो घटनाबारे सम्बन्धित मान्छेको आफन्तीबाट सुनेँ, मेरो आंग सिरिंग भयो  । सोचेँ, अहो त्यस्तो सबै कुरा ठीक चलिरहेको जोडी, आफ्नो पहिलो सन्तान नै फाल्न कसरी सकेका ? बच्चा भन्दा डिभी किन प्यारो भएको भन्ने सोच्न थालेँ।

घटना २
एक युवक आफ्नी प्रेमिकासँग बिहे गर्छ । प्रेमिकाले डिभी भरेकी रैछिन् । उनलाई डिभी पर्यो  । उनी माइती समेतको सहयोगमा जसरी पनि अमेरिका जाने भन्न थालिन् । केटा भने आफ्नी प्यारालाइसिस भएकी आमालाई छोडेर नजाम् भन्छ । तर केटी भने डिभोर्स गरेरै भए पनि जाने भन्न थालेपछि युवक केटीको ढिपीसामु हार्छ र नयाँ प्रेमिका श्रीमतीको अड्डीमा आफ्नी प्यारालाइसिस भएकी आमालाई वृद्धाश्रममा राखेर अमेरिका जान्छ।

घटना ३
एकजना केटालाई डिभी पर्छ । मान्छे विदेश पठाउने कन्सल्टेन्सीले थाहा पाउँछ । कन्सल्टेन्सीले एउटा नक्कली केटी बिहे गरेर जानुस्, तपाईंलाई ५–६ लाख आउँछ भन्ने लोध देखाउँछ । कन्सल्टेन्सीको सहयोगमा कागजात तयार हुन्छ र बिहे गरेको प्रमाणसहित निवेदन दिन्छन् । कन्सल्टेन्सीको सुझावअनुसार उनले बिहेको फोटो र परिवारजस्तो देखिने केही पोस्ट गर्छन् । त्यो पोस्ट डिभी परेको केटाको श्रीमतीले देख्छिन्, झगडा गर्छिन्।

साँचो कुरा बताउँदा पनि उनको चित्त बुझ्दैन र एम्बेसीमा बच्चासहित आफू सक्कली श्रीमती बहेको दाबी गर्न पुग्छिन् । एम्बेसीले पहिल्यै पेस गरेको कागजात जाँच्न कोर्ट म्यारिज अफिसमा पठाउँछ  । कोर्ट म्यारिजले त्यो विवाह दर्ता नभएको र नक्कली भएको बताएपछि डिभी परेर अमेरिका जान लागेको केटा र नक्कली बिहे गरेर अमेरिका जान लागेकी केटी दुवै अहिले किर्ते अपराधमा मुद्दा झेलिरहका छन् । यी त भए, केही प्रतिनिधि समस्या । यी समस्या बढ्दो क्रममा छन् । यी तीनवटै केसमा डिभीसँग मानवीय मूल्य र मान्यताहरू साटिएको प्रस्ट छ।

प्रकाशित: २ मंसिर २०७५ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App