१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चार वर्षमा कफी निर्यात डेढ सय प्रतिशतले बढ्यो

काठमाडौं – अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा कफी निर्यात भने बर्सेनि बढ्दै गएको छ । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएपछि उत्पादन र निर्यात बढेको हो।

पछिल्ला चार वर्षमा कफी निर्यात डेढ सय प्रतिशतले बढेको छ । आर्थिक वर्ष ०७१–७२ मा ६३.८० मेट्रिक टन ग्रिन बिन कफी निर्यात भएकोमा आव ०७४–७५ मा आइपुग्दा निर्यात एक सय ६३.३८ मेट्रिक टन पुगेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । यो वृद्धि एक सय ५८ प्रतिशत हो।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमका अनुसार हरेक वर्ष उत्पादन वृद्धिसँगै निर्यात बढेको छ । ‘नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएकाले निर्यात बढिरहेको छ,’ गौतमले भने, ‘उत्पादन वृद्धि गर्न सके कफी विदेशी मुद्रा आर्जन गर्ने गतिलो माध्यम बन्न सक्छ।’

विगतमा सोखको रूपमा उत्पादन गर्ने कफी अहिले किसानको मुख्य आयस्रोत भएको गौतमले बताए । ‘ग्रामीण क्षेत्रका किसानका लागि आयआर्जनको भरपर्दो स्रोत बनेको छ,’ उनले भने, ‘उत्पादन बढाउन सके कफीले मुलुकको आर्थिक समृद्धिको यात्रामा सघाउन सक्छ।’

चार वर्षको अवधिमा साढे दुई करोड रुपैयाँबाट बढेर ६ करोड ५८ लाख रुपैयाँको कफी निर्यात भएको छ । पछिल्लो एक वर्षको अवधिमा पनि ६० टन धेरै कफी विदेश निर्यात भएको हो । आर्थिक वर्ष ०७३÷७४ को तुलनामा आव ०७४÷७५ मा डेढ करोड रुपैयाँ बढीको कफी विदेशी बजारमा गएको हो।

आव ०७३÷७४ मा पाँच करोड चार लाख रुपैयाँको ९९.३६ मेट्रिक टन कफी निर्यात भएकोमा आव ०७४÷७५ मा ६ करोड ५८ लाख रुपैयाँको एक सय ३६ मेट्रिक टन निर्यात भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । निर्यातको तुलनामा आयात पनि छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ४७ टन धेरै कफी फलेको बोर्डले जनाएको छ । आव ०७३÷७४ मा चार सय ६६ मेट्रिक टन उत्पादन भएकोमा ०७४÷७५ पाँच सय १३  मेट्रिक टन उत्पादन भएको थियो।

कफीको प्रवद्र्धन गर्न बोर्डले हरेक वर्ष राष्ट्रिय कफी दिवस मनाउँदै आएको छ । बोर्डले ‘प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको बृहत् अभियानमा जुटौं’ नारासाथ १४औं राष्ट्रिय कफी दिवस मनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाका कफी सम्भावित क्षेत्रलाई सुपर जोनको रूपमा विकास गरी व्यावसायिकता बढाउने प्रयास गरिएको बोर्डका निर्देशक गौतमले बताए।

मुलुकमा अहिले  २६ सय ५० हेक्टर क्षेत्रफलमा कफी खेती छ । आठ सयदेखि १६ सय मिटरको उचाइमा कफी फल्छ । बिक्रम सम्बत १९९५ मा पश्चिम गुल्मीको आँपचौरमा सुरु भएको थियो । अहिले मध्यपहाडी गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ्ग, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङ लगायत २३ जिल्लामा कफी खेती हुँदै आएको छ।

छहारीमुनि कफी रोपेर उत्पादन लिने भएकोले पाखो क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ । लगाएको करिब दुई वर्षबाट कफीको बोटले उत्पादन दिन थाल्छ । गत वर्ष चार सय ६३ टन ग्रिन बिन कफी उत्पादन भएको  छ । सरकारले कफी उत्पादन बढाउन ध्यान नदिएको किसानको गुनासो छ । वार्षिक रुपमा उत्पादन वृद्धि गर्न कफी लगाउने क्षेत्रफल विस्तारसँगै किसानलाई अनुदान, तालिमको व्यवस्था, अर्गानिक मल, सरकारी ऐलानी जग्गा भाडामा दिने व्यवस्था हुनुपर्ने नेपाल कफी व्यवसायी महासंघका पूर्वअध्यक्ष श्याम भण्डारीले बताए । ‘कफीमा व्यवसायीकरण हुनु आवश्यक छ,’ भण्डारीले भने, ‘ऐलानी सरकारी जग्गा भाडामा दिएर खेती गर्ने व्यवस्था मिलाउनु पर्छ।’

कफीको मूल्य बढ्यो
सरकारले यस वर्ष कफीको मूल्य वृद्धि गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ‘ए’ ग्रेडको फ्रेस चेरीको मूल्य किलोमा दुई रुपैयाँ र ‘ए’ ग्रेडको पार्चमेन्ट किलोमा १० रुपैयाँ मूल्य बढाएको हो।

फ्रेस चेरी ८३ रुपैयाँ किलोबाट बढाएर ८५ रुपैयाँ र पार्चमेन्ट प्रतिकिलो चार सय १५ बाट बढाएर चार सय २५ रुपैयाँ पु¥याएको बोर्डका योजना अधिकृत गौरब लुइँटेलले बताए । ‘मंसिर १ गतेदेखि लागू हुने गरी मूल्य वृद्धि गरेका छौं,’ लुइँटेलले भने, ‘भौगोलिक सूचक प्रणालीलाई आधार मानेर मूल्य निर्धारण गरेका हौं।’

बोर्डले कफीको गुणस्तरका आधारमा ग्रेड विभाजन गरेको छ । फ्रेस चेरी ‘बी’ ग्रेडको मूल्य ८० रुपपैयाँ, पार्चमेन्ट ग्रेड ‘बी’को प्रतिकेजी चार सय १० रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, ड्राइचेरी कफीको मूल्य भने यथावत छ । ड्राइचेरी कफी ग्रेड ‘ए’ प्रतिकेजी एक सय ४०, ग्रेड ‘बी’ कफी प्रतिकेजी एक सय र ग्रेड ‘सी’ प्रतिकेजी ४० रुपैयाँ छ ।सरकारले मूल्य वृद्धि गरेकोमा कफी किसानले खुसी व्यक्त गरेका छन् । विदेशी बजारमा निर्यात हुने अर्गानिक कफी बोर्डले तोकेको मूल्यभन्दा धेरैमा बिक्री हुने गरेको छ । पार्चमेन्ट कफी किलोको ६ सयदेखि आठ सय रुपैयाँमा बिक्री हुन्छ।

प्रकाशित: २ मंसिर २०७५ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App