१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एक दिन विद्यालय नआए १० रुपैयाँ

ओखलढुंगा  – सुशील श्रेष्ठ कक्षा ८ का विद्यार्थी हुन् । घरको कुनै काम विशेषले विद्यालय जान नपाउने दिन आयो भने उनलाई निकै ठूलो समस्या आए जस्तो लाग्छ । जिल्लाको मानेभञ्ज्यांग गाउँपालिका–९ माधवपुरस्थित विद्या कालिकादेवी आधारभूत विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई अहिले यस्तै महसुस हुन्छ।

कारण हो– एक दिन विद्यालय नगए भोलिपल्ट १० रुपैयाँ जरिवाना तिर्नुपर्छ । ‘१० रुपैयाँ ठूलो होइन तर सबै साथीका अगाडि जरिवाना तिर्नुपर्दा लाजमर्नु हुन्छ,’ सुशील भन्छन्, ‘यसरी लज्जित हुनुभन्दा दिनहुँ विद्यालय जान्छु।’

अहिले यही डरका कारण उनीसँगै विद्यालयका सबैजसो विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । विद्या कालिकादेवी विद्यालयले चालू शैक्षिक सत्रको सुरुदेखि नै एक दिन विद्यालय नआए १० रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम लागू गरेको हो । सुरुमा यो नियम विद्यालयमा गठित हिलटप बाल क्लबले बनाएको हो । शैक्षिक सुधारका लागि यो नियम उपयोगी देखिएकाले विद्यालयकै तर्फबाट लागू गरिएको प्रधानाध्यापक होमनाथ बास्तोलाले बताए।

‘जरिवानाले विद्यार्थीलाई नियमित विद्यालय आउने बानी पार्न निक्कै सहयोग पुगेको छ,’ उनले भने, ‘विद्यार्थी नियमित आउन थालेपछि पढाइमा पनि सुधार भएको छ ।’ यो नियमलाई थप व्यवस्थित बनाएर लागू गरिने उनको भनाइ छ । उनका अनुसार विद्यार्थीहरूबाट जरिवानास्वरूप संकलन हुने रकमले प्रत्येक साता विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ।

हप्ताभरि उठेको रकमले शैक्षिक सामाग्री किनेर अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको विद्यालयले जनाएको छ । बाल क्लबको अभियानअन्तर्गत हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गरेको छ । विद्यार्थीको बौद्धिक क्षमता विकास गर्न कक्षा सुरु हुनु पहिले गरिने प्रार्थनामा दैनिक फरक–फरक विद्यार्थीले पाँचभन्दा बढी प्रश्न सोधेर अरू सहभागीबाट जवाफ लिने गरिएको छ । यसबाट विद्यार्थीहरूका क्षमता पहिचान हुनुका साथै आपसमा ज्ञान साटासाट हुने गरेको विद्यालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App