१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

अमूर्तमा प्रमिलाका बिम्ब

काठमाडौं - अमूर्त चित्रमा बिम्ब हुने या नहुने विषयमा कलाकारबीच मतभेद हालसम्म कायमै छ। त्यहीकारण कोही बिम्बमा अमूर्तकला कोर्छन् त कोही रंगमात्र प्रयोग गरेर चित्र क्यानभासमा उतार्छन्। कलाकार प्रमिला गिरी पनि यही शैलीलाई पछ्याउँछिन् । उमेरले उकालो चढ्दै गर्दा उनका कलाका भाव पनि उकालिँदै गएको छ। अरु कलाकार रंगलाई कुचीले चलाउँदै गर्दा उनी भने आफ्ना हत्केला र औंलाबाट भाव क्यानभासमा उतार्छिन।

आफ्नो उचाइभन्दा निकै अग्ला मूर्ति र क्यानभासमा खुलेर भाव पोख्न प्रमिला खप्पिस छिन् । हातले तेलरंग क्यानभासमा दलेर चित्र कोर्दा उनी कैयौं रात जागै बसिन् । नेपाल कला परिषदमा जारी ‘जराको खोजी’ शीर्षकको कला प्रदर्शनीमा प्रमिलाका भावयुक्त बिम्बका संयोजन चित्रभरी छताछुल्ल प्रस्तुत भएका छन्।

भैरवको अध्ययन र तिब्बत भ्रमणको मिश्रित भावका चित्र र मूर्तिको संयुक्त स्वरुपले कला प्रदर्शनी झकिझकाउ छ । प्रदर्शनीमा प्रमिलाका कला हेर्न पुग्ने कला पारखीले उनका कला नियाल्दा तारा फैलिएको आकाशमा पुगे झैं महसुस गर्छन् । ‘तिब्बत जाँदा त्यहाँको दृष्य र नबुझिने भाषा भएपनि मानिसप्रति गरिने विश्वास र मायाको प्रतीक चित्रमा उतारेको छु,’ गिरी भन्छिन्, ‘भैरवको अध्ययनलाई जागृत रुपमा मूर्तिसँगै चित्रमा प्रस्तुत गरेकी छु।’

सन् १९९१ मा तिब्बत घुम्दा भेटेको धरातलको असर अहिलेको कला श्रृंखलामा प्रमिलाले प्रस्तुत गरेकी छिन् । केही पुराना र अधिकांश नयाँ चित्र र मूर्तिमा उनले नयाँ अभ्याससमेत गरेकी छिन् । उनले विगतमा बनाएका ठूला मूर्तिहरू भृकुटीमण्डप, सिंहदरबार अघिका क्षेत्रमा अझै हेर्न पाइन्छ । तान्त्रिक विद्याको अध्ययनमा लामो समय बिताएका श्रीधर शमशेर राणाको संगतले उनले भैरवको अर्थ खुट्याउन सकिन् । ‘भैरव भनेको भिषण नाद हो’ राणाले भनेको यही वाणीको अर्थ खोज्न् उनी राजधानीस्थित पशुपतिलगायत विभिन्न मन्दिर तथा धार्मिक क्षेत्र डुलिन् । खासमा महादेवको रक्षकको रुपमा भैरवलाई लिइन्छ । आफूले भेटेका तथ्यलाई उनले मुकुण्डो कलामा पहिले प्रयोग गरिन् । ढलोट पित्तल र तामाको मुकुण्डोमा साक्षात भैरवको भाव भर्न त्यति सहज छैन् । अझ बोक्न र यताउता लैजानसमेत सकस हुँदासमेत उनले कलामा भाव भर्ने अथक प्रयास छाडिनन् । ‘मैनको मूर्तिमा बनेको भावलाई माटो अनि धातुसम्म पगालेर उस्तै कायम राख्नु ठूलै चुनौती हो,’ उनी थप्छिन्, ‘तपस्या गरेजस्तै भावमा खेल्दै चित्र र मूर्ति कोर्ने हो भने असफलता पनि परको कुरा हो ।’ प्रमिला चार दशकदेखि बिम्ब कलामा सक्रिय छिन्।

उनले काम सुरु गर्दाताका एकाध महिला कलाकार आक्कलझुक्कल चित्र कोर्थे । घर व्यवहार र आर्थिक आम्दानीको अभावले कति महिला कलाकार बिचमै हराएको उनले देखेकी छिन् । नेपालमा कला जागरण ल्याउनेमध्येकी एक जिउँदो पुस्ता उनी पनि हुन् । भारतमा चित्रकारिता पढेर फर्केका चन्द्रमान मास्के, शशिविक्रम शाह, गोविन्द डंगोल, विजय थापालगायतका कलाकारले नेपालमै कला पढ्ने वातावरण मिलाउन ठूलै कसरत गरे । फलस्वरुप नेपालमा ललितकला क्याम्पस खुल्यो।

उनले त्यहाँ १८ वर्ष पढाइन् । पछि नर्वेजियन नागरिकसँग विवाह भएपनि उनले नेपालमा चित्र कोर्न छाडिनन् । विदेशमा राम्रा अवसरमा रम्नुको साटो केही चित्र उता बिक्री गरेर नेपालको कला संस्कृतिको भाव चित्रमा सजाउने गर्छिन् । उनले नेपालमा बनाएका अधिकांश चित्र बिक्री गरेकी छैनन् । यहाँको कला संस्कृतिको बिम्बात्मक भाव रहेकाले पनि चित्रको अपनत्वलाई उनले कुनै विदेशीसँग साट्न नखोजेको उल्लेख गरिन् । ‘धेरै पूर्वीय दर्शनका स्रोत र सम्पत्ति विदेश पुगेर उतै उपयोग भैसके’, उनले भनिन्, ‘अब चित्र विदेशीलाई कसरी दिनु ? नयाँ पुस्तालाई हस्तान्तरण गरेर यतै छाड्छु।’

विदेशमा कला र कलाकारको सम्मान देखेकी उनी नेपालमा कम्तीमा कलाको सम्मान गर्ने नीतिको आवश्यकता देख्छिन् । बाहिर जतिसुकै राजनीति गरेपनि कलाको लागि काम गर्ने थलोमा बस्नेले कलाकै काम गरिदिएहुन्थ्यो भन्ने आशा गर्छिन् । सरकारले सरकारी निकाय र सार्वजनिक स्थलमा नेपालको कला संस्कृति झल्कने चित्र र मूर्ति सजाएर प्रवद्र्धन गर्नुपर्ने सुझाउँछिन् । प्रदर्शनीमा ६० वटा चित्र तथा मूर्ति रहेका छन् । दुई सातादेखि जारी प्रदर्शनी अझै पन्ध्रदिन चल्नेछ।

प्रकाशित: ३० कार्तिक २०७५ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App