१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

मोबाइल सेवाको मानक

टेलिफोन हाम्रो दैनिक जीवनको अभिन्न अंग बनेको छ। भनेको बेलामा फोन लाग्ने, सहज कुराकानी हुने र बीचैमा नकाटिने हुनु यसको न्युनतम शर्त हो। यस्तो हुन सकेको छैन। खासगरी मोबाइल फोनका बारेमा सर्वसाधारण उपभोक्ताका गुनासै गुनासा छन्। ती गुनासाको सुनुवाइ कतैबाट भएको छैन। गुनासो गर्न जाने पनि कहाँ? आपसमै गुनासो ग-यो, सकियो । नेपाल दूर सञ्चार प्राधिकरण आफैंले यस विषयमा परीक्षण गरी हेर्दा सर्वसाधारण उपभोक्ताले गरेको यो गुनासो प्रमाणित भएको छ। यो गुनासो गर्नकै निम्ति गरिएको थिएन भन्ने स्पष्ट छ। टेलिफोन सेवा प्रदायकले सेवामा सुधार ल्याउन प्रतिवद्धता जारी गरे पनि यथार्थमा त्यो पूरा भएको छैन। साह्रै जरुरी अवस्थामा रहेका टेलिफोनकर्ताले राम्ररी फोन सम्पर्क हुन नसक्दा पाउने सास्तीको कुनै बयान गर्न सकिन्न। आखिर मोबाइल फोनको सुविधा लिइसकेपछि यसको अधिकतम उपयोग गर्न पाउनु उपभोक्ताको अधिकार पनि हो । नेपाली उपभोक्ताका बीचमा दुई प्रमुख टेलिफोन सेवा नेपाल टेलिकम र एनसेल रहेका छन् । गुणस्तरको मामिलामा भने यी दुबै सेवा उम्दा नरहेको पुष्टी भएको छ । यस स्थितिमा प्रमुख सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तरमा ध्यान दिन ढिला गर्नु हुँदैन।

टेलिफोनको आवाज राम्ररी नसुनिँदाको पीडा ठूलो छ । त्यस्तो बेलामा उपभोक्ताले राम्रो प्रतिक्रिया अवश्य पनि दिँदैनन् । यी मोबाइल सेवा प्रदायकले दिने इन्टरनेट पनि भनेजस्तो छैन।

प्राधिकरणले काठमाडौं उपत्यकाका ३८ स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको मोबाइल सेवा परीक्षण गरेपछि आएको यो परिणाम नौलो भने होइन । वास्तवमा नियामक निकायले यो काम धेरै पहिले गर्नुपर्ने थियो । सर्वसाधारणले रातोदिन सेवाको गुणस्तर कम भएकोमा गुनासो गरेका छन् । यसको दुखद पक्ष त उपभोक्ता ठगीमा पर्नु पनि हो । आफूले तिरेको मोबाइल शुल्कबाट अपेक्षित सेवा प्राप्त हुन नसक्दा तिनलाई असन्तुष्टी हुन्छ। टेलिफोनको आवाज राम्ररी नसुनिँदाको पीडा ठूलो छ । त्यस्तो बेलामा उपभोक्ताले राम्रो प्रतिक्रिया अवश्य पनि दिँदैनन्। यी मोबाइल सेवा प्रदायकले दिने इन्टरनेट पनि भनेजस्तो छैन। सरकारी कम्पनी भएर पनि नेपाल टेलिकमको इन्टरनेट सेवा एनसेलको भन्दा कमजोर रहेको प्रँधिकरणको परीक्षणबाट फेला परेको छ । वास्तवमा सार्वजनिक संस्थान भएकोले पनि नेपाल टेलिकम अरुका निम्ति पनि मानक बन्नु पर्ने हुन्छ। यसको राम्रो सेवाले अन्यलाई पनि त्यस्तै सेवा दिन वाध्य पार्छ। निसन्देह नेपाली सार्वजनिक कम्पनीले सरकारी नियमकानुनको पालना पनि गर्नु पर्ने भएकोले अन्य निजी क्षेत्रका कम्पनीलाई जस्तो सहज नहुन सक्छ । तर, प्रतिस्पर्धामा आफूलाई उतारिसकेपछि पछि हट्न सक्ने अवस्था हुँदैन।

नेपाल टेलिकम धरहरा बनाउने भन्ने अभियानमा पनि लागेको छ। राष्ट्रिय धरोहरको निर्माणमा ऊ लाग्न खोज्नु राम्रै हो। तर, पहिले आफ्नो सेवालाई प्रभावकारी बनाउनतिर लाग्नु आवश्यक छ । आफ्नो सेवा उम्दा पारेपछि अन्य जे काममा लागे पनि हुन्छ। हामीकहाँ आफ्नो काममा कम ध्यान जाने र अन्य काममा हात हाल्ने गरेको देखिन्छ। एक हिसाबले यो हाम्रो राष्ट्रिय रोग नै हो । आफ्नो कामभन्दा अर्काको काममा बढ्ता जानकारी हुने। मोबाइल फोनको विस्तारमा लागे पनि हाम्रो मुलुकमा ल्याण्डलाइन फोनको पनि उत्तिकै महत्व छ। अझ मोबाइल फोनले राम्ररी काम नगरेको अवस्थामा ल्याण्डलाइनको सरण नपरी सुखै छैन। तर, अहिले धेरैजसो घरका टेलिफोन सडक विस्तार र अन्य विविध कारणले सञ्चालनमा छैनन्। उपभोक्ताले भने नियमित महसुस बुझाउँदै आउनु परेको छ। यसरी वर्षौंदेखि बिग्रेर बसेका ल्याण्डलाइनको समेत निर्माण गरी सेवालाई सहज तुल्याउनु पर्ने देखिन्छ। यसले पनि नेपाल टेलिकमलाई नियमित रुपमा आम्दानी दिलाउन मद्दत गर्छ। अतः प्राधिकरणले गरेको यो परीक्षणलाई ध्यानमा राखेर मुलुकमा क्रियाशील सबै टेलिकमहरूले सेवालाई विशिष्टीकृत गरुन्।

प्रकाशित: ३० कार्तिक २०७५ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App