१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यालय साँघुरो हुँदा कर्मचारीलाई काम गर्न गाह्रो

भाडाको घरमा रहेको पाटन नगरपालिका कार्यालय। तस्बिरः बिरा/नागरिक

बैतडी - बैतडीका १० स्थानीय तहमध्ये सातवटाका कार्यालय भाडाका घरमा सञ्चालित छन् । देश संघीय संरचनामा गएर स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष हुन लाग्दा समेत भवन अभावमा सेवा प्रवाहमा समस्या हुने गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ र सिगास गाउँपालिकाबाहेक अरु स्थानीय तहसँग आफ्नो भवन छैन । सिगास र शिवनाथ गाउँपालिकाले यो वर्ष भवन निर्माण गरेका हुन् भने मेलौली र पाटन नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ।

कार्यालय सञ्चालनका लागि भाडामै स्थानीय तहको ठूलो रकम खर्च हुने गरेको छ । जसले विकास निर्माणका गतिविधिमा समेत असर पु-याएको छ । पाटन नगरपालिकाले वार्षिक चार लाख ११ हजार रुपैयाँमा ११ कोठाको घर भाडामा लिएको छ । पुर्चौडी नगरपालिकाले ५ वटा नगरपालिका र तीन घर वडा कार्यालयका लागि भाडामा लिएको छ । घरभाडामै मासिक ५८ हजार रुपैयाँ खर्च हुने नगरपालिकाले जनाएको छ । नगरपालिकालाई अझै भवन अभाव भएको नगरपालिकाका नासु जयबहादुर बोहराले बताए।

स्थानीय तहमा भवनमात्र होइन, विद्युत्, सञ्चारलगायतका समस्या पनि रहेका छन्। भवन अभावमा दोगडाकेदार, डिलासैनी र सुर्नया गाउँपालिकाका कार्यालय विद्यालयको भवनमा राखिएका छन्। भवन नहुँदा श्रीकोट बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाका लेखापाल भानदेव भट्टले बताए।

मेलौली नगरपालिकाको कार्यालय तत्कालीन गाविस भवनमा छ भने तीन कोठा मासिक २४ हजार रुपैयाँ भाडामा लिइएको प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए । यस्तै डिलासैनी गाउँपालिकाले भवन अभावमा गाउँपालिकाको केन्द्र तोकिएको ठाउँभन्दा अन्यत्र विद्यालयको भवनमा सम्पर्क कार्यालय खोलेको छ । गाउँपालिकाको केन्द्र तोकिएको धामीगाउँमा एउटा घर मासिक ८ हजार रुपैयाँ भाडामा लिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिए । भवन अभाव हुँदा स्थानीय तहमाताहत रहेका अन्य कार्यालय एउटै कोठामा राख्नुपर्ने बाध्यता भएको जनप्रतिनिधिको गुुनासो छन् । भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको पनि उनीहरुले बताएका छन् । भवनको अभावमा नगरपालिकाभित्र शाखा नै स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए।

स्थानीय तहमा भवनमात्र होइन, विद्युत्, सञ्चारलगायतका समस्या पनि रहेका छन् । भवन अभावमा दोगडाकेदार, डिलासैनी र सुर्नया गाउँपालिकाका कार्यालय विद्यालयको भवनमा राखिएका छन् । भवन नहुँदा श्रीकोट बहुमुखी क्याम्पसको भवनमा कार्यालय सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाका लेखापाल भानदेव भट्टले बताए । क्याम्पसको भवनमा सम्झौताबिना बस्दै आएको उनले बताए । भवन अभाव तथा अन्य विविध कारणले स्थानीय तहको केन्द्रभन्दा बाहिर रुद्रेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरहेको डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहराले बताए।

धेरै स्थानीय तहसँग भवन निर्माणको लागि जमिन नहुँदा भवन बन्न सकेको छैन । गत वर्षदेखि भवन निर्माणका लागि जमिन खरिद प्रक्रियामा रहेको पुर्चौडी नगरपालिकाले पायक पर्ने ठाउँमा जमिन पाउन नसकेको जनाएको छ । पर्याप्त भौतिक संरचना अभावका कारण स्थानीय तहले समस्या झेल्दै आएका हुन् । गाउँ तथा नगरपालिकाको निजी भवन नहुँदा दैनिक कार्यसम्पादनमा समेत कठिनाइ हुने गरेको छ । स्थानीय सरकार गठन भएको डेढ वर्ष पुग्न लाग्दा समेत जनप्रतिनिधिका लागि भौतिक पूर्वाधार र कर्मचारी अभाव अझै समस्याको विषय बनेको छ।

भाडामा सञ्चालित कार्यालयबाट दैनिक कामकाज सञ्चालन गर्न गाह्रो भइरहेको कर्मचारीको गुनासो छ। ‘एउटै कोठाबाट धेरै काम गर्नुपर्ने बाध्यता छ’, पुर्चौडी नगरपालिकाका लेखा अधिकृत प्रेमराज अवस्थीले भने, ‘जसोतसो काम चलाइरहेका छौं, एउटै कोठाबाट धेरैथरी सेवा दिँदा कार्यसम्पादन प्रभावकारी हुँदैन ।’ पर्याप्त कोठा नहुँदा कर्मचारीलाई दैनिक कामकाज सञ्चालन गर्न हम्मे हुने गरेको छ।

भाडामा सञ्चालन भएका स्थानीय तहले सेवाग्राहीलाई सहजरूपमा सेवा दिन नसकिरहेको गुनासो आउने गरेको छ । साँघुरो र एउटै कोठामा विभिन्न कागजात स्टोर गर्दा समयमै कागजात नभेटिने र होहल्लाजस्ता समस्या देखिएको छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App