१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘मेरा सबै गोप्य कुरा ममीले भन्दिसक्नु भएको छ’

नेपाली चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट अभिनेत्रीका रुपमा चर्चामा आएकी आँचल शर्माले दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । त्यत्तिकै संख्यामा म्युजिक भिडियोमा अभिनय गरेर दर्शकमाझ लोकप्रियता कमाएकी अभिनेत्री आँचल शर्माले ‘नागरिक परिवार’सँग गरेको क्याजुअल कुराकानी : 

तपाईंलाई अभिनेत्री बन्दा कस्तो लागेको छ ? 

मलाई अभिनेत्रीको रुपमा दर्शकहरुले चिनिदिनु भएको छ । यसमा म आफूलाई भाग्यमानी भएको महसुस गरेको छु । 

हिरोइन नबनेको भए ? 

मैले पढाइमा ब्याचलर सकेँ, अब मास्टर्स गर्ने सोचमा छु । सायद सामाजिक कार्यमा लाग्थेँ होला । यो बाहेक अरु के बन्थेँ थाहा छैन । 

अभिनेत्री बनेपछि के कुरा मिस गरे जस्तो लाग्छ ? 

म आफूलाई दर्शकमाझ अभिनेत्रीको रुपमा चिनाउन सफल भएको छु । मैले अभिनेत्री नभएको भए यही मिस गर्थें होला । अरु कुनै कुरा मिस गरेकी छैन । 

तपाईंले जागिर खाँदाको पहिलो तलब कति थियो ? 

मैले काम गरेर पाएको तलब १० हजार थियो । मैले एनटिभी प्लसमा एउटा कार्यक्रम चलाउँथे । त्यसबाट पहिलो पटक तलब थापेको त्यही हो । 

के गर्नुभयो पहिलो तलबले ? 

आफ्नैलागि सरसामान किनेँ । अरु त खै के गरेँ ? बिर्सें । 

जीवनको कुनै त्यस्तो पल तपाई सम्झेर फेरि जीउन चाहनुहुन्छ ? 

फेरि फर्केर जिउनुपर्ने मेरो त्यस्तो कुनै पल छैन । चाहेर पनि म त्यो समय फेरि जीउन पाउँ भन्ने पनि लाग्दैन । अहिले जे छु, यही ठीक लाग्छ  । 

कला क्षेत्रमा के कुरा बढी मन पर्छ ? 

एक पटक पर्दामा आइसकेपछि धेरै दर्शकमाझ चिनिन पाइन्छ । दर्शकहरुको माया पाइन्छ । यो क्षेत्रमा आफूलाई चिनाउन पाउँदा अत्यन्त खुसीको हुन्छु । त्यसैले अभिनय क्षेत्र होस् या मोडलिङ दुवै मन पर्छ । अब डाक्टर वा अन्य पेसामा रहँदा सीमित क्षेत्रका मान्छेले चिन्छन् । कला क्षेत्रले भने आम मान्छेका सामु चिनाउने काम गर्छ । 

के कुरामा तपाईंलाई बढी चित्त दुख्ने गर्छ ? 

मलाई त्यस्तो चित्त दुख्ने भन्ने छैन । साना कुरामा रिसाउने मेरो बानी छ । रिसाए पनि फक्किहाल्छु । अहिलेसम्म कुनै कुराले चित्त दुख्या छ भन्ने भएको छैन । 

तपाईं सुतेको बेला अचानक तपाईंको रुममा भुत आयो भने के गर्नु हुन्छ ? 

हाहाहा... तर्सिन्छु नि ! अरु के गर्नु ? हतार हतार ढोका खोलेर ममी र भाइको ठाउँमा गएर घुस्रिन्थेँ होला कि ? 

के कुराले तपाईंलाई दुःखी बनाउँछ ? 

जे कुराले पनि दुःखी बनाउँछ । काठमाडौँलाई हेर्न हो भने जाममाथि जाम, धुलो–धुँवा, बाहिर निस्किसक्नु हुदैन । जताततै बलात्कारका घटनाको समाचार सुन्नु प-या छ, यस्तो सुन्दा दिक्क लाग्छ । खासमा यस्तै कुसमाचारले मलाई बढी दुःखी बनाउँछ । राज्यले पनि किन कडा कार्बाही नगरेको होला भन्ने लाग्छ ।

तपाईं नेपालको प्रधानमन्त्री हुनुभयो भने पहिलो काम गर्नु के हुन्थ्यो ? 

नेपालको प्रधानमन्त्री हुनेबित्तिकै निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्बाही गर्न गतिलो छानविन समिति गठन गर्थें र चाँडोभन्दा चाँडो कार्बाहीको पहल गर्थें । यस्ता घटना न्यूनीकरणका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्थें । रोजगारी सिर्जना गरेर योग्य व्यक्तिलाई अवसर दिलाउँथेँ ।

केटाहरुले प्रेम प्रस्ताव राखे भने तपाईंलाई कस्तो लाग्छ ? 

मलाई त खुसी  लाग्छ । उहाँहरुले प्रेम प्रस्ताव राख्नु भो भने पहिला त धन्यवाद भन्छु । तपाईंहरुको माया सधैँ पाइरहँु भन्थेँ । 

दर्शकलाई थाहा नभएका तपाईंका सेक्रेट कुरा ? 

त्यस्तो त के होला र ! सबै कुरा ममीले इन्टरभ्युमा भनिसक्नु भएको छ । म घरमा खाना पनि बनाउँछु र भाडा पनि माझ्छु । यो कुरा धेरै दर्शकलाई थाहा छैन कि ! 

तपाईले चाहेर पनि गर्न नसकेको काम के होला ?

त्यस्तो केही छैन । मैले जे चाहेकी छु, त्यो पूरा भएको छ । मेरो यो काम गर्न पर्नेथ्यो पूरा भएन भन्ने भएको छैन । 

तपाईंका कमजोरी ? 

ममा धेरै कमजोरी छन् जस्तो लाग्छ । कसैले केही भन्यो कि रोइहाल्ने बानी छ । अरुलाई विश्वास गरिहाल्ने बानी सायद मेरो कमजोरी हो कि !

तपाईंले आफ्नो शक्ति केलाई ठान्नु हुन्छ ? 

जोसँग नि मिल्न सक्ने । अरुसँग मीठो बोल्ने र कसैसँग झट्ट नरिसाउने बानी नै मेरो शक्ति हो जस्तो लाग्छ  । जो मान्छेले डोमिनेट गर्न खोज्छ, अलि पारा देखाउँछ त्यस्तो कुरा सहेर बस्ने मेरो बानी छैन । त्यसको प्रतिकार गरिहाल्छु । सायद मेरो शक्ति यही हो कि !

टेलिभिजन, म्युजिक भिडियो र चलचित्रमध्ये कुनमा काम गर्न रमाइलो लाग्छ ?

मलाई काम गर्ने मान्छेहरु मिल्ने र मिलनसार हुनुपर्छ । सबैमा रमाइलो लाग्छ । यही भन्ने छैन । जहाँ काम ग-यो त्यही ठीक लाग्छ । कुनै कुनै काम गर्दा मान्छेहरु ठूलो पल्टिने, रिसाउने, फन्किने भए भने कुनै पनि काम गर्न मन लाग्दैन । 

तपाईंलाई घुम्न मन लाग्ने ठाउँ ? 

मलाई कतै घुम्न मन लाग्दैन । काम  नहुँदा घरमा नै बसेर दिन बिताउँछु । घुम्न जाने भन्ने रहर छैन । 

कुन अभिनेतासँग फिल्म खेल्न मन लाग्छ ? 

मलाई अभिनेता भन्दा पनि पहिलो मेरो प्राथमिकतामा स्क्रिप्ट हेर्छु । राम्रो लाग्यो भने जो अभिनेतासँग अभिनय गर्न मलाई प्रब्लम भएन । स्क्रिप्टमा चित्त बुझेन भने जो अभिनेतासँग अभिनय गरे पनि फिल्म चलेन भने ? के मजा भयो र ? हैन त !

आफूलाई मनपर्ने आफ्नै बानी ? 

प्रायः सबै बानी राम्रो लाग्छ । सबै कुरामा ठीक छु जस्तो लाग्छ । आफूले आफैँलाई कसरी दाँज्न सक्छु र ? 

प्रस्तुति : भोला अधिकारी

प्रकाशित: २९ कार्तिक २०७५ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App