१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टेलिकम र एनसेल दुवै अनुत्तीर्ण

काठमाडौं - मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरबारे गुनासो आउन थालेको वर्षौं भयो। मोफसलमा मात्र होइन, राजधानी र प्रमुख सहरमा समेत फोनकल र इन्टरनेटको गुणस्तर सन्तोषजनक नभएको गुनासो उपभोक्ताले बारम्बार गर्दै आएका छन्। सेवाप्रदायकले सुधार गर्ने वाचा पटकपटक गरे पनि अवस्था उस्तै छ।

यसैबीच नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रमुख तीन दूरसञ्चार सेवाप्रदायकको मोबाइल सेवा र इन्टरनेटको गुणस्तरको नमुना परीक्षण गरेको छ । नतिजामा सेवाप्रदायक अनुत्तीर्ण भएका छन् । प्राधिकरणको नतिजामा सेवाप्रदायकले प्राधिकरणले तोकेका अधिकांश मापदण्ड पूरा गर्न नसकेको भेटियो।

प्राधिकरणले टेलिकम, एनसेल र स्मार्ट टेलिकमको कल स्थापित हुने सफलताको दर, कल स्थापित हुन लाग्ने समय, कल आफैं विच्छेद हुने दर र सेवाको स्तर परीक्षण गरेको थियो। परीक्षणमा तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा नगरेको पाइयो, त्यसमा पनि स्मार्ट टेलिकमको गुणस्तर झनै कमजोर भेटिएको छ।

प्राधिकरणले काठमाडौं उपत्यकाका ३८ स्थानमा नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको मोबाइल सेवाको परीक्षण गरेको थियो । असोज ११ देखि २५ गतेसम्म १५ दिनसम्म नेटवर्क धेरै व्यस्त हुने समय साँझ र बिहानको समयमा मोबाइल सेवाको गुणस्तर परीक्षण भएको थियो।

प्राधिकरणले कल स्थापित हुने सफलताको दर, कल स्थापित हुन लाग्ने समय, कल आफैं विच्छेद हुने दर र सेवाको स्तर परीक्षण गरेको थियो । परीक्षणमा तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा नगरेको पाइयो, त्यसमा पनि स्मार्ट टेलिकमको गुणस्तर झनै कमजोर भेटिएको छ।

प्राधिकरणले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कल स्थापित हुने सफलताको दरमा कुनै पनि सेवाप्रदायक न्यूनतम स्तरसम्म पुग्न सकेका छैनन् । प्रतिवेदनअनुसार नेपाल टेलिकमको कल स्थापित हुने सफलताको दर ९८.२६ प्रतिशत र एनसेलको ९७.७७ प्रतिशत छ। स्मार्ट टेलिकमको भने ९२.३९ प्रतिशतमात्र छ । प्राधिकरणले तोकेको न्यूनतम स्तर ९९ प्रतिशत हो।

त्यसैगरी कल स्थापित हुन लाग्ने समयमा पनि तीनवटै सेवाप्रदायकले न्यूनतम मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले न्यूनतम कल स्थापित हुन लाग्ने समय ५ सेकेन्ड वा त्योभन्दा कम हुनुपर्ने तय गरेको छ । परीक्षणमा एनसेलको कल स्थापित हुन लाग्ने समय ८.४८ सेकेन्ड र नेपाल टेलिकमको ११.४८ सेकेन्ड रहेको पाइयो । स्मार्ट टेलिकमको कल स्थापित हुन लाग्ने समय भने १३.७१ सेकेन्ड रहेको प्रतिवेदनमा उल्लेख छ।

आफैं फोनकल विच्छेद हुने दरमा भने तीनवटै कम्पनी पूर्ण सफल भएको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले आफैं फोनकल विच्छेद हुने दर २ प्रतिशत वा त्यसभन्दा कम तोकेको छ तर तीनवटै कम्पनीको कल विच्छेद दर शून्य रहेको छ। प्राधिकरणले कल विच्छेद दर परीक्षणका क्रममा गरिएका हरेक कलको अवधि ६० सेकेन्ड राखेको थियो।

सेवाको स्तर वा कल स्थापित नहुने दरमा नेपाल टेलिकम न्यूनतम मापदण्ड पूरा गर्न सफल भएको छ। नेपाल टेलिकमको कल स्थापित नहुने दर १.७४ प्रतिशत छ । प्राधिकरणका अनुसार कल स्थापित नहुने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्छ । यसमा एनसेलको २.२३ प्रतिशत र स्मार्ट टेलिकमको ७.६१ प्रतिशत रहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।

प्रमुख सेवाप्रदायकको मोबाइल सेवाको गुणस्तर परीक्षण गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘प्राधिकरणमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर मोबाइल सेवाको गुणस्तरको ड्राइभ टेस्ट गरिएको हो,’ अर्यालले भने, ‘यो एक स्याम्पल टेस्ट हो ।’ परीक्षणबाट जस्तो नतिजा आएको छ त्यसका आधारमा सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिइने उनले बताए । ‘पत्राचार गरेर सुधारका लागि निर्देशन दिइनेछ,’ उनले भने, ‘तोकिएको समयमा गुणस्तर सेवा सुधार नभएमा कारबाही गरिनेछ।’

इन्टरनेट गुणस्तरमा स्मार्ट र एनसेल अगाडि
प्राधिकरणले मोबाइल कलसँगै गरेको इन्टरनेट सेवा परीक्षणमा निजी क्षेत्रका दुई कम्पनीको गुणस्तर राम्रो देखिएको छ भने नेपाल टेलिकम कमजोर देखिएको छ । प्राधिकरणले इन्टरनेटका विभिन्न सात सेवाको गुणस्तर परीक्षण गरेको थियो । अधिकांश सेवामा निजी क्षेत्रका दुई कम्पनी अगाडि छन्।

प्राधिकरणले न्यूनतम गुणस्तर तोकेको फाइल डाउनलोड हुने सफलताको दरमा तीनवटै कम्पनी सफल भएका छन्। प्राधिकरणले तोकेको न्यूनतम स्तर ८० प्रतिशत रहेकोमा तीनवटै कम्पनीले उक्त अंक कटाएका छन्।

फाइल अपलोड हुने सफलताको दरमा नेपाल टेलिकम असफल र अन्य दुई कम्पनी सफल देखिएका छन् । प्राधिकरणले तोकेको न्यूनतम स्तर ७५ प्रतिशत रहेकोमा नेपाल टेलिकमले ३९.१३ प्रतिशतमात्र ल्याएको छ भने एनसेलले ९७.५६ प्रतिशत र स्मार्ट टेलिकमले ९८.३९ प्रतिशत ल्याएका छन्।

त्यसैगरी पिंग गर्न (डाटालाई लक्षित स्थानसम्म पुग्न र सोको जानकारी प्रयोगकर्ता समक्ष आइपुग्न) लाग्ने समयको परीक्षणमा पनि सबै कम्पनी सफल भएका छन् । प्राधिकरणले तोकेको न्यूनतम स्तर २५० मिलिसेकेन्ड वो सोभन्दा कम रहेकोमा नेपाल टेलिकमको १४०, एनसेलको १८० र स्मार्ट टेलिकमको १५० मिलिसेकेन्ड रहेको छ।

वेबपेज लोड हुन लाग्ने समयमा नेपाल टेलिकमलाई १६.८९ सेकेन्ड, एनसेललाई ७.३६ सेकेन्ड र स्मार्ट टेलिकमलाई २०.०९ सेकेन्ड लागेको छ । वेबपेज लोड हुने सफलताको दर नेपाल टेलिकमको ९८.८२ प्रतिशत, एनसेलको ९९.१७ प्रतिशत र स्मार्ट टेलिकमको ९८.८५ प्रतिशत रहेको छ । त्यस्तै फाइल डाउनलोड गर्दा नेपाल टेलिकमको औषत डाटा बहाव ७.२५ एमबिपिएस, एनसेलको १२.२२ एमबिपिएस र स्मार्ट टेलिकमको २७.६९ एमबिपिएस रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: २९ कार्तिक २०७५ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App