१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिंहदरबारको पश्चिमी भाग पनि प्रबलीकरण गर्न सकिने

काठमाडौं– भूकम्पका कारण क्षतिग्रस्त बनेको मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चििमी भागको पनि प्रवलीकरण(रेट्रोफिटिङ) गर्न सकिने देखिएको छ। उक्त भवनको उत्तर, पूर्व र दक्षिण भागमा भइरहेको प्रबलीकरण एक वर्षमा सम्पन्न हुने भएको छ।

विसं २०३० असार ३० गते आगलागी हुँदा सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा क्षति पुगेको थियो। तत्कालीन राजा वीरेन्द्रले बम विष्फोट गर्न लगाई पश्चिम भाग बचाइएको थियो। न्यू क्लासिकल ब्रिटिश’ शैलीमा बनेको सिंहदरबारमा चार तला छ। आगलागीअघि सात चोक रहेकामा पुनःनिर्माण हुँदा एउटा चोकमात्र राखिएको थियो। तीन वर्ष अघिको भूकम्पले दरबारका चारै भागमा क्षति पुग्यो। दरबारको उत्तर, पूर्व र दक्षिण गरी तीन भागको प्रबलीकरण सुरु भएको छ महिना पुगेपछि बल्ल पश्चिम भाग पनि प्रबलीकरण गर्न सकिने टुङ्गो लागेको हो।

शर्मा एण्ड न्यु टेक्निकल जेभीले प्रबलीकरण शुुरु गरेको छ महीना पुगेको छ। प्रबलीकरणका लागि गत जेठ २० गते सम्झौता भई केही दिनमै काम शुरु भएको हो। प्रबलीकरण भइरहेको दरबारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकै कार्यालय छ।

भूकम्पअघि राखिएका कार्यालयका सामग्री पनि कोठामा थुनिएकाले काममा समस्या भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) ले जनाएको छ। तीन भागलाई भित्रबाट छड राखी ‘जाकेटिङ’ गरिने आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिए। बाहिरी भागमा मौलिक बुट्टा कुँदिएकाले पहिलेकै अवस्थामा छोडिने जनाइएको छ।

सिंहदरबारको पश्चिम भागलाई पनि प्रबलीकरण गर्न सकिने प्रारम्भिक प्रतिवेदन आए पनि थप के के गर्ने भन्नेबारे अध्ययन जारी रहेको प्राधिकरणले जनाएको छ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भन्ने तीन वर्षसम्म अस्पष्ट थियो। त्यसको अध्ययन गर्न इन्फ्रास्टक्चर इन्जिनियरिङ्ग रिसर्च एण्ड कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिइएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए।

परामर्शदाता कम्पनीले २० दिनभित्र विस्तृत प्रतिवेदन बुझाउने उनले बताए। पश्चिमी भाग बनाउन कति लागत लाग्छ भन्ने विषयमा हाल कम्पनीले अध्ययन जारी राखेको जनाइएको छ। विस्तृत प्रतिवेदन आएपछि प्रबलीकरणका लागि टेण्डर आह्वान लगायत काम सुरु हुने प्राधिकरणले जनाएको छ।  सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो। रासस

प्रकाशित: २८ कार्तिक २०७५ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App