१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कारागारको पर्खालमा अल्झिएको भविष्य

रुकुम- रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका–७, बास्तलाका रवीन खत्री (३) भर्खर विद्यालय जाने उमेरका भए। तर, उनी यति बेला बिना कारण जेलभित्र छन्। जसले गर्दा उनी पढाइबाट बञ्चित त हुनु परेको छ नै सानैदेखि मानसिकरुपमा समेत पीडित हुन परेको छ। निर्दोस बालक आफ्नी आमा सुनिता खत्रीसँगै तीन वर्षदेखि कारागारमा जेल जीवन बिताउन बाध्य छन्।

सासु विष्णु कुमारीको हत्यापछि सुनितालाई २०७२ मा कारागार चलान गरिएको थियो। सासुको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले उनलाई २० वर्ष कैद भुक्तानी गर्न फैसला गरेको थियो। सामान्य विवाद हुँदा सुनिताले आफ्नै सासु (विष्णु कुमारी) लाई एक्कासी हसिया (आँसी) प्रहार गरेर हत्या भएको अदालतको ठहर छ। उतिबेला ८ महिने दूधे बालक रवीनलाई कोखमा च्यापेर उनी कारागार चलान भएकी थिइन्। घरमा छोरालाई बस्ने वातावरण नहुँदा बाध्य भएर अहिलेसम्म आफूसँगै जेलभित्र बसाल्नु परेको सुनिताले बताइन्। ‘घरमा कसैले हेरचाह र स्याहारसुसार गर्दैनन्,’ उनले भनिन्, ‘कारागारभित्र बसाल्न रहर भन्दा बाध्य भएको हुँ।’ छोरा निर्दोष हुँदाहुँदै पनि आमाको दोष कटाइरहेको भन्दै उनले भनिन्, ‘मेरै कारणले अवोध बालकले जेल जीवन बिताउन बाध्य छ।’ उनले थपिन्, ‘कुनै संघसंस्थाले पढाउने र लालनपालनको जिम्मा लिए पठाउँछु।’

कुरा गर्दै जाँदा रवीनले यहाँ (कारागारभित्र) बस्दिन बाहिर निकाल्नुस् भन्दै गहभरि आँसु झारे। उनको कुराले यहाँ रहेका अन्य कैदी बन्दी, थुनुवा र सुरक्षाकर्मीका आँखासमेत रसाए। उनीसँगै यहाँ अन्य दुई बालबालिका पनि थिए। उनीहरूलाई प्रारम्भिक बालविकास केन्द्रले पढाउन काठमाडौं लगेको छ। त्यतिबेला उनको उमेर सानै हुँदा उक्त संस्थाले लिन मानेन। अहिले पढ्न काठमाडौं पुगेका ती बालबालिका आमासँग तिहार मनाउन कारागार आएपछि उनका साथी बनेका छन्। रवीनले उनीहरूसँग काठमाडौं पढ्न जाने तीव्र इच्छा देखाएका छन्। २५ जना क्षमता रहेको कारागारमा १ सय ५ जना कैदी बन्दी तथा थुनुवा छन्। ६० जना कैदी र ४५ जना थुनुवा रहेको जिल्ला कारागारका जेलेर घर्तीले बताए।

बुवाले जन्मदर्ता दिएनन्

उनले पढ्ने खोजे पनि उनीसँग जन्मदर्ता छैन। उनका बुवा बिर्खबहादुरले जन्मदर्ता गराउन नमानेपछि उनले जन्मदर्ता पाएका छैनन्। बिर्खबहादुरले अहिले अर्को विवाहसमेत गरेका छन्। कान्छी श्रीमतीका दबाबमा बिर्खबहादुरले जन्मदर्ता गराउन नमानेको सुनिताले बताइन्। ‘१० वर्षसम्मका बच्चालाई पढाउन सक्ने व्यवस्था छ,’ जिल्ला कारागारका जेलेर लोकबहादुर घर्तीले भने, ‘जन्मदर्ता नहुँदा विद्यालय पठाउन सकिएको छैन।’

कारागारले गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी र वडाध्यक्ष नरबहादुर खत्रीलाई जानकारी गराएको बताइएको छ। करिब सात महिनासम्म कारागारले पहल गर्दा पनि जन्मदर्ता हुन् सकेको छैन। ‘म आँफै जन्मदर्ता गराइदिने थिए,’ सुनिताले भनिन्, ‘तर, म एक्लैले बनाउन नमिल्दो रहेछ।’ बाबुले जन्मदर्ता नगराइदिँदा छोराको भविष्य अन्धकार हुने भयो भन्दै उनले भनिन्, ‘यसका लागि सबै पक्षबाट सहयोग हुन् आवश्यक छ।’

प्रकाशित: २८ कार्तिक २०७५ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App