१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगरमा ‘स्मार्ट’ तरकारी बजार

विराटनगरको गुद्री बजार व्यवस्थित पार्ने उद्देश्यले कटहरी–१ मा निर्माण गरिएको आधुनिक तरकारी तथा फलफूल बजार । तस्बिर : चुमन बस्नेत/नागरिक

विराटनगर – विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’  बनाउने उद्देश्यले मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार निर्माण अन्तिम चरणमा पुगेको  छ । तरकारी बजारको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्ट पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।

आधुनिक तरकारी बजारको संरचना निर्माणको काम लगभग सम्पन्न भइसकेकाले कात्तिक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी समेत गरिएको प्याक्ट पूर्वाञ्चलका  प्रमुख भानु मैनालीले जानकारी दिए । ‘केहि प्राविधिक काम बाहेक संरचना निर्माणको काम लगभग सकिन लागेकाले तरकारी बजारको उद्घाटन कात्तिक महिनाभित्रै गर्ने तयारी गरिएको छ,’ मैनालीले भने। 

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पनि पाउने व्यवस्था गरिएको छ । तरकारी बजारमा बैंकिङ सेवा, खानेपानी, विद्युत्लगायत सबै किसिमका सुविधाहरू उपलब्ध छन् । तरकारी बजारमा होलसेल र खुद्रा तरकारी बिक्रीका छुट्टाछुट्टै स्थान निर्माण गरिएको छ । बजारमा एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल हुनेछन्।

त्यस्तै तीन सय ५१ स्क्वायर मिटरमा रिटेल बजार निर्माण गरिएको छ । अत्याधुनिक  तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बिचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएको प्याक्टले जनाएको छ । किसानका लागि एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ । बजारलाई सफा र सुन्दर राखिराख्न फोहोर व्यवस्थापनको पक्षलाई पनि विचार पुर्याइएको छ।

तरकारी तथा फलफूल बजारको फोहोर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ । बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युवेल, बत्तीका लागि जेनेरेटर, सोलारको व्यवस्था  गरिएको छ ।  बजार निगरानीका लागि सिसी क्यामेरा समेत जडान गरिएको छ । बजारमा अन्डर ग्राउन्ड फायर फारिङको व्यवस्था पनि गरिएको छ । बजारको क्षमता  दैनिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र आठ हजार सात सय तीन मेट्रिक टन फलफूल बिक्री गर्न सकिने  छ।

तरकारी तथा फलफूल किनबेचका लागि सहज बनाउन बजारमा छानसहितका भवनहरूको व्यवस्था पनि गरिएको छ । बजार परिसरमा पार्किङका लागि पर्याप्त खाली ठाउँको व्यवास्था गरिएको छ । तरकारी ढुवानीमा संलग्न सवारीसाधनका चालकलाई बास बस्नका लागि भवनको व्यवस्था पनि तरकारी बजार भित्रै गरिएको छ । यस्तै बजार भित्रै क्यान्टिनको व्यवस्था पनि गरिएको छ । सुरक्षा गार्डका लागि र तरकारी बजारका व्यवस्थापकका लागि आवासका लागि भवनको व्यवस्था पनि गरिएको छ । तरकारी बजार सञ्चालन समितका पदाधिकारीको कार्यकक्षका लागि प्रशासनिक भवन पनि निर्माण गरिएको छ।

किसानलाई आरामका लागि आराम कक्ष बजार परिसरमा निर्माण गरिएको छ । यता बजारको भौतिक पूर्वाधार निर्माणको काम गरिरहेको निर्माण कम्पनी भूमि कन्स्ट्रक्सनले भने बजारको पूर्वाधार निर्माणको काम सकिएको दाबी गरेको छ । तरकारी बजारको सरसफाइको कामबाहेक अन्य सबै काम सम्पन्न भइसकेको कन्स्ट्रक्सनका सञ्चालक कृष्ण बोहोराले बताए । उनले भने, ‘सरसफाइ र केहि टुक्रे काम बाहेक सबै काम सकिएका कारण संरचना हस्तान्तरणका लागि निर्माण कम्पनी तत्पर छ ।’ उनका अनुसार बजार  १७ करोड रुपैया“ लागतमा निर्माण भएको हो।

गुद्री स्थानान्तरण हुने  
कटहरीमा निर्माणाधीन तरकारी बजार सञ्चालनमा आएलगत्तै विराटनगरस्थित गुद्री तरकारी तथा फलफूल बजार स्थानान्तरण हुने भएको छ । विराटनगरको एक मात्रै थोक बजार  गुद्री साँघुरो र अव्यवस्थित रुपमा हाल सञ्चालनमा छ । सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै  फोहोरमैला, भीड र जामको समस्या व्याप्त छ।

गुद्रीका कारण सहर अस्तव्यस्त भएकाले निर्माणाधीन बजार सञ्चालनमा आएलगत्तै गुद्री स्थानान्तरण गरिने विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीले बताइन् । उनले भनिन्, ‘गुद्री सार्ने, सहर सफा र व्यवस्थित पार्ने उद्देश्यले नै कटहरीमा आधुनिक बजार निर्माण गरिएको हो ।’ कार्कीका अनुसार कटहरीस्थित आधुनिक तरकारी बजार गुद्री बजारलाई स्थानान्तरण गर्ने उद्देश्यले महानगरपालिका र कटहरी गाउ“पालिकाको संयुक्त पहलमा स्थानिय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ बिघा जग्गा भाडामा लिएर निर्माण थालिएको थियो । विराटनगरको गुद्री बजारबाट प्रदेश १ का विभिन्न जिल्लामा तरकारी तथा फलफूलको आपूर्ति हुँदै आएको छ।

प्रकाशित: २८ कार्तिक २०७५ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App