१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आजदेखि मध्यभोटेकोसीको सीमित आइपिओ

काठमाडौं – मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका एक करोड ४४ लाख कित्ता साधारण सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो।

कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड रहेको छ । जारी पुँजी ६ अर्ब छ । कम्पनीको सेयरमा यही कात्तिक २८ गते बुधबारदेखि आगामी मंसिर १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

यस्तै, संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी मंसिर १८ गतेदेखि २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

कम्पनीको सेयरमा सञ्चयकर्ताले न्यूनतम ५० र अधिकतम ५ सय कित्तासम्म आवेदन दिन पाउनेछन् भने कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार २ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीको जारी पुँजीको ५१ प्रतिशत सेयर स्वामित्वमा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनीलगायत छन्।

कम्पनीमा प्राधिकरणको १० प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावर लिमिटेडको समान एक–एक प्रतिशत सेयर स्वामित्व छ।

यस्तै ४९ प्रतिशत सर्वसाधारण सेयरधनी समूहमा कोषका सञ्चयकर्ताको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत, सिन्धुपाल्चोक जिल्लाबासीको १० प्रतिशत र आम सर्वसाधारणको १५ प्रतिशत सेयर रहने गरी छुट्याइएको छ । कम्पनीको सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिल रहेको छ।

सह–बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन्।  (रासस)

प्रकाशित: २८ कार्तिक २०७५ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App