१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सतप्रतिशत नतिजा ल्याउने खाेटाङकाे नमुना विद्यालय

तस्बिरः ज्योति माविका विद्यार्थी र बन्दै गरेको विद्यालय भवन । तस्बिरः दमन/नागरिक

खोटाङ – एसएलसी–एसइई परीक्षामा कतिपय माविको नतिजा शून्यु भएको उदाहरण कैयौं छन् । तर, खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविले हालसम्म एसएलसी–एसइई परीक्षामा सतप्रतिशतु विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ।

जिल्लाका सामुदायिक विद्यालयमध्ये पहिलोपल्ट अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेर नमूना विद्यालयको परिचय बनाएको उक्त विद्यालयले मावि तह सञ्चालनको अनुमति पाएयता एसएलसी–एसइईमा ‘सतप्रतिशत’ नतिजा निकाल्दै आएको हो।

वि.सं. २०७१ मा मावि तह पठन–पाठनका लागि अनुमति पाएको ज्योति माविबाट एसएलसी–एसइई परीक्षामा सहभागी एक जना विद्यार्थी पनि फेल नभएको विद्यालयका प्रधानाध्यापक टीका श्रेष्ठले जानकारी दिए । मावि तह पढाइको अनुमति पाउनुअघि छिमेकी विद्यालय जालपा माविबाट एसएलसीमा सहभागी दुई ‘व्याच’ का विद्यार्थीले पनि सतप्रतिशत नतिजा ल्याएको ज्योति माविले जनाएको छ।

यसरी एसएलसी÷एसइईमा सतप्रतिशत विद्यार्थी पास गराउँदै आएबापत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले प्रथम नगर दिवसका अवस गते ज्योति माविलाई ५० हजार रुपैयाँको वर्ष उत्कृष्ट सामुदायिक विद्यालय पुरस्कार प्रदान गरिसकेको छ । पन्ध्रवटा वडा रहेका नगरभित्रका सामुदायिक विद्यालयमध्ये एसइईमा उत्कृष्ट नतिजा ल्याउने माविलाई प्रदान गरिने पहिलो पुरस्कार ज्योति माविले नै हात पारेको हो।

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२, जालपास्थित ज्योति माविबाट एसएलसी÷एसइई परीक्षामा सहभागी विद्यार्थीमध्ये अहिलेसम्म एक जना पनि फेल भएका छैनन्।

विद्यालयलाई नमूना बनाउन शिक्षक–अभिभावकले ज्योति माविमा २०६४ सालदेखि अंग्रेजी माध्यम लागू गरेका हुन्।अंग्रेजी पढाइ खोज्दै अभिभावक एवं विद्यार्थी गाउँ बाहिर जाने गरेकाले त्यसलाई रोक्न अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान राईले बताए।

वि. सं. २०४४ मा स्थापना गरिएको ज्योति माविमा अहिले २ सय ७५ विद्यार्थी पढ्छन् । शैक्षिक गुणस्तर बढाउन विद्यालयका शिक्षकहरू पनि उत्तिकै लगनशीलताका लागेका छन् । हरेक कक्षामा अंग्रेजी माध्यमबाट पढाउने व्यवस्था गरिएको छ । हरेक शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग ज्योति माविको पहिलो सर्त हो । पठन–पाठनलाई प्रभावकारी बनाउन कक्षागत शिक्षक अभिभावक संघसमेत क्रियाशील छ । संघको बैठकमा शिक्षक र अभिभावकबीच विद्यालयको पठन–पाठनलाई प्रभावकारी बनाउने उपाय र विधिका विषयमा छलफल हुने गरेको छ।

शिक्षक, विद्यार्थी र अभिभावकको टिम स्पिरिटको परिणाम हो ज्योति माविको सफलता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राई भन्छन्, विद्यार्थी फेल भए हाम्रो बेइज्जत हुन्छ भन्ने मान्यताका साथमा सरहरू मेहनत गर्नुहुन्छ । अभिभावक पनि विद्यालयप्रति उत्तरदायी छन्।

एसएइई तयारीका लागि विद्यार्थीलाई कक्षा ९ देखि नै छात्रावासमा राखेर पढाउने गरिएको छ । अंग्रेजी माध्यमबाट पठन–पाठन हुने भएकाले विद्यार्थीलाई बढी मेहनत गर्न लगाउने गरिएको छ।

विद्यालयमा सैद्धान्तिकभन्दा प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिने गरिएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताए । केही गरौं भनेर विद्यालयमा थोरै प्रयास गरेका हौं, श्रेष्ठले भने, प्रयासअनुसार सफल पनि भइरहेका छौं।

विद्यार्थीलाई दैनिक गृहकार्य नदिए अभिभावकले शिक्षकलाई किन नदिएको भनेर सोध्ने गरेका छन् । विद्यालयमा विवाद र झगडा नहोस् भनेर विद्यार्थीबीच आपसमा तपार्इं सम्बोधन गर्ने परम्परा बसाइएको छ । दिउँसो विद्यालय छाड्ने विद्यार्थीका लागि दिवा खाजा अनिवार्य गरिएको छ । अभिभावकविहीन आठ विद्यार्थीलाई खाने–बस्ने व्यवस्थासहित पढ्ने व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ । बुधबारका दिन छात्रले दौरा–सुरुवाल तथा छात्राले चोलो–सारी लगाउनुपर्ने नियम राखिएको छ । अन्य बार भने नीलो सर्ट, गाढा नीलो पाइन्ट, टाई लगाउनुपर्छ।

आगलागीकाे कारण रहस्यमै

रातिको समयमा भएको आगोले विद्यालयको प्रशासन कक्षमा रहेका१० थान दराज, टेबल, कुर्सी, विद्यालयसँग सम्बन्धित कागजात, शैक्षिक सामग्री लगायत नष्ट भएको थियो । पुस्तकालयमा राखिएका पाँचवटा र्याक, दर्ता गरेर राखिएका सात हजार थान पुस्तक, ल्याबका सामान, माइक्रोस्कोप, टेलिस्कोप, हार्मोनियम लगायतका सामग्री खरानी भएको व्यवस्थापन समिति अध्यक्ष प्रतिमान राईले बताए । जस्ताको छाना भएको कक्षा कोठाभित्रको डेस्कबेञ्च समेत खरानी हुँदा केही समय पठन–पाठन समेत बन्द भएको थियो।

लामो समय बित्दा पनि विद्यालयमा भएको आगलागीको कारण खुल्न सकेको छैन । आगोलागीको प्रकृति हेर्दा मट्टितेल वा पेट्रोल छर्किएर विद्यालयमा आगो लगाइदिएको जस्तो देखिएको स्थानीय अभिावकले बताएका छन् । विद्यालयको चारैतिरबाट एकैचोटि आगो सुरु भएका कारण नियोजित रूपमा कसैले आगो लगाइएको अनुमान गरिँदै आएको छ।

प्रकाशित: २८ कार्तिक २०७५ ०३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App