१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सबै क्षेत्रका एकाधिकार हटाउन लागीपरेका छौं : गृहमन्त्री थापा

बेनी – गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताएका छन्। 

म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडौं सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको आज  सुभारम्भ गर्दै गृहमन्त्री थापाले मुलुकको समृद्धि र नागरिकको आयआर्जनमा सुधार ल्याउन सरकारले यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायत क्षेत्रमा रहेको एकाधिकारलाई समेत अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे। 

‘मुठीभरका व्यक्तिले मात्रै हरेक क्षेत्र ओगटेका छन्, सिमिति मान्छे धनी छन्, मुलुक र आमनागरिक गरिबीमै बस्नुपर्ने बाध्यता छ, सबैलाई समान अवसर सिर्जना गर्नको लागि एकाधिकार तोड्न जरुरी छ’, मन्त्री थापाले भने। 

यातयातको क्षेत्रमा वर्षौदेखि रहेको एकाधिकारले यात्रुहरुलाई बाधा पु-याएकाले कानूनी रुपमै त्यसलाई हटाउने निर्णय लिएको मन्त्री थापाले बताए। उनले यातायात क्षेत्रमा कानूनी रुपमा एकाधिकार हटे पनि व्यावहारिक रुपमा अझै पूर्ण रुपमा कार्यान्वनयमा आउन बाँकी रहेको उल्लेख गरे। 

भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन कार्यदल बनाएर आवश्यक काम गरिरहेको बताउँदै उनले यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र आरामदायी बनाउन यातयात व्यवसायी प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले यातयात क्षेत्रमा हटाइएको एकाधिकारलाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन यातायातसम्बन्धी ऐन र व्यवस्थालाई नै परिवर्तन गर्न आवश्यक रहेको बताए। प्रालिका अध्यक्ष सुरत केसीले काठमाडौं र पोखरा लगायतका क्षेत्रमा अझै पनि एकाधिकार हट्न नसकेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। रासस

प्रकाशित: २७ कार्तिक २०७५ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App