१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धावनमार्गमा यतीको जहाज चिप्लियो

भैरहवा- यती एयरलाइन्सको विमान शनिबार भैरहवा विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको छ। विमानमा रहेका सबै सकुशल छन्। काठमाडौंबाट भैरहवाका लागि उडेको '९एन–एआइबी' कलसाइनको जहाज साँझ करिब पाँच बजेतिर गौतमबुद्ध विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर घाँसे मैदानमा पुगेको थियो।

विमानमा २९ यात्रु र चालक दलका तीन सदस्य थिए। यात्रु र चालकदलका सबै सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले बताए। जहाजमा रहेका बृद्धबृद्धामा आत्तिएर सामान्य स्वास्थ्य समस्या देखिएको भए पनि उपचारका लागि अस्पताल नै लैजानुपर्ने गरी कोही पनि घाइते नभएको डिएसपी पाण्डेले बताए।

विमान घाँसे मैदानमा धसिएको छ। विमानको पांग्रा र तल्लो भागमा सामान्य क्षति भएको बताइए पनि सम्पूर्ण विवरण आउन बाँकी रहेको विमानस्थलको सूचना शाखाले जनाएको छ। विमान दुर्घटना के कति कारणले भयो भन्नेमा पनि सूचना शाखाले केही जनाएको छैन।

अवतरणका क्रममा चिप्लिएको विमान झन्डै १५० मिटर पर घाँसे मैदानमा पुगेको थियो। विमान चिप्लिएपछि यात्रुुबीच रुवाबासी चलेको थियो। घटनालगत्तै सुरक्षाकर्मीको सक्रियतामा यात्रुको सकुशल उद्धार गरिएको थियो।

दुर्घटनापछि उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको दुई सदस्यीय टोली स्थलगत निरीक्षण गर्न भैरहवा आएको छ। जहाजको बायाँ प्रोपेलर (पंखा) र 'ल्यान्डिङ गियर'मा क्षति पुगेको छ। जहाज उड्न सक्ने अवस्थामा नरहेका कारण 'ग्राउन्डेड' गरिएको छ।

'आवश्यक मर्मतपछि जहाजलाई नियमित तालिकाअनुसार उडाएर काठमाडौं ल्याउँछौं,' यतीका बजार प्रबन्धक भीमराज राईले भने, 'मर्मत पूरा हुन केही दिन लाग्नेछ।'   

प्रकाशित: ९ आश्विन २०७३ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App