१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीनै राप्रपा एक भएर देशलाई हिन्दू राष्ट्र बनाउँछौं : राणा

काठमाडौं– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन्। 

सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४/५ दिनको समय माग्दा थापाले नमानेको दाबी गरे।

एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको राणाको आरोप छ।

राणाले कमल थापाको तातै खाउँ जल्दै मरौँ प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए। 

तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए। एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए। 

क्मल थापाले पार्टीको नाम, चुनाव चिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा असर परेको राणाको भनाई छ। ‘तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ। नाम, झण्डा र चुनाव चिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिँदैन। गाईलाई चुनाव चिन्ह मान्न म सक्दिन’, राणाले भने।

एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा पनि फर्मुला तयार भइसकेको भन्दै राणाले उक्त फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए। धर्मनिरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए। तीनवटै राप्रपा हिन्दू राष्ट्रको पक्षमा रहेको राणाले जानकारी दिए। 

‘नेपाललाई जसरी भए पनि हिन्दू राष्ट्र बनाएरै छाड्छौं। हिन्दू राष्ट्रमा त नेपाल जानैपर्छ। यो नै हाम्रो पहिचान हो। जसरी पनि हिन्दू राष्ट्र बनाइन्छ’, राणाले भने।

प्रकाशित: २७ कार्तिक २०७५ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App