१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्याउरेभूमिको मासिक आम्दानी ७० हजार

आयोजनामा काम गर्दै स्याउरेभूमि लघु जलविद्युत् आयोजनाका अध्यक्ष अध्यक्ष सुदर्शन बुढाथोकी । तस्बिर : नागरिक

नुवाकोट – ग्रामीण भेगको टुकी बत्तीलाई विस्थापित गर्न नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा स्थापना भएको स्याउरेभूमि लघु जलविद्युत् आयोजनाले मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेको छ । २०५६ देखि स्थानीयलाई उज्यालो दिँदै आएको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले खरिद गरेसँगै राम्रो आम्दानी हुन थालेको हो।

बाह्रै महिना २३ किलोवाट क्षमताको विद्युत् उत्पादन गर्दै आएको आयोजनाले प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग सहकार्य गर्ने अवसर जुटेसँगै लगानीको राम्रो प्रतिफल हात पर्न थालेको आयोजनाका अध्यक्ष सुदर्शन बुढाथोकीले बताए । ‘गाउँ टुकीको भरमा अघि बढ्दै थियो । त्यहिँ गाउँमा रहेको खोलाको पानी प्रयोगविहीन भएर बग्दै थियो । पानीको सदुपयोग गर्न सके टुकीलाई विस्थापित गर्न सकिन्छ भनेर स्थानीयको साझेदारीमा नै स्याउरेभूमि लघु जलविद्युत् आयोजना सुरु गरेका हौं,’ बुढाथोकीले भने, ‘आयोजनाले  स्थानीयलाई सेवा दिइरहेको थियो । २०७० मा नेपाल विद्युत् प्राधिकरणको पहुँच गाउँमा पुग्यो । लघु जलविद्युत् आयोजनामा उनीहरुको आकर्षण घट्यो र आयोजना बन्द हुने स्थितिमा पुग्यो।’

बैंकबाट ऋण लिएर सुचारु गरिएको आयोजना घाटामा जाँदा पनि सञ्चालकले हार नखाई अघि बढ्दा उत्पादित विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसम्म पुर्याएर लाभ लिइरहेका छन् । २३ किलोवाट विद्युत् उत्पादन गर्ने क्षमताको आयोजना भए पनि २७ किलोवाटसम्म विद्युत् उत्पादन हुँदै आइरहेको बुढाथोकीले बताए । एक सय किलोवाटसम्म विद्युत् उत्पादन गर्दै आइरहेको आयोजनालाई मात्र प्राधिकरणले लिने नीति भए पनि २०७१ साउन ४ मा प्राधिकरणको बोर्ड बैठकले २० किलोवाटभन्दा माथि विद्युुुत् उत्पादन गर्ने आयोजनालाई किन्ने कार्यविधि बनाएसँगै स्याउरेभूमि लघु जलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सहज भएको हो।

प्राधिकरणले २०७२ फागुन १६ गते स्याउरेभूमिको उत्पादित विद्युत् खरिद गर्न सम्झौता भएसँगै हिउँद महिनामा उत्पादित विद्युत्को प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षातको समयमा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ । भूकम्पले आयोजनामा क्षति पुर्याए पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्र संघ विकास कार्यक्रमसँगको समन्वयमा ३५ लाख रुपैयाँ अनुदान उपलव्ध गराएपछि सञ्चालक झनै हौसिएका छन् । हाल स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न खोजिरहेको अध्यक्ष बुढाथोकीले बताए।

प्रकाशित: २७ कार्तिक २०७५ ०५:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App