१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१६ वर्षको उमेरमा ६ भाइबहिनीको अभिभावक

आमाबुवा गुमेपछि बिचल्लीमा परेका बालबच्चा । तस्बिर : नागरिक

खोटाङ – एकातिर लेखपढ गर्ने र आफ्नो ‘करिअर’ बनाउने चुनौती, अर्कातिर चार बहिनी र दुई भाइको अभिभावकत्व वहन गर्नुपर्ने दायित्व । बाबुआमाकै मृत्यु भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङकी १६ वर्षीया बुङाटुङ (सुइमा) चामलिङको कलिलो काँधमा यस्तो चुनौती र दायित्व एकैसाथ आइलागेको हो । २०७३ भदौ १९ गते आमा तलकुमारी र २०७५ साउन १८ गते बुवा चन्द्र किरातको मृत्यु भएपछि कलिली बुङाटुङ अहिले ६ भाइबहिनीको अभिभावक बन्न बाध्य भएकी हुन्।

अनिच्छुक गर्भपतन गराउन जिल्ला अस्पताल पुगेका बेला स्वास्थ्यकर्मीले गरेको त्रुटिका कारण उनको आमाको मृत्यु भएको थियो । बाबु चन्द्रको पनि करेन्ट लागेर मृत्यु भएपछि बुङाटुङ नै बुवाआमा दुवै बन्नुपर्ने अवस्था आएको हो । उनका भाइबहिनी ४ वर्षदेखि १४ वर्ष उमेरका छन्।

टुहुरी बुङाटुङले नै अहिले चार बहिनी र दुई भाइको लालनपालनसहित घर–व्यवहार चलाउँदै आएकी छन् । उनी बुलापन्थे मावि धितुङमा कक्षा १२ मा पढ्छिन् । आमाबुवा नहुँदा घर–व्यवहार धान्न गाह्रो भइरहेको बुङाटुङले बताइन् । उनले भनिन्, ‘मलाई भाइबहिनी हेरचाह गर्न र घर–व्यवहार चलाउन एकदमै मुस्किल भइरहेको छ ।’ उनीहरूको अभिभावक नहुँदा बुङाटुङसहित सात बालबच्चको विचल्ली भएको छ।

बुङाटुङका १४ वर्षीया माइली बहिनी रिमाबुङ कक्षा १०, १२ वर्षीया साइँली बहिनी माहुरबुङ कक्षा ८, १० वर्षीया काइँली बहिनी इलाबुङ कक्षा–६ मा र ६ वर्षीया कान्छी बहिनी नियाबुङ कक्षा–१ मा पढ्छिन् । यस्तै ८ वर्षीय जेठो भाइ नाम्साङहाङ कक्षा–४ र ४ वर्षीय कान्छो भाइ तिप्सुहाङ कक्षा–१ पढ्छन् । माइली, साइँली, काइँली बहिनी र जेठो भाइ बुलापन्थे माविमा पढ्छन् । कान्छी बहिनी र कान्छा भाइ चाहिँ पारुहाङ शरण प्राविमा पढ्छन्।

आर्थिक अवस्था कमजोर भएका कारण पनि यी टुहुरा बालबालिकाको जीवनयापनमा ठूलो समस्या भइरहेको आफन्तले बताए । करेन्ट लाग्दा ज्यान गुमाएका उनीहरूका बुुवा चन्द्र जिल्लामा चामलिङ भाषा–संस्कृतिका जानकार मानिन्थे । उनी वडाको राजनीतिमा पनि सक्रिय थिए।

टुहुरा–टुहुरीलाई जुट्दै सहयोग

बुवाआको मृत्यु भएपछि बिचल्लीमा परेका यी सात बालबालिकालाई प्रवासमा रहेका शुभेच्छुकहरूबाट आर्थिक सहयोग प्राप्त भएको छ । मलेसिया र साउदी अरबबाट उनीहरूका लागि २ लाख ३ हजार २७७ रुपैयाँ प्राप्त भएको हो ।
धितुङ घर भई हाल मलेसिया रहेका तयनसिंह राई र भगसेर राईको पहलमा संकलन भएको १ लाख ५१ हजार ७४० रुपैयाँ र साउदी अरबमा रहेका रविध्वज राईको पहलमा संकलन भएको ५१ हजार ५३५ रुपैयाँ हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बुङाटुङ चामलिङलाई हस्तान्तरण गरेकी हुन्।

उपमेयर राईले पनि केही समयअघि आफ्नो पारिश्रमिकबाट २० हजार १ सय २० रुपैयाँ प्रदान गरिसकेकी छन् । यस्तै, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले पनि आफ्नो पारिश्रमिकबाट २० हजार रुपैयाँ सहयोग गरिसकेकी छन् । उनले सात बालबालिकामध्ये एक जनाको अभिभावकत्व ग्रहण गर्ने घोषणासमेत गरिसकेकी छन् । अनाथ बनेका यी बालबच्चाको सहयोगका लागि खडेन्द्र राईको संयोजकत्वमा गठित सहयोग समितिले पनि सहयोग जुटाउन अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित: २७ कार्तिक २०७५ ०४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App